नेपालगन्जको आवास बिमा कार्यक्रमले विपद् पीडितहरूलाई आर्थिक राहत दिन सफल भएसँगै अन्य पालिकाहरूले पनि यसलाई विस्तार गर्ने तयारी गरेका छन्।
नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जाबीको घर गत वर्षको भदौमा परेको अविरल वर्षाले भत्कियो । दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवार निकै तनावमा थियो ।
परिवारका सबै सदस्यले भागेर ज्यान जोगाएका थिए । साथमा साना बालबालिका थिए । त्यसमाथि फेरि घर बनाउन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्ता थियो । घर कसरी बनाउने भन्ने चिन्तामा रहेका उत्तमसिंहलाई नेपालगन्ज उपमहानगरपालिकाले लागू गरेको आवास बिमा कार्यक्रम सारथि बन्यो ।
राष्ट्रिय बिमा कम्पनीमार्फत गरिएको बिमाअन्तर्गत दुई लाख ३२ हजार ९ सय रुपैयाँ दाबी भुक्तानी पाएपछि पञ्जाबीको घर फेरि ठडिएको छ । बिमा रकम पाएपछि पञ्जाबी परिवारले खुसी व्यक्त गरे । ‘पहिले घरको बिमा किन गरिरहनुपर्यो र भन्ने लागेको थियो । घर भत्किएपछि पो थाहा पाइयो बिमाको महत्त्व । हाल त्यही बिमाका कारण ओत लाग्ने अवस्था बनेको छ । आवास बिमा कार्यक्रम विपद्को समयमा गरिब तथा न्यून आय भएका परिवारका लागि त ठूलो सहारा हुँदो रहेछ ।’
उनीलाई दुई लाख ३२ हजार ९ सयको चेक हस्तान्तरण गरिएको हो । राष्ट्रिय बिमा कम्पनी नेपालगन्ज शाखा प्रमुख नवीन पौडेलले नगर प्रमुख विष्टलाई चेक हस्तान्तरण गरेपछि नगरप्रमुख प्रशान्त विष्टले पहिलो लाभग्राहीका रूपमा उत्तमसिंह पञ्जाबीलाई चेक हस्तान्तरण गरे । देशमै पहिलो पटक आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो बिमा दाबी भुक्तानी हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख विष्टले दुई वडाबाट सुरु गरिएको कार्यक्रम हाल वडा नं ८ र ११ मा पनि विस्तार गरिएको र आगामी दिनमा सबै वडाका जोखिमयुक्त परिवारलाई यसमा समेट्ने योजना रहेको जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि वडा नं ३ र ७ मा आवास बिमा कार्यक्रम लागू गरेको छ । जोखिमयुक्त परिवारलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत हालसम्म एक सय ८४ परिवार यसमा आबद्ध भएका छन् । नगरप्रमुख विष्टले विपद् आएपछि राहत वितरण गर्नुभन्दा विपद् आउनुअघि नै सुरक्षाको आधार तयार गर्ने उद्देश्यसहित आवास बिमा कार्यक्रम लागू गरिएकामा हाल प्रभावकारी बन्दै गएको बताए ।
नेपालगन्जले सुरु गरेको यस्तो कार्यक्रमबाट प्रभावित हुँदै नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने तयारी गरेका छन् ।
विपद् फोकल पर्सन दीपेन्द्र श्रेष्ठका अनुसार प्राकृतिक विपद्, आगलागी, बाढी तथा अन्य जोखिमका कारण उच्च जोखिममा रहेका घरहरूको पहिचान गरी बिमा गरिएको हो । 'हामीले विशेष गरी जोखिमयुक्त क्षेत्रमा रहेका घरहरूलाई प्राथमिकतामा राखेर बिमा गरेका छौं, ताकि विपद् पर्दा स्थानीय बासिन्दाले आर्थिक राहत पाउन सकून्,' श्रेष्ठले भने, 'पहिला नागरिकले बिमा भनेपछि झन्झट मान्थे । हाल लाभ पाउन थालेपछि समुदायमा विश्वास बढ्दै गएको छ ।'
यहाँ बिमाको प्रिमियम रकम उपमहानगरपालिकाले बेहोर्ने गरेको छ भने क्षतिको अवस्थाअनुसार बिमितलाई १५ लाख रुपैयाँसम्म दिने व्यवस्था गरिएको छ ।
विपद् पूर्वतयारी र व्यवस्थापनमा सुपर कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवं सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद् पूर्वतयारी र प्रतिकार्यका लागि नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गर्दै विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गरिरहेको छ ।
क्षति आकलन गरी राष्ट्रिय बिमा कम्पनीबाट १५ लाखसम्मको बिमा कभर गरिन्छ । अहिले वडा नम्बर ८ र ११ मा पनि कार्यक्रम विस्तार गरिएको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
नेपालगन्जले सुरु गरेको बिमा कार्यक्रम नरैनापुर, कोहलपुर र खजुरा गाउँपालिकाले पनि यसै आर्थिक वर्षबाट कार्यान्वयन गर्ने बताइएको छ ।
यस कार्यक्रममार्फत नेपालगन्जलाई सुरक्षित र विपद् सहनशील सहर बनाउने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ । आगामी दिनमा थप वडाहरूमा विस्तार गर्दै सबै जोखिमयुक्त घरहरूलाई बिमाको दायरामा ल्याउने योजना रहेको छ ।
