गत वर्षको बुद्ध जयन्तीको खर्च भुक्तानीका लागि व्यवसायी अदालत जाँदै

कोषको खातामा भुक्तानी दिन बाँकी छ भनेर कहीँकतै उल्लेख नभएको तर व्यवहारमा भुक्तानी दिन बाँकी देखिँदा समस्या जटिल बनेको हो ।

जेष्ठ ४, २०८३

मनोज पौडेल

Businessman goes to court to seek payment for last year's Buddha Jayanti expenses

What you should know

लुम्बिनी — गत वर्ष सम्पन्न २५६९ औं बुद्ध जयन्ती मनाउँदा भएको खर्चमध्ये अधिकांश रकम भुक्तानी नपाउँदा व्यवसायी, ट्राभल एजेन्सी र संचार संस्था समस्यामा परेको बताएका छन् ।

एक वर्षभन्दा बढी भइसक्दा पनि रकम नपाउने अवस्था आएपछि न्यायका लागि व्यापारी र व्यवसायीले अदालत जाने तयारी गरेको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माले बताए । 

लुम्बिनी विकास कोषका पदाधिकारीबीच आपसी विवाद, व्यक्तित्वको टकराव र समन्वय अभाव हुँदा करिब ४६ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन । रकम भुक्तानी त भएन, उता विभिन्न व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी छ भनेर गत आवमा दायित्व पनि सिर्जना नगर्दा चालु आवमा पनि भुक्तानी पाउने अवस्था नदेखिएकाले अर्को समस्या थपिएको अध्यक्ष शर्माले बताए । 

‘कोषको खातामा भुक्तानी दिन बाँकी छ भनेर कहीँकतै उल्लेख छैन,’ कोषका एक अधिकृतले भने, ‘तर, व्यवहारमा भुक्तानी दिन बाँकी देखिँदा समस्या जटिल बनेको छ ।’ कानूनी रूपमा दिन सक्ने आधार छैन । त्यही भएर अदालत गएर गाँठो फुकाउनुको विकल्प नहुँदा समस्या थप बल्झिएको सुरम्मा होटल सञ्चालक खिम श्रेष्ठले बताए । अर्को रोचक पक्ष के भने तत्कालीन अधिकारीले रकम भुक्तानी दिन बाँकी छैन भनेर कोषमा बुद्ध जयन्ती मनाउन संघीय सरकारले निकासा गरेको मध्ये ४४ लाख रुपैैयाँ फिर्ता पठाइदिएका थिए । गत वर्ष वैशाख २९ गते परेको बुद्ध जयन्ती मनाउन सरकारले कोषलाई १ करोड रकम निकासा पठाएको थियो । 

भैरहवा, तिलोत्तमा र लुम्बिनीका तीनवटा ट्राभल एजेन्सीलाई १ सय २ वटा हवाई टिकटको ५ लाख ५१ हजार ६ सय ४७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । त्यस्तै लुम्बिनीका १२ वटा होटललाई २४ लाख ३० हजार ६ सय ८६ रुपैैयाँ तिर्न बाँकी छ । सबैभन्दा बढी लुम्बिनी होक्के होटललाई ९ लाख १ हजार र होटल कासाईलाई ३ लाख ७९ हजार ८ सय ९९ रुपैैयाँ तिर्न बाँकी रहेको छ । त्यस्तै बुद्ध जयन्तीमा प्रयोग गरिएका कार, हाइस, स्कार्पियो र स्कुल बसको १० लाख ९२ हजार रकम पनि भुक्तानी दिन बाँकी छ । त्यस्तै काठमाडौं–लुम्बिनी–काठमाडौं बस भाडा १ लाख ११ हजार ८ सय ७० भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशलाई २ लाख र रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सञ्चार संस्थालाई २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । भ्याटसहितको बिल दिएको वर्षदिनभन्दा बढी हुँदा पनि भुक्तानी नपाएको राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष नरेश केसीले बताए । कोषभित्रको समस्याले सञ्चार संस्थाले भुक्तानी नपाउनु दुःखद् भएको उनले बताए । अब आफुहरू पनि रकम असुलीका लागि कानूनी प्रक्रियामा जानुपर्ने बाध्यता रहेको उनले बताए । 

बिलको भुक्तानी पाउनु त परै जाओस्, आफ्नो गोजीबाट मूल्य अभिवृृिद्ध करसमेत तिरेको एक वर्षभन्दा बढी भइसक्दा व्यवसायी थला परेको लुम्बिनीस्थित एन्जल होली डे ट्राभल एन्ड टुरका संचालक प्रकाश भट्टराईले बताए । ‘व्यवसायीले रकम परिचालन गर्दै व्यापार व्यवसाय गर्ने हो,’ उनले भने, ‘घाटा सहेर र घरबारी बेचेर व्यवसाय गर्न सकिन्न ।’ लुम्बिनी विकास कोषको आन्तरिक समस्याले व्यवसायी पीडित हुन नहुने उनले बताए । 

गत वर्ष चेक काट्ने अख्तियारी सदस्य–सचिव सानुराजा शाक्य र लेखा अधिकृत नवल यादवले पाएका थिए । शाक्य ०८२ असोज २१ गते पाँचवर्षे अवधि पूरा गरेर सेवा निवृत्त भए । त्यसपछि लेखा अधिकृतबाट यादव पनि हटाइए । अधिकृतले यादवले आफूसँग सदर भएर आएका सबै बिलको भुक्तानी दिएको बताए । ‘सरकारको सार्वजनिक खरिद ऐनको विनियमअनुसार पेस भएका बिलको भुक्तानी भएको छ,’ उनले भने, ‘मसँग नआएका बिलको कसरी भुक्तानी गर्ने ?’ 

सुशीला कार्की नेतृत्वको सरकारले गत मंसिर १५ गते कोषको सदस्य–सचिवमा दीपक श्रेष्ठलाई नियुक्त गरेको थियो । उनले पनि रकम भुक्तानी गर्न नसक्ने बताएपछि व्यवसायी निरास बनेका हुन् । सरकारको अध्ययादेशपछि श्रेष्ठ पनि बर्खास्तीमा परेका छन् । 

तत्कालीन सदस्य–सचिव शाक्य र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामाबीचको विवाद, कोषका पदाधिकारी र लेखा अधिकृतबीचको विवाद र मनोमालिन्यको सिकार अहिले व्यवसायी र संचार संस्था बन्न पुगेका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully