लुम्बिनीमा सरकारको नेतृत्व फेर्ने ‘कसरत’

बजेटअघि सम्भावना कम रहेको लुम्बिनीका नेताको दाबी ।

जेष्ठ ५, २०८३

घनश्याम गौतम

'Exercise' to change government leadership in Lumbini

What you should know

बुटवल — लुम्बिनी प्रदेशमा एमालेभित्रै सरकार फेर्ने कसरत अघि बढेको छ । एमालेमा पछिल्लो समय देखिएको नेतृत्व परिवर्तनको बहसपछि अध्यक्ष केपी शर्मा ओलीले नै आफ्नै मुख्यमन्त्री फेर्ने प्रयास सुरु गरेको नेताहरूले दाबी गरेका छन् । 

काठमाडौंमा आइतबार नै यस विषयमा छलफल भएको नेताहरूले बताए । निष्कर्षमा पुग्न नसकेपछि सोमबार सचिवालय बैठकमा प्रदेश सरकारको नेतृत्व र मन्त्री फेरिन सक्ने विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष ओलीले सातै प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयमा कांग्रेस र नेकपासँग अनौपचारिक छलफल भइरहेको जानकारी सचिवालय बैठकमा गराएको एक नेताले बताए । ओलीले मंगलबार पनि प्रदेश सरकार फेरबदलको विषयमा कांग्रेससँग छलफलको प्रयास गरेका थिए । तर, कांग्रेसले बुधबार गर्ने भनेपछि छलफल अगाडि बढ्न सकेन । 

लुम्बिनी प्रदेशमा अहिले एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । उनी एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् । त्यसकै कारण पनि ओलीले फेर्ने प्रयासमा रहेको एमालेका केन्द्रीय नेताहरूको दाबी छ । लुम्बिनीमा कांग्रेससँग १८ महिना आचार्यले सरकारको नेतृत्व गर्ने र त्यसपछिको १८ महिना कांग्रेसले नेतृत्व गर्ने सहमतिअनुसार २०८१ साउनमा आचार्य मुख्यमन्त्री भएका थिए । उक्त सहमति अनुसार गत फागुनमै त्यो समयसीमा सकिएको छ ।

अहिले लुम्बिनी कांग्रेसभित्र पनि संस्थापन र इतरपक्षबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा चलिरहेकाले कांग्रेसले प्रदेश सरकारले बजेट ल्याएपछि मात्र सरकारको नेतृत्व फेर्ने तयारी छ । तर, एमालेमा त्यो भन्दा अघि नै मुख्यमन्त्री फेर्ने गरी प्रयास भइरहेको हो । कांग्रेसका नेताहरू भने आवश्यक नै परे मन्त्रीहरू हेरफेर गर्ने तर सरकारको नेतृत्व बजेटपछि मात्र फेर्ने गरी छलफल गरिरहेका छन् ।

एमाले नेताहरूका अनुसार अहिले केपी शर्मा ओलीले कोशी र लुम्बिनीमा नेतृत्व फेर्ने प्रयास गरिरहेका छन् । त्यसका लागि ओलीले कांग्रेस र नेकपा संयोजक पुष्पकमल दाहालसँग पनि छलफल गरिरहेका छन् । त्यसकै आधारमा नेकपाका नेता एवं लुम्बिनीका पूर्वमुख्यमन्त्री जोखबहादुर महरालाई केन्द्रमा भएको छलफलको जानकारी गराएका हुन् । नेकपाका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालले सामान्य छलफल चलिरहेको तर ठोस केही नभएको बताए । ‘दलको नेतासँग सामान्य कुराकानी भइरहेको जानकारी छ,’ उनले भने, ‘निष्कर्षमा पुग्ने गरी ठोस छलफल अझै भएको छैन । एक–दुई दिनमा केही होला ।’

लुम्बिनी प्रदेशबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित एक नेताका अनुसार लुम्बिनीमा कांग्रेस नेतृत्व लिन तयार नभए नेकपासँग सहकार्य गर्ने गरी ओलीले छलफल गरिरहेका छन् । ‘पहिलो सम्झौता अनुसार कांग्रेसलाई नेतृत्व लिन आग्रह गर्ने, दोस्रो नेकपासँग छलफल गर्ने र त्यो पनि नभए एमालेकै अर्को व्यक्ति अघि सार्ने तयारीमा अध्यक्षज्यूको मनसाय देखिन्छ,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘नेतृत्व फेर्ने भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल अघि बढेपछि चिढिएका ओली कमरेडले अर्को विकल्प प्रयोग गर्न खोजेको बुझिन्छ ।’

ओलीले कोशी र लुम्बिनी सरकारको एमाले नेतृत्व तत्काल परिवर्तन गर्न खोजेको देखिएको ती सदस्यले बताए । एमाले महासचिव शंकर पोखरेल मंगलबार गृहजिल्ला दाङ आएका छन् । उनले मंगलबार देउखुरीमा प्रदेश सरकारका नयाँ भवनहरूको अवलोकन गर्ने, एमालेका प्रदेश मन्त्रीहरू र कर्मचारीसँग पनि छलफल गरेका थिए । महासचिव पोखरेलले जनताको मन छुने गरी बजेट बनाउन निर्देशन दिएको भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले बताए । 

लुम्बिनी प्रदेश सरकारले जेठ ७ गते संसद बैठक राख्ने तयारी गरिरहेको छ । उक्त बैठकमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने तयारी छ । त्यसपछि नीति कार्यक्रम ल्याउने गरी काम भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता दिनेश पन्थीले बताए । सरकार फेर्ने हल्ला चल्नु स्वाभाविक भए पनि बजेटअघि त्यो सम्भावना कम भएको उनले बताए ।

‘सरकार परिवर्तनका हल्ला चलेका छन्, तर त्यो हल्ला मात्र होला,’ उनले भने, ‘नीति कार्यक्रम र बजेट बनाउने समय सुरु भएकाले तत्काल सरकार फेर्ने कुरा सम्भव पनि नहोला ।’ तर, राजनीतिक नेतृत्वदेखि कर्मचारीसम्म सरकार फेरिने हल्ला चलिरहेको उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully