पर्यटकको आकर्षणसँगै नरपानीमा होटल, रिसोर्ट र होमस्टे खुल्ने क्रम बढेको छ। जसका कारण स्थानीय कृषकको आर्थिक अवस्थामा पनि सुधार भइरहेको छ।
What you should know
अर्घाखाँची — काँडासहितको जंगल र सुनसान नरपानी देखेका सन्धिखर्कका ७५ वर्षीय हुमप्रसाद श्रेष्ठले पर्यटनमा कायाकल्प सम्झेर अचम्मै मान्छन् । गाउँले मिलेर सन्धिखर्क–गोरुसिंगे सडकलाई कोदालो, गैती र बेल्चाले बाटो खनेर ०४३ सालमा पहिलो पटक जिल्लामा ट्याक्टर ल्याएको सम्झना उनलाई ताजै छ । त्यो बेला उनले त्यही नरपानी क्षेत्रको जंगललाई पन्छाउँदै कोदालोले बाटो खनेका थिए ।
नर्तनाञ्चल पर्वतको फेदी नरपानीमा चैत/वैशाखतिर भैंसी चराउने चौर थियो । उनले यही बाटो ढाक्रे (नून बोक्ने पैदल यात्री) बनेर कपिलवस्तुको पथ्थरकोट पुगेर नून बोकेर ल्याउँथे । त्यो बेला नरपानीमा जंगल र चिसोका कारण कोही पनि ढाक्रे बस्दैनथे । ०२६ सालमा नरपानीमा जिल्ला सदरमुकाम स्थापना भयो । सरकारी अड्डा, अदालत हुँदा सरकारी जागिरमा श्रेष्ठले परीक्षा पनि दिए । ०३२ सालमा सन्धिखर्क सर्र्यो । ०४१ पुसबाट सन्धिखर्कमा सुरु गरेको उनको व्यापार अहिले पनि निरन्तर छ ।
आफ्नै जीवनकालमा नरपानीको अवस्था देख्दा उनलाई सपना जस्तै लाग्छ । पछिल्लो समय सन्धिखर्क भन्दा नरपानीमा सम्भावना देखेर उनले करिब १० करोड लगानीमा सुविधा सम्पन्न होटल खोल्दैछन् । ‘मैले बाटो खन्दाको र अहिलेको नरपानी सम्झँदा सपना जस्तै लाग्छ,’ श्रेष्ठले भने, ‘हेर्दाहेर्दै यति धेरै परिवर्तन भयो । त्यो बेलाको जंगल अहिले पर्यटकीय गन्तव्य बन्यो, म पनि व्यापार गर्न नरपानी आए ।’
नरपानीमा पर्यटक खचाखच हुनुको कारण नर्तनाञ्चल पवर्तको हरियाली दृश्य र चिसो ठाउँ हो । अर्को कारण दुई किलोमिटर दुरीमा रहेको धार्मिक पर्यटकीय गन्त्व्य सुपा देउराली मन्दिर हो । त्यहाँ दर्शनपछि तीर्थालु नरपानी पिकनिक स्पोर्ट्समा आउँछन् । पछिल्लो समय नरपानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
०४० सालमा बल्कोटका बाबुराम रायमाझीले सुपा खोला किनारामा सानो मन्दिर बनाइदिएका थिए । त्यो भन्दा अघिसम्म भित्ताको खोपीमा धजा, भेटी चढाएर पैदल यात्रीले दर्शन गर्थे । पछिल्लो समय सन्धिखर्क–गोरुसिंगे सडक फराकिलो बन्नु, सडक छेउमै मन्दिर हुनुले तीर्थालुलाई यात्रा सहज भएको छ । धार्मिक जनविश्वासले तीर्थालु हरेक वर्ष सुपा देउराली दशर्नका लागि बढ्दो छन् । श्रेष्ठले नरपानीमा होटल व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने सपना देखेका छन् ।
उनका छोरा कृष्णप्रसाद श्रेष्ठले २२ कोठे होटल निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘भारत र तराइबाट गर्मी छल्न, चिसो डाँडाकाँडामा रमाउन पर्यटक आगमन बढ्दो भएकाले होटल खोलेका हौं,’ उनले भने, ‘सेमिनार हलसहित खान बस्नको लागि सुविधा सम्पन्न पर्यटकीय होटल सञ्चालन गर्न लागेको हौं ।’ नरपानीमा पर्यटकको चहलपहल बढ्दै गएकाले खान, बस्ने सुविधाको लागि व्यवसायिक रुपमा होटल सञ्चालन गर्न लागिएको उनले बताए । यहाँ आउने पर्यटकलाई स्थानीय रैथाने खानका परिकार खुवाइने उनले बताए । जिल्ला सदरमुकाममा भन्दा नरपानीमा पर्यटककै कारण आर्थिक गतिविधि बढ्दो छ ।
नरपानी र खाँचीकोटका स्थानीय पनि बारीमा तरकारी, लोकल कुखुरा, खसीबोका उत्पादनतिर जोड दिएका छन् । यहाँ सुपा देउराली नरपानी रिसोर्टसहित केही होटल छन् । ‘नरपानीमा बास बस्न आएका पर्यटकले रैथाने खानका थरीथरीका परिकार रुचाउँछन्,’ नरपानी रिसोर्टका व्यवस्थापक गोपाल पौडेलले भने, ‘धेरैले लोकल कुखुरा, खसीबोको मासुका परिकार खान खोज्छन् । सबै गाउँमा खोजेर ल्याउँछौं ।’ पछिल्लो समय नरपानीमा विवाहका लागि पनि आउने गरेको उनले बताए ।
यस क्षेत्रमा धमाधम होटल रिसोर्टका भवन निर्माण भइरहेका छन् । नरपानी सडक किनारामा यमु थापासहितको समूहले ९ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । २५ कोठे भवनको काम एक महिनाभित्र पूरा गरेर रिसोर्ट सञ्चालन गर्ने उनले बताए ।
बाहिरी लगानीकर्ताले खरबारी किनेर व्यवसाय गर्न थालेपछि जग्गाको भाउ पनि बढ्दै गएको छ । ६ वर्षअघिसम्म कम मूल्य पर्ने जग्गालाई अहिले रोपनीको ३० लाख रुपैयाँमा बिक्री भएको स्थानीय बताउँछन् ।
केही युवाले फार्ममा कुखुरा पाल्न थालेका छन् । तरकारी पनि होटलमै माग बढी हुन्छ । केही गाउँलेले नरपानी पिकनिक स्पोट्स नजिकै डोको र बोरामा पुर्याएर पर्यटकलाई बिक्री गर्छन् ।
पर्यटक बढ्दै जानुले होटलमा तरकारी, खसीबोको माग बढी भएकाले गाउँमा उत्पादन वृद्धि हुँदा आर्थिक गतिविधि बढ्दै गएको युवा कृषक प्रितम केसी बताउँछन् । ‘चैत र वैशाखमा मैले १७ क्विन्टल काउली बिक्री गरें,’ उनले भने, ‘सबै नरपानी–सुपा देउरालीका होटलमा प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भयो । हाम्रो उत्पादन पर्यटकले घरमै आएर किन्छन् ।’
लोप हुन लागेका रैथाने आरु, आरुबखडासहित किवीलगायत फलफुल खेती पनि गरेको उनले बताए । ‘पहिले गाउँ थियो, केही बिक्री हुने थिएन,’ केसीले भने, ‘अहिले पर्यटक बढ्दो छन्, उत्पादन गरेको वस्तु पुर्याउनै सकिँदैन । मैले तरकारी, घिउ, दूध,दही, खाद्यान्य, फलफुल बिक्री गरेर वर्षमा ५/६ लाख रुपैयाँ बचत गर्छु, घरमा बसेर यति भएपछि मलाई कुनै चिन्ता छैन ।’
वैदेशिक रोजगारमा रहेका नरपानीका सूर्यबहादुर भट्टराईले तीन वर्षदेखि गोलभेडा, तरकारी उत्पादन गरेका छन् । ‘पहिला त गाउँमा पैसा देख्न पाइँदैनथ्यो,’ उनले भने, ‘तरकारी सहित गहुँ, मकै, भटमास जति थरीका खाद्यवस्तु उत्पादन गरे पनि पर्यटकले घरमै आएर खरिद गरिदिँदा हामीलाई उत्साह थपिएको छ । वैदेशिक रोजगारबाट कमाई हुने पैसा यहीँ भएपछि विदेश जानु परेन ।’
नरपानीको पर्यटन क्षेत्रले होटल/रिसोर्ट व्यवसायसँगै कृषकलाई पनि जुरुक्कै उचाल्न थालेको उनले बताए । ‘साग, सिस्नो सबै बिक्री हुन थालेपछि युवाहरु कृषितर्फ उन्मुख भएका छन्,’ उनले भने, ‘सामान्य कृषकको पनि आर्थिक अवस्था फेरिँदैछ । विदेशमा गर्ने दुःख यहीँ गर्दा घरखर्च राम्रै चल्ने देखियो ।’
भारत र नेपालका विभिन्न ठाउँबाट केही पर्यटक गाडी रिर्जव गरेर लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रेसुंगा हुँदै अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर चिसो ठाउँ नरपानीमा बास बस्छन् र प्यूठानको स्वर्गद्वारी पुगेर बाघ हेर्न बर्दियातिर लाग्ने गर्छन् । पर्यटकलाई गाउँमै बस्ने व्यवस्था पनि छ । नरपानीनजिकै पोखेडाँडामा ४० वटा होमस्टे (घरबास) सञ्चालनमा छन् । पाहुनालाई गुन्द्री, चटकमा बसालेर रैथाने खानाका परिकार खुवाइन्छ । ‘गर्मी छल्न र घुम्न आएकामध्ये केही पर्यटक होमस्टेमा बस्छन्,’ सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्रा क्षेत्रीले भने, ‘होटल, रिसोर्ट भन्दा सस्तो, गाउँघरकै परिवेस, लोकल खाना पाउँछन् । सहरबाट आएका पर्यटकले बिहान उठ्ने बित्तिकै हिमालसहित हरियाली डाँडाकाँडा, गाउँमा खर, ढुंगा, जस्तापाता र पक्की घर देखेर रमाउँछन् ।’
सन्धिखर्क नगरपालिका–६ को नरपानी र ७ को खाँचीकोट क्षेत्रमा स्थानीय तहले होमस्टे निर्माण लागि सहयोग गरेको छ । वडा ७ ले खाँचीकोटका २५ जना भन्दा बढी कृषकलाई लमजुङ, स्याङजाका होमस्टेमा भ्रमण गरायो । त्यहाँ पाहुनाका लागि सत्कार, होमस्टे सञ्चालनको जानकारी लिन फिल्डमै लगिएको वडाध्यक्ष चुराबहादुर केसीले बताए । ‘सामान्य कृषकले पनि पर्यटन व्यवसायबाट आम्दानी गराउनका लागि हामीले सहजीकरण गरेका छौं,’ उनले भने, ‘पाहुनालाई होमस्टेमा बसालेर, खुवाएर र घरमा पालेको कुखुरा, साग बिक्री गरेर स्थानीयले आम्दानी लिन थालेका छन् ।’
तराइमा ४०/४५ डिग्री तापक्रम हुँदा नरपानीमा २७/२८ डिग्री तापक्रम हुन्छ । सधैं चिसो हावापानी, नर्तनाञ्चल पर्वत सहित पहाडको हरियाली सुन्दर वातावरण भएकाले भारत र नेपालका विभिन्न ठाउँबाट गर्मी छल्न नरपानी पर्यटकको रोजाइमा परेको वडाध्यक्ष केसीले बताए । नरपानी बाहिरका युवाहरु होटल, रिसोर्ट खोलेर व्यवसायतिर उन्मुख छन् भने स्थानीय कृषि उत्पादन र घरबासमा जोडिएर उद्यम गर्दैछन् ।
