अव्यवस्थित बसोबासीको बुटवल भेलाद्वारा राष्ट्रिय संघर्ष समिति गठन

अबको आन्दोलन काठमाडौं केन्द्रित गर्ने निर्णय ।

जेष्ठ ४, २०८३

घनश्याम गौतम

Butwal gathering of unorganized settlers forms National Struggle Committee

What you should know

बुटवल — अव्यवस्थित बसोबासी एवं भूमिहीन सुकुमवासीहरूको बुटवल भेलाले खगेन्द्र पौडेलको अध्यक्षमा ७५ सदस्यीय राष्ट्रिय समन्वय समिति गठन गरेको छ । बुटवलमा आइतबार र सोमबार भएको भेलाले सरकारविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णयसहित राष्ट्रिय संघर्ष समन्वय समिति गठन गरेको हो । 

भेलाले संघर्षका थप कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जेठ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने, जेठ ११ गते प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका शीर्ष नेता तथा मानवअधिकारकर्मीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै जेठ १४ गते राजनीतिक दलका प्रमुख, भूमिसम्बन्धी विज्ञ तथा सरोकारवालाको उपस्थितिमा काठमाडौंमा सडक अन्तरक्रिया गर्ने निर्णय गरिएको छ । 

परिस्थितिअनुसार काठमाडौंमा बृहत् सभा आयोजना गर्ने तयारीसमेत गरिएको समितिका संयोजक खगेन्द्र पौडेलले बताए । ‘तेस्रो चरणअन्तर्गत राष्ट्रिय स्तरमा काठमाडौं केन्द्रित सशक्त आन्दोलन सञ्चालन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘आवश्यकता परेको अवस्थामा सिंहदरबार केन्द्रित मार्च कार्यक्रम, धर्ना, प्रदर्शन तथा खबरदारी सभा निरन्तर सञ्चालन गर्ने छौं ।’ 

सुकुमवासी हटाइएका स्थानहरूमा संघर्षको प्रतीकस्वरूप टेन्ट आन्दोलन सञ्चालन गर्ने, राजनीतिक तथा कूटनीतिक पहललाई सशक्त बनाउने, अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई जानकारी गराउने तथा संयुक्त राष्ट्रसंघीय आवास अधिकारसम्बन्धी निकायमा औपचारिक ध्यानाकर्षण गराउने कार्यक्रमसमेत तयार गरिएको उनले बताए । 

आइतबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय भेलामा देशभरका २० भन्दा बढी जिल्लाका प्रतिनिधिको सहभागिता थियो । आइतबार विरोध प्रदर्शन र कार्यक्रम गरेको सुकुमवासीहरूको भेलाले सोमबार नेतृत्व चयन गरेको हो । 

भेलाले १३ बुँदे प्रस्ताव पारित गर्दै तत्काल लालपुर्जा वितरणदेखि डोजर आतंक बन्द गर्नुपर्ने माग अघि सारेको छ ।

समितिका सल्लाहकार वीरेन्द्र विकले अबको आन्दोलनलाई देशव्यापी बनाउने निर्णयसहित काठमाडौं केन्द्रित संघर्षका कार्यक्रम संचालन गर्ने निर्णय भएको बताए । ‘भेलाले भूमि ऐनअनुसार नाप–नक्सा सम्पन्न भइसकेका क्षेत्रहरूको बाँकी प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल पूरा गरी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई शीघ्र लालपुर्जा वितरण गर्न सरकारसँग जोडदार माग गरेको छ,’ उनले भने । 

अव्यवस्थित बसोबासीलाई भूमि ऐनले तोकेको अधिकतम क्षेत्रफलभित्र रहने गरी आवास तथा कृषि प्रयोजनका लागि न्यून शुल्कमा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने भेलाको माग छ । संविधानको धारा ३७ ले सुनिश्चित गरेको आवासको मौलिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि भेलाले सरकारलाई आग्रह गरेको छ । पूर्ववर्ती आयोगद्वारा नाप–नक्सा हुन बाँकी रहेका क्षेत्रहरूमा तत्काल नापी कार्य सम्पन्न गरी सम्बन्धित लाभग्राहीलाई लालपुर्जा वितरण गर्नुपर्ने, यसअघि आयोगहरूले गरेका अध्ययन, अभिलेखीकरण तथा नाप–नक्सा कार्यलाई निरन्तरता दिनुपर्ने प्रस्ताव भेलाले पारित गरेको छ ।

भेलाले बुटवलको तिनाउ–दानव करिडोर पीडित, मोतीपुर औद्योगिक क्षेत्र पीडित, दाङको महेन्द्र संस्कृत विश्वविद्यालय क्षेत्रका प्रभावित नागरिकलगायत देशभरका समान प्रकृतिका बस्तीलाई उचित क्षतिपूर्ति सहित सुरक्षित स्थानमा व्यवस्थापन गर्न माग गरेको छ । देशभर भूमिहीन, दलित तथा सुकुमवासीमाथि डोजर प्रयोग गरेर गरिने निष्कासन, घरटहरा भत्काउने तथा अमानवीय व्यवहार तत्काल बन्द गर्न भेलाले सरकारलाई चेतावनी दिएको छ । बाढी, पहिरो, डुबान तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित तथा व्यवस्थित स्थानमा पुनःस्थापना गर्नुपर्ने माग पनि भेलाले अघि सारेको छ ।

भूमिहीन तथा सुकुमवासी समुदायमाथि हुने दमन, गिरफ्तारी, धम्की र मानवअधिकार उल्लंघन तत्काल अन्त्य गर्नुपर्ने भेलाको माग छ । वन ऐन र भूमिसम्बन्धी कानुनबीच बाझिएका प्रावधान हटाएर सुकुमवासी तथा अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित हुने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ । 

भेलाले भूमिसम्बन्धी ऐनमा नयाँ दफा थप गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ । सरकारी, सार्वजनिक संस्था, गुठी, वन क्षेत्र, मठमन्दिर तथा सार्वजनिक प्रयोजनका लागि दर्ता रहेका बाहेक अन्य जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीनलाई बसेकै स्थानमा एकपटकका लागि जग्गा उपलब्ध गराई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको संयोजक पौडेलले बताए ।

मानव बस्ती स्थापना भइसकेपछि सरकारी वा संस्थागत नाममा दर्ता गरिएको जग्गामा समेत दीर्घकालीन बसोबास पुष्टि भए आवश्यक मापदण्ड पूरा गरेका नागरिकलाई जग्गाधनी प्रमाण–पुर्जा दिन बाधा नपर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातायातलगायत आधारभूत सेवा उपलब्ध हुने सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने मागसमेत भेलाले अघि सारेको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully