सवारीसाधनमा अनधिकृत रूपमा थपिएका सिट हटाउँदै ट्राफिक प्रहरी

सातायता राजमार्ग क्षेत्रमा चेकजाँच बढाउँदा १ सय ५० सवारीसाधनमा अनधिकृत रूपमा थपिएका सिट, टुल, कुर्सी र मुढा हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक राजन ढकालले बताए ।

वैशाख २२, २०८३

मनोज पौडेल

Traffic police removing unauthorized seats added to vehicles

What you should know

कपिलवस्तु — ट्राफिक प्रहरी कपिलवस्तुले दुर्घटना न्यूनीकरण गर्न महेन्द्र राजमार्गमा चल्ने भाडाका सवारीसाधनमा अनधिकृत रूपमा थपिएका सिटहरू हटाउन थालेको छ । 

क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा ‘एक्स्ट्रा सिट’ राख्ने कार्यका विरुद्ध निगरानी अभियान सुरु गर्दै त्यस्ता सिट हटाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

क्षमताभन्दा बढी यात्रु ओसारप्रसार गर्न सवारीसाधनमा अस्थायी वेल्डिङ गरेर जडान गरिएका सिट, टुल, मुढा र कुर्सी हटाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक राजन ढकालले बताए । 

सातायता राजमार्ग क्षेत्रमा चेकजाँच बढाउँदा १ सय ५० सवारीसाधनमा अनधिकृत रूपमा थपिएका सिट, टुल, कुर्सी र मुढा हटाइएको उनले बताए ।‘सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम बढ्छ,’ उनले भने, ‘यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अनाधिकृत कामलाई निरुत्साहित गर्न अभियान चलाइएको हो ।’ अनधिकृत संरचना थप्नेमा विङ्गर, हायस र ईभी गाडी मुख्य रहेको पनि उनले जानकारी दिए ।

क्षमताभन्दा धेरै यात्रु राखेर सवारीसाधन चलाउँदा सन्तुलन बिग्रिने, स्टेरिङ घुमाउन असहज हुने र आकस्मिक अवस्थामा सवारी नियन्त्रणभन्दा बाहिर जाने जोखिम रहने गरेको सवारी चालकहरू बताउँछन् । ‘सिटभन्दा बढी यात्रु राखेर सवारी चलाउँदा गाडी असन्तुलित हुन्छ,’ चालक श्याम थापाले भने, ‘यात्रु धेरै हुँदा भीडभाडले स्टेरिङ चलाउन पनि गाह्रो हुन्छ ।’

सवारीसाधनमा अत्यधिक भार हुँदा ब्रेक प्रणालीमा अतिरिक्त दबाब पर्ने, मोडमा सवारी ढल्किने र दुर्घटनाको सम्भावना बढ्ने ट्राफिक प्रहरीहरू बताउँछन् । अनधिकृत संरचनात्मक परिवर्तनले यात्रुको सुरक्षामा गम्भीर असर पार्ने भएकाले पहिलो चरणमा सचेतना र त्यसपछि कारबाहीको रणनीति अपनाइएको ट्राफिक प्रहरी निरीक्षक ढकालले बताए । यो अभियान नियमित रूपमा जारी रहने पनि ट्राफिक कार्यालयले जनाएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully