बर्दियामा सूचनाकै आधारमा अतिक्रमण क्षेत्र खाली गरिँदै

वनको निर्देशनमा मधुवन–४ का बासिन्दाले आफैं घर टहरा भत्काउँदै स्थानान्तरण गर्न थालेका छन्, धेरैले नयाँ बासको खोजी गरिरहेका छन् ।

वैशाख ३०, २०८३

कमल पन्थी

Encroachment areas being cleared in Bardiya based on information

बर्दिया — वन, सुरक्षाकर्मी र डोजरको उपस्थितिविना मधुवन नगरपालिका–४ स्थित वन अतिक्रमित क्षेत्रमा बस्दै आएकाले घर, टहरा भत्काएर जान थालेका छन् । ०६२/०६३ सालदेखि मधुवन नगरपालिका–४ वेलवा चोकस्थित दुई वटा सामुदायिक वनको जग्गामा बस्दै आएका बासिन्दाले वनको सूचनाकै आधारमा घर, टहरा भत्काउँदै अन्यत्र स्थानान्तरण हुन थालेका छन् ।

चार दिनयता ४० बढी घरटहरा उनीहरूले भत्काउँदै अतिक्रमित क्षेत्र छाड्दै गएका छन् । डिभिजन वन कार्यालयका अनुसार अतिक्रमित क्षेत्रमा धेरैजसो लामो समयदेखि पसल सञ्चालन गरी बस्दै आएका थिए । डिभिजन वन कार्यालय, बर्दियाले गत वैशाख १४ गते १५ दिनभित्र वन क्षेत्र खाली गर्ने सूचना जारी गरेपछि वेलवा चोकस्थित वनको अतिक्रमित क्षेत्र स्वतःस्फूर्त रूपमा आफैँ खाली गर्न थालेको डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख विजयराज सुवेदीले जनाए । कतिपय पुरानो थलोमा गएका छन् भने केही वेलवा चोक आसपासका नम्बरी जग्गामा रहेका घर भाडामा लिएका छन् ।

Encroachment areas being cleared in Bardiya based on information

मधुवन–४ का चिया पसल सञ्चालक धनबहादुर चौधरीले घरटहरा भत्काउँदै पूर्वतर्फ नम्बरी जग्गामा भाडामा पसल सञ्चालन गर्ने बताए । २० वर्षदेखि व्यवसाय गर्दै आएकोमा सरकारको निर्देशनबमोजिम स्वतःस्फूर्त रूपमा घर भत्काउन लागेको उनले बताए । वेलवा चोकमा किसान सामुदायिक वन र रामनगर सामुदायिक वन पर्छ । यहाँको वन क्षेत्रमा ४२ वटा घर, टहरा वन अतिक्रमण गरी बनाएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए ।

कालीकोट मेलगुडी गाविसबाट संकटकालमा तत्कालीन माओवादीको त्रासले बर्दिया आएको पञ्चु बमले बताइन् । ‘पहाडमा केही छैन, अहिले वन क्षेत्र खाली गर्दा कहाँ जाने ठेगान छैन,’ उनले भनिन्, ‘सबैले घर भत्काउन लागेपछि हामीले पनि भोलि सुरक्षाकर्मीले बल प्रयोग गर्दा घरका सामान क्षति नहोस् भनेर भत्काउन लागेका छौँ ।’

वेलवा चोकमा वनको सूचनाका आधारमा अतिक्रमित क्षेत्र छाड्दै गएपछि मधुवनस्थित कोठियाघाट सामुदायिक वन क्षेत्रमा वर्षौँदेखि वन क्षेत्रको जग्गामा टहरा बनाई बसेका दुई घर खाली भएका छन् ।

वन क्षेत्रमा बसेर स्थानान्तरण भएकाको जग्गा ओराली बजारमा भएकोले उतै गएको कोठियाघाटका नन्दराम जैसीले बताए । ‘दुई घर छाडेपछि हाल २५ वटा घर, टहरा भएका यहाँका बासिन्दा ०२८ सालदेखि बसेका हुन्,’ उनले भने, ‘तत्कालीन जिल्ला पञ्चायत सचिवालय, वनका कर्मचारीलगायतले होटल र किराना पसल सञ्चालन गर्न अनुमति दिएका कारण बजार बसेको हो ।’

राजापुरको साबिक एघार गाविस जोड्ने एक मात्र कर्णाली नदीको भँगालो जलमार्ग कोठियाघाट थियो । दिनरात आउजाउ गर्दा खाना, नास्ता खाने होटल सञ्चालन गरेको कोठियाघाटकी होटल व्यवसायी ५५ वर्षीया कौशल्या देवी शाहीले बताइन् । अन्यत्र घरजग्गा छैन, वर्षात्, हावाहुरीको समयमा विस्थापित भए बस्ने ठाउँ नभएको उनले गुनासो पोखिन् ।

वास्तविक सुकुमवासीको पहिचान गरी अतिक्रमित क्षेत्र खाली गर्न स्थानीयले माग गरेका छन् । कोठियाघाटका गोविन्द दमईले वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन गर्न जरुरी रहेको बताए । अतिक्रमण हटाउँदा बालबालिका बिचल्लीमा पर्नुका साथै अध्ययन गर्न समस्या हुने उनले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले वैशाख १४ गते जारी गरेको १५ दिने सूचना अनुसार अतिक्रमण क्षेत्र वन ऐनअनुसार हटाइने बताए । पहिलो चरणमा कोठियाघाट, माचड र ओराली बजारको अतिक्रमण हटाएपछि क्रमशः अन्यत्र पनि सुरु गरिने उनले जनाए । कोठियाघाटमा २७, माचडमा ४२ र ओराली बजारमा १९ घर अतिक्रमण गरेको बस्ती हटाइने वनले जनाएको छ ।

Encroachment areas being cleared in Bardiya based on information

वन डिभिजन कार्यालयअन्तर्गत ६३ वटा सामुदायिक वनमा अतिक्रमण भएको अभिलेखमा उल्लेख छ । वन कार्यालयअन्तर्गत पुरानो तथ्यांक अनुसार २ सय ५८ वटा सामुदायिक वन अतिक्रमण भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

२ सय ९० दशमलव ९८ हेक्टर वन क्षेत्र अतिक्रमणको तथ्यांक भए पनि योभन्दा बढी भएको वनका कर्मचारी बताउँछन् । डिभिजन प्रमुख सुवेदीले पुरानो तथ्यांक भए पनि कम्तीमा १ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको जनाए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully