बर्दिया अस्पतालमा दुई महिनादेखि निःशुल्क औषधि अभाव

बर्दिया अस्पतालमा दुई महिनादेखि आधाभन्दा बढी प्रकारका निःशुल्क औषधि अभाव हुँदा सयौं बिरामी निजी पसलबाट किन्न बाध्य छन्।

वैशाख ३१, २०८३

कमल पन्थी

Bardiya Hospital has been short of free medicines for two months

What you should know

बर्दिया — भर्खर सुत्करी भएकी गुलरिया नगरपालिका–८ की राधिका लोध बुधबार बर्दिया अस्पतालमा आइरन चक्की नपाएर रित्तै फर्किन् । अस्पतालमा निःशुल्क पाइने आइरन चक्की उनले बजारको औषधि पसलमा गएर किनिन् । सुत्केरी भएको ४५ दिनसम्म चक्की खानु पर्छ । 

पखाला लागेपछि अस्पताल आएका गुलरिया–११ का शमसुद्दिन गद्दीलाई स्वास्थ्यकर्मीले जीवनजल समेत किन्न लगाएर रित्तो फर्काए । बर्दिया अस्पतालमा निःशुल्क औषधि उपलब्ध हुन नसक्दा लोध र गद्दी जस्ता सयौं विरामी रित्तो फर्किने गरेका छन् । विरामीहरु निःशुल्क औषधि नपाउँदा पसलबाट खरिद गर्न बाध्य छन् । यसले विपन्न परिवारका विरामी बढी प्रभावित भएका छन् ।

लुम्बिनी प्रदेश सरकारले ९८ प्रकारका औषधि निःशुल्क जिल्ला अस्पताललाई उपलब्ध गराउँदै आएको छ । जिल्ला अस्पतालमा दुई महिनायता ५० प्रतिशत बढी निःशुल्क पाइने औषधि नभएको अस्पतालका स्टोर फाँट प्रमुख अविनाश थारुले बताए ।

बर्दिया अस्पताल निःशुल्क औषधि फाँटकी हेल्थ असिस्टेन्ट कोशिका यादवले सिटामोल, जीवनजल, आइरन चक्की, बुफ्रिनलगायत सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका विरामीलाई निःशुल्क वितरण गरिने र्दजनौं औषधिको अभाव भएको बताइन् । 

अस्पतालमा निःशुल्क उपलब्ध गराइने एन्टी रेविज खोपको पनि अभाव छ । प्रदेश स्वास्थ्य आपुर्ती केन्द्र बुटवलमा धेरैपटक पत्रचार गरे पनि उपलब्ध नभएको जिल्ला अस्पतालले जनाएको छ । कर्मचारी बुटवल पुगेर माग गर्दा पनि औषधि नपाएको अस्पतालका लेखा प्रमुख भीम अधिकारीले बताए ।

प्रदेश स्वास्थ्य आपुर्ती केन्द्र बुटवलका प्रमुख जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले संघीय सरकारबाट टेण्डर प्रक्रियामा ढिलासुस्ती भएकोले आपुर्ती नियमित हुन नसकेको बताए । जेठ दोस्रो सातासम्म बर्दिया अस्पतालमा निःशुल्क औषधि पठाइने उनले बताए ।

अस्पताल विकास समितिबाट खरिद गर्न पनि रकम नभएको अधिकारीले बताए । स्थानीय तहले वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई औषधि खरिदका लागि बजेट दिने गरे पनि अस्पतालमा नदिने गरेको उनले बताए ।  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully