लुम्बिनीको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्यो पाल्पा

स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान, जनचेतना र स्थानीय तहको समन्वयबाट पाल्पामा घरमा प्रसूति शून्यमा झरेर मातृ तथा शिशु मृत्युदर घटेको छ।

जेष्ठ ३, २०८३

माधव अर्याल

Palpa becomes Lumbini's first district with fully institutionalized maternity services

What you should know

पाल्पा — लुम्बिनी प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला पाल्पा बनेको छ । यहाँका दुई नगरपालिका र आठ गाउँपालिकाले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेकाले लुम्बिनी प्रदेशकै पहिलो जिल्ला बन्न सफल भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए । 

उनका अनुसार जिल्लामा घरमा सुत्केरी हुने दरलाई शून्य बनाउँदै लुम्बिनी प्रदेश सरकारको पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका र जिल्ला घोषणा तथा सुनिश्चितता मापदण्ड २०८० बमोजिम सबै मापदण्ड पूरा भएको छ । 

पछिल्ला वर्षमा सुरक्षित मातृत्व सेवामा उल्लेखनीय प्रगति गर्दै पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसको औपचारिक घोषणा भने जेठ ५ मा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा पाल्पामा घरमै हुने प्रसुति (होम डेलिभरी) को संख्या ७ सय ५४ थियो । स्वास्थ्य संस्थामा प्रसूति गराउने अभियान, जनचेतना अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता तथा स्थानीय तहको समन्वयका कारण यो संख्या क्रमश: घट्दै गएको हो ।

२०७५/७६ मा ३ सय ९४, २०७६/७७ मा २ सय ४३, २०७७/७८ मा २ सय ३, २०७८/७९ मा १ सय १९ र २०७९/८० मा जम्मा २८ मा झरेको थियो । आर्थिक वर्ष २०८१/८२ मा घरमै प्रसुति हुने संख्या शून्यमा पुगेकाले पूर्ण संस्थागत पसुति सेवायुक्त जिल्ला घोषणा गर्न सफलता मिलेको उनले बताए । ‘यो सफलताका पछाडि विभिन्न पक्षको महत्वपूर्ण योगदान रहेको छ,’ निमित्त प्रमुख पोखरेलले भने, ‘गाउँ–गाउँमा स्वास्थ्य चौकी, बर्थिङ सेन्टर तथा अस्पतालमार्फत सुरक्षित प्रसूति सेवा दिइएको छ । त्यसैले पनि पूर्ण संस्थागत प्रसूति दिन सकेको हो ।’ 

विगतमा नियमित गर्भजाँच, पोषण, सुरक्षित सुत्केरी तथा जोखिमबारे सचेतनामूलक कार्यक्रम संचालन गरिएका थिए । महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो अभियान सञ्चालन गरी गर्भवतीलाई स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रेरित गरेको पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत नि:शुल्क प्रसुति सेवा, यातायात खर्च र प्रोत्साहन भत्ताले पनि महिलालाई संस्थागत प्रसूतितर्फ आकर्षित गरेको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

पूर्वखोला गाउँपालिकाले पहिलो पटक २०७६ सालमा पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेको उनले बताए । त्यसपछि मात्र अन्य पालिकाले पनि पूर्ण संस्थागत पालिका बनाउने प्रयास गरेका हुन् । त्यसैको फलस्वरुपमा अघिल्लो वर्ष तिनाउ, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाले घोषणा गर्न सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्थानीय तहको पहलमा बर्थिङ सेन्टर स्थापना, हरियो झण्डा, अण्डा वितरण, यातायात खर्च थप दिने, महिला जनप्रतिनिधि पुगेर स्वास्थ्य अवस्था बुझेर पोषण भत्ता दिने, बच्चा र आमाको नाममा खाता खोल्ने, अन्यत्र रिफर भएमा खर्च दिने गरिएको छ ।  हेरालु टोली गठन गर्ने, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वयंसेवकमार्फत निगरानी गर्ने गरेकाले पनि सफल भएको जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले बताए ।  

स्थानीय सरकार, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्था र समुदायबीचको सहकार्यले पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउन मद्दत पुगेको उनले बताए । ‘यस अभियानले प्रसूति सेवा सुधार मात्र नभई महिलाको स्वास्थ्यप्रति समाजको चेतना पनि बढाएको छ,’ उनले भने, ‘त्यसैले यो उपलब्धि अन्य जिल्लाका लागि समेत प्रेरणादायी उदाहरणीय बनेको छ ।’ 

लुम्बिनी प्रदेशका १२ जिल्लाको तथ्यांक अनुसार २०८१/८२ मा कपिलवस्तुमा १ सय ७७, बाँकेमा ५४, प्युठानमा ४१, दाङमा २५, बर्दियामा १९, रोल्पामा १३ तथा रुकुम पूर्वमा ३१ घरमै प्रसुति रहेको छ । गुल्मीले उल्लेख्य सुधार गर्दै घरमा सुकेरी हुने संख्या ३ मा झारेको छ । गुल्मी पूर्ण शून्यमा पुग्न नसकेकाले पाल्पा पहिलो भएको हो । रुपन्देही र नवलपरासी पश्चिमले पछिल्लो वर्ष शून्य नजिकको अवस्था हासिल गरे पनि पाल्पाले सबैभन्दा पहिला पूर्ण उपलब्धि हासिल गरेको छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार सातै प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्युदर सबैभन्दा उच्च थियो । यसको मुख्य कारण घरमै सुत्केरी गराउने प्रचलनका मानिएको हो । त्यसैले संस्थागत सुत्केरी गराउने अभियान चलेपछि मातृ तथा नवजात शिशु मृत्युदरमा कमी हुँदै गएको हो ।

भौगोलिक रुपमा विकट पाल्पाको निस्दी गाउँपालिकामा आठ वर्षअघि १ वर्षमा २ सय २१ जना घरमा सुत्केरी हुँदा एक जनाले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराएका थिए । तर अघिल्लो आर्थिक वर्षमा भने एक जना पनि घरमा सुत्केरी नभएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले बताए । यातायातको सहज पहुँच पुगेको सिद्धार्थ राजमार्गको छेउमा पर्ने तिनाउ गाउँपालिकामा आठ वर्षअघि १०३ सुत्केरी हुँदा ३ जना मात्रै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका थिए । तर अहिले भने सबै जना स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका छन् ।

पाल्पाका दुई नगरपालिका र आठवटै गाउँपालिकामा घरमा सुत्केरी हुने संख्या अघिल्लो आर्थिक वर्षदेखि शून्य भएको छ । पछिल्ला वर्ष स्वास्थ्यको क्षेत्रमा लगानी बढाएको र स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका पनि महत्वपूर्ण रहेको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । विगतमा भौगोलिक विकटता, चेतनाको कमी, स्वास्थ्य संस्था पहुँचको अभाव, एम्बुलेन्स सेवाका साथै सवारी साधन नियमित संचालन नहुँदा घरमै सुत्केरी हुने अवस्था थियो ।

पछिल्लो जनगणना अनुसार मुलुकभर प्रति लाख गर्भवती तथा सुत्केरी आमामध्ये १ सय ५१ जनाको मृत्यु देखिएको थियो । लुम्बिनी प्रदेशमा प्रति लाखमा २ सय ७ जनाको मृत्यु हुने देखिएको थियो । जुन सातवटा प्रदेशमा सबैभन्दा धेरै हो । 

नियमित गर्भ परीक्षण नगर्दा, घरमै प्रसूति हुँदा वा विशेषज्ञ अस्पताल नजाँदा धेरै आमाहरूले ज्यान गुमाएको निष्कर्षसहित लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सुरक्षित मातृत्व अभियान सञ्चालन मार्गदर्शन स्वीकृत गरी विशेष कार्यक्रम सुरु गरेको थियो । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सबैको प्रयासले नै पाल्पालाई प्रदेशको पहिलो जिल्ला घोषणा गर्न सफल भएको बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully