जिल्लाभर ५ विद्यालयका ६ जनाले चार जीपीए ल्याएका छन् ।
What you should know
गुल्मी — यहाँको चन्द्रकोट गाउँपालिका-१ दिब्रुङ सराङस्थित सारदा माध्यमिक विद्यालय दिब्रुङ सराङबाट रितिका गौतमले चार जीपीए ल्याइन् । पहिलोपटक एसईईमा यो विद्यालयबाट उनले चार जीपीए ल्याएकी हुन् ।
कक्षा ८ मा ३.८८ जीपीएसहित पालिका प्रथम, विद्यालयमा प्रत्येक शैक्षिक सत्रमा संचालन हुने शारदा तारा अन्तर्गत २०८१ मा शारदा साहित्य तारा र २०८२ मा शारदा तारा हुन सफल भएकी थिइन् । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा पनि उत्कृष्ट हुँदै आएकी थिइन् ।
पारिवारिक रुपमा भने २०७७ मा ६२ वर्षकै उमेरमा बुबा घनश्याम गौतमलाई गुमाउनुपरेको थियो । आमा तारादेवीसहित दाजुदिदीको सहयोगमा उनले आत्मबल भने गुमाइनन् । रितिका पढाइसँगै अन्य शैक्षिक गतिविधिमा पनि उत्कृष्ट रहेको दाजु श्रीराम गौतमले बताए ।
शारदा माविबाट रितिकाले नै पहिलोपटक चार जीपीए ल्याएको प्रधानाध्यापक रामप्रसाद अर्यालले बताए । एक जनाको चार जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको पनि उनले बताए ।
जिल्लाभर ५ विद्यालयका ६ जनाले चार जीपीए ल्याएकाे शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए । जसमा चन्द्रकोट गाउँपालिकाको शारदा मावि दिव्रुङ्ग सराङबाट रितिका गौतम, रेसुंगा नगरपालिकाका तम्घासस्थित महेन्द्र माविबाट अस्मिता पाण्डे र रेसुंगा माविबाट दिक्षा पोख्रेलले चार जिपिए प्राप्त गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाको रिडी माविबाट मर्यादा पौडेल, रेन्बो इग्लिस बोर्डिङ्ग स्कुलबाट आरुशा श्रेष्ट र खोमराज पन्थले चार जिपिए ल्याएका छन् ।
जिल्लाभर साधारणतर्फ कुल ३ हजार ३ सय ३९ विद्यार्थी सहभागी भएका थिए । जसमा ३ हजार २ सय ९३ जना उत्तीर्ण भएका छन् । यो जम्मा ६८.६८ प्रतिशत हो । साथै १ हजार ४६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
प्राविधिक तर्फ कुल २ सय ५९ विद्यार्थी सहभागी भएका थिए । जसमा १ सय ८२ जना पास भए । यो जम्मा ७०.२८ प्रतिशत हो । जसमा अनुत्तीर्ण ७६ जना भएका छन् ।
समग्रमा जिल्लाभर जम्मा ३ हजार ५ सय ९८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । जसमा २ हजार ४ सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् । यो जम्मा ६८.७८ प्रतिशत हो । सहभागीमध्ये १ हजार १ सय २२ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
