भाडाको कार्यालय हुँदै सभाहलबाट सेवा प्रवाह गरेको पालिकाले आफ्नै कार्यालयबाट सेवा प्रारम्भ गर्दै बिहीबार औपचारिक उद्घाटन गरेको छ । अहिले पालिकाको नामसहित अग्रभावमै 'जनताको घर' भनेर लेखिएको छ ।
What you should know
गुल्मी — पालिका केन्द्रमा कार्यालय बनाउन पर्याप्त निजी जग्गा नभएपछि वनको जग्गा खोज्नुपर्यो । अन्ततः निजी ब्यक्तिको अन्यत्रको जग्गा वनलाई दिएर वनको जग्गा पालिकाले लिएपछि मात्रै पालिका कार्यालय बनेको हो ।
यहाँको छत्रकोट गाउँपालिकाले आफ्नो प्रशासकीय भवन बनाउन यस्तो झन्झट खेप्नुपरेको हो । वन क्षेत्रको जग्गा बराबर निजी जग्गा वनलाई दिएपछि मात्रै पालिकाले कार्यालयका लागि जग्गा पाएको हो ।
स्थानीय झकबहादुर मिदुनले ६ रोपनी जग्गा पालिकालाई नि:शुल्क उपलब्ध गराए । उक्त जग्गा पालिकाले वनलाई दिएपछि मात्रै केन्द्रमा पालिका कार्यालयका लागि ६ रोपनी जग्गा पाएको हो । साथै भूमि आयोगबाट १९ रोपनी ८ आना जग्गा गाउँपालिकाका नाममा आएको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले जानकारी दिए ।
यसअघि भाडाको कार्यालय हुँदै सभाहलबाट सेवा प्रवाह गरेको पालिकाले अहिले आफ्नै कार्यालयबाट सेवा प्रारम्भ गर्दै बिहीबार औपचारिक उद्घाटन गरेको छ । जस क्रममा पालिकाको नामसहित अग्रभावमै 'जनताको घर' भनेर लेखिएको छ ।
छत्रकोट गाउँपालिकाको प्रशासकीय भवन कुल ९ करोड ११ लाख रुपैयाँमा अम्बेमा जेभी बिल्डर्सले निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । उनका अनुसार, उक्त भवन २०८० मंसिर ८ मा सम्झौता भएर २०८२ मंसिर ८ मा सम्पन्न गर्नुपर्नेमा २०८२ पुस २३ मा निर्माण सम्पन्न भएको थियो । प्रशासकीय कार्यालय भवन चार तलामा ३२ कोठा, दुई आवास, एक सभाहल र एक बैठक कक्ष रहेको उनले बताए । प्रशासकीय भवन गार्डेनसहित कुल ६ रोपनी जग्गामा बनेको छ । उक्त भवनसहित आसपासमा १९ रोपनी ८ आना जग्गा रहेको छ ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जग्गा प्राप्तिका कारण केही ढिलाइ भए पनि अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनले आफ्नै प्रशासकीय भवन (जनताको घर) बनेपछि अब सेवा प्रवाहमा थप सहजता र सुधार आउने बताएका छन् । 'हामीले पालिका कार्यालयलाई जनताको घर भनेका छौं,' अध्यक्ष पाण्डेले भने, 'वनलाई जग्गा उपलब्ध गराएर हामीले जग्गा पाएपछि मात्रै पालिका कार्यालय बन्न सकेको हो ।'
