नुन बोक्ने ट्रकको माथिल्लो भागमा नुन र तल भन्सार छलीका सामान राखेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त सामान बरामद गरेको हो ।
नवलपुर — पूर्वी नवलपरासीको रजहरबाट प्रहरीले बिलबिजक नभएको ३२ लाख बराबरको सामान बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका-१६ स्थित रजहरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ८९९० नम्बरको ट्रक खानतलासी गर्दा लत्ताकपडा, मोबाइलका सामान र कफी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी अनिल पण्डितले बताए ।
नुन बोक्ने ट्रकको माथिल्लो भागमा नुन र तल भन्सार छलीका सामान राखेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार ४५० किलो कफी, ८८० थान मोबाइल एयरपड्स, २१ सय थान स्मार्ट वाच, १७ हजार ८७० थान मोबाइल टेम्पर्ड ग्लास, फाइबर ब्याग, कुर्ता सरवाल, जिन्स पाइन्ट, साडीलगायतका छन् । बरामद सामान र सवारीलाई महेशपुर भन्सार कार्यालय, पश्चिम नवलपरासी पठाइएको छ ।
