स्वास्थ्यकर्मी, स्वयंसेविका र जनप्रतिनिधिको प्रयासले निस्दीका सबै गर्भवतीले बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराएका छन् ।
What you should know
पाल्पा — पाल्पाको निस्दी गाउँपालिका घरमा सुत्केरी हुनेको संख्या शून्य बनेको छ । यो पालिकामा २०८१/८२ मा घरमा सुत्केरी हुनेको संख्या शून्य बनेको हो । चालु आर्थिक वर्षमा पनि अहिलेसम्म घरमा सुत्केरी भएका छैनन् ।
‘स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको अथक मिहनेतबाट अहिलेको अवस्थामा आएको हो,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले भने, ‘यसका लागि सबै पक्षको सहयोग रहेको छ ।’
२०७४ अघिसम्म निस्दीमा घरमा सुत्केरी हुनेको संख्या २२१ थियो । साविकका बाँकामालाङ्, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले, ज्यामिरेबाट एक जनाले मात्र संस्थागत सुत्केरी गराएका थिए । ७ वडाबाट पूर्व गर्भ जाँच गराउनेको संख्या १ सय ६ जना थियो । त्यतिबेला पनि ६३ जना महिला स्वास्थ्य स्वयंसेविका, हरेक स्वांस्थ्य संस्थामा स्वास्थ्यकर्मी थिए । तर भौगोलिक विकटताका कारण संस्थागत सुत्केरी हुने गर्भवतीको संख्या ज्यादै न्यून रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताए । आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा एक जना मात्र घरमा सुत्केरी भइन् । त्यो पनि वर्षायाममा बेँसीमा खेतमा काम गर्न गएका बेला भएको उनले बताए ।
निस्दी गाउँपालिकामा २०७४ अघिसम्म आमा र बच्चाको मृत्युदर पनि उच्च थियो । स्वास्थ्य शाखाका अनुसार २०७४ देखि २०७८ सम्म प्रत्येक वर्ष एक/दुई मृत बच्चा जन्मिने गरेका थिए । तर त्यसपछि भने अहिलेसम्म त्यस्तो घटना नभएको उनले बताए । सरकारले २०६० सालतिरै सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत देशभर व्यवस्थित बर्थिङ सेन्टर स्थापना तथा बिस्तार गरी तालिम प्राप्त दक्ष प्रसूतिकर्मीद्वारा सेवा सुरु गरेको हो । ‘निस्दी गाउँपालिकाले सुरक्षित मातृ तथा नवशिशु कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न र घरमा सुत्केरी हुने दरलाई शुन्य बनाउने अभियान सुरु गरेको हो,’ निस्दी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अर्जुन रानाले भने, ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा तथा पालिका बनाउन सफल भएका छौं ।’
निस्दीको वडा १ स्थित बाँकामलाङ्, वडा ४ को मित्याल, वडा ६ को अर्चले स्वास्थ्य चौकीमा २०७४ अघि नै बर्थिङ सेन्टर रहेको थियो । स्थानीय तहको निर्वाचनपछि सहलकोट, झिरुवास, ज्यामिरे र गल्धा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरी दक्ष प्रसूतिकर्मीबाट सुरक्षित मातृत्व सेवा प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । ‘यसबाहेक पनि पालिकाबाट सुरक्षित मातृत्व सम्बन्धी प्रवर्द्धनको लागि गर्भवतीलाई अण्डा बितरण र पोषण भत्ताको व्यवस्था गरेको छ,’ उनले भने, ‘भौगोलिक रुपमा विकटमा रहेकालाई सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत पनि निगरानी गर्ने गरिएको छ ।’
नियमित मासिक स्वास्थ्य आमा समूह बैठक संचालन, बाहिर स्वास्थ्य संस्थामा प्रेषण गर्नुपरेमा यातायात खर्च, गर्भवती तथा सुत्केरीलाई आइरन फोलिक एसिड र क्याल्सियम बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार सुत्केरी आमासँग महिला जनप्रतिनिधि कार्यक्रम रहेको छ ।
यसअन्तर्गत सुत्केरी भएकी आमालाई प्रसूतिपछि घरमा भेट गर्न जाँदा स्वास्थ्यकर्मीसँग महिला जनप्रतिनिधि उपस्थित भई पोषण खर्च वापत पालिकाले २ हजार प्रदान गर्दै आएको उपाध्यक्ष श्रेष्ठले बताइन् । निस्दीकै कतिपय वडाले आफ्नै तरिकाले पनि गर्भवती तथा सुत्केरीलाई सुविधा प्रदान गर्दै आएको छ । निस्दी गाउँपालिका–५ गल्धाका वडाध्यक्ष दुर्गाबहादुर सोमैका अनुसार गल्धा स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई आमा र बच्चाको खातामा ८ हजार रुपैयाँ बैंक ब्यालेन्स राख्न सुरुवात गरेको छ ।
पछिल्लो आर्थिक वर्षमा सात वटै वडामा द्रुत सुलभ सर्वेक्षण गर्दासमेत स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएका १६५ जना रहेका छन् । निस्दीमा एउटा स्वास्थ्य संस्थामा प्रयोगशाला रहेको छ भनेसबै वडामा बर्थिङ सेन्टर छ । भौगोलिक विकटताका कारण ५ वटा सामुदायिक स्वास्थ्य इकाई रहेको छ ।
चालु आर्थिक वर्षमा गर्भवती संख्या २ सय ९४ रहेको छ भने एक वर्ष मुनिको जनसंख्या २४४ रहेको स्वास्थ्य शाखाले जनाएको छ । १५ देखि ४९ वर्षका विवाहित महिला ३ हजार ३६९ जना रहेका छन् । अघिल्लो आर्थिक वर्षदेखि घरमा सुत्केरी हुने संख्या शून्यमा झरेकाले यसवर्ष निस्दी गाउँपालिकाका ७ वटै वडा तथा पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा सम्बन्धी मापदण्ड २०८० बमोजिम घोषणा गरिएको हो । जिल्ला समन्वय प्रमुख तथा जिल्ला प्रजनन् समन्वय समिति संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, कार्यक्रम अधिकृत विश्वनाथ न्यौपानेले पालिकालाई पूर्ण संस्थागत प्रसुती सेवयुक्त पालिका भएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
गाउँपालिका अध्यक्ष सारु, उपाध्यक्ष श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख दिशा मगरलगायतले प्रमाणपत्र बुझ्दै आगामी दिनमा सुनिश्चितता गर्दै घरमा सुत्केरी हुने अवस्था सिर्जना नगर्ने प्रतिवद्धता जनाएका छन् । सोही अवसरमा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसमेत निस्दी गाउँपालिकालाई प्रदान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख खनालले भौगोलिक रुपमा विकट भए पनि सबैको मिहनेतले गर्दा नै पूर्ण खोप, पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्न सफल भएको बताए ।
