लुम्बिनीकी कार्यवाहक नगर प्रमुख हरिजनले सार्वजनिक जग्गामा बनेको आफ्नै घर भत्काइन्

‘पहिले आफू हटाऊँ, त्यसपछि अरूलाई भनौंला भनेर आफैंबाट यो कामको सुरुवात गरेकी हुँ,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले भनिन् ।

जेष्ठ ६, २०८३

मनोज पौडेल

Lumbini's acting mayor Harijan demolishes her own house built on public land

What you should know

लुम्बिनी — लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले सार्वजनिक पोखरी अतिक्रमण गरी बनाएको आफ्नै घर भत्काएर सरकारी जग्गा संरक्षण गर्ने अभियानको सुरुवात गरेकी छिन् । उनले लुम्बिनी–१, खुनगाईमा रहेको सार्वजनिक जग्गामा बनेको सगोलको आफ्नै घर भत्काएकी हुन् । 

वर्तमान सरकारले स्थानीयले अतिक्रमण गरेर कब्जा गरेको सार्वजनिक सडक, ताल, पोखरी, नहर र कुलो लगायतका सरकारी जग्गा संरक्षण गर्ने अभियान चलाएपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि सूचना प्रकाशित गरी अतिक्रमित जग्गा संरक्षणमा लागेको थियो । तर, नगरपालिकाका सुरक्षाकर्मी र कर्मचारी अतिक्रमण हटाउन जाँदा कार्यवाहक नगर प्रमुख हरिजनप्रति सबैले औंला ठड्याए । कतिपयले अक्रिमण हटाउन मानेनन् । आफूप्रति नै प्रश्न उठेपछि ससुरा रामलखन र जेठाजु अरबिन्द हरिजनसहित सगोलमा बस्दै आएकी उनले घरपछाडि पोखरी अतिक्रमण गरी २०७७ मा बनाएको १४ फुट वाइ ९ फुट लम्बाइ–चौडाइको पक्की संरचना भत्काउन लगाएकी हुन् । 

नगरपालिकाको जेसीबीसहित पुगेका नगर प्रहरी र कर्मचारीले मंगलबार अतिक्रमण हटाएका हुन् । ‘पहिले आफू हटाऊँ, त्यसपछि अरूलाई भनौंला भनेर आफैंबाट यो कामको सुरुवात गरेकी हुँ,’ कार्यवाहक नगर प्रमुख हरिजनले भनिन् । 

नगरपालिकाको अभियानमा परिवारले पनि सहयोग गर्दा खुसी लागेको उनले सुनाइन् । ‘अब सबैले पाठ सिक्दै अतिक्रमण हटाउन अग्रसरता लिनुपर्यो । अन्यथा बल प्रयोग गरेर भए पनि सरकारी जग्गा अतिक्रमण हटाउन पछि पर्दिनँ,’ उनले भनिन् । सगोलमा बस्दै आएकी उनले हटाइएको घर पक्की भए पनि विवादका कारण छानो भने टिनको लगाएकी थिइन् । त्यसलाई किचन, स्टोर र पूजा कोठाका रूपमा प्रयोग गर्दै आएका थिए ।

हरिजनका ससुरा र जेठाजूसँगसँगै उक्त पोखरीको जग्गा १०/१२ जनाले अतिक्रमण गरेकामा ५/६ जनाले छाडेका छन् । बाँकीले छाड्न समय मागेका छन् । वडा नं. १ मा मात्र १९ वटा सरकारी पोखरी छन् । जुन केही अतिक्रमणमा परेका छन् ।

पहिलो चरणमा घरजग्गा भएका र हुने खानेले कब्जा गरेको सरकारी जग्गा खाली गराएर संरक्षणमा लागेको लुम्बिनी नगरपालिकाकी कार्यवाहक अध्यक्ष हरिजनले बताइन् । नगरपालिकाले गरिब, विपन्न, वास्तविक सुकुम्बासी र अव्यवस्थित बासोबासी छुट्याएको छ । ‘समस्यामा रहेकालाई तत्काल केही गर्दैनौं,’ उनले भनिन्, ‘तर, पछि सरकारको नीति, योजनाअनुसार सबै किसिमका अतिक्रमण हटाउँछौं ।’

तीन वर्षदेखि नै यस्ता अतिक्रमणकारीलाई हटाउन पटक–पटक सूचना निकालेको नगरपालिकाका सूचना अधिकारी रामचन्द्र अर्यालले बताए । ‘यसपटक भने एकमहिने सूचना निकालेर एक्सनमा गयौं । देशव्यापी अभियान चल्दा सजिलो भएको छ,’ उनले भने ।

कार्यवाहक नगर प्रमुख हरिजनले अग्रसरता लिएर आफ्नो घर हटाउँदा निकै सकारात्मक सन्देश गएको स्थानीयले बताए । यसले धेरै अतिक्रमकारी आफैं हट्न थालेका छन् । ‘अब नगरपालिकालाई काम गर्न सजिलो भएको छ,’ सूचना अधिकारी अर्यालले भने । 

यहाँको मुख्य बजार महिलवारका कतिपय अतिक्रमित जग्गा खाली भएका छन् । १३ वटा वडा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा वडा नं. ९ र १० मा सार्वजनिक जग्गा खाली गराउने कार्य तीव्र गतिमा भइरहेको छ । बिस्तारै अन्य वडामा पनि अतिक्रमित जग्गा खाली गराएर संरक्षण गरिने सूचना अधिकारी अर्यालले सुनाए । 

सरकारले सार्वजनिक भनेर कित्ताकाट गरेको सडक, ताल, पोखरी, कुलो र पेटी आदिको ८ नम्बर जग्गालाई मात्र अहिले खाली गराएर संरक्षण थालिएको सूचना अधिकारी अर्यालले बताए । ‘पछि ऐलानी, पर्ती र अव्यवस्थित बसोबासीलाई पनि व्यवस्थित गर्छौं,’ उनले भने ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully