रमिते भीरबाट यात्रा गर्दा सधैं पीर

बहादुरपुर, बेतिनी, तल्लो बेतिनी, बाघमारा, ताकातुङ, आर्गीडाँडा, टोक्लोक्दी, किहुँडाँडा लगायत दर्जन बढी गाउँका बासिन्दाको व्यापार, व्यवसाय, उपचार गर्न हिँड्ने सडक यही हो ।

वैशाख २२, २०८३

माधव अर्याल

Always in pain while traveling through Ramite Bhir

What you should know

पाल्पा — माथागढी–८, बहादुरपुर देउरालीटोलकी रिमा रानाले गाउँबाट जल्पा र तानसेन आउजाउ गर्दा भगवानको नाम जप्छिन् । घरबाट निस्किेपछि पूर्वखोला गाउँपालिका–२, जल्पा अन्तर्गत ‘रमिते भीर’ को सम्झना आउँछ । महिनामा ८/१० पटक त्यही भीर हुँदै यात्रा गर्नुपर्छ । 

‘भीरको सडक पनि भिरालो छ,’ उनले भनिन्, ‘भिरालो सडकमा गिट्टी छन् ।’ यस्तो जोखिमयुक्त सडकमा कतिपय जिपले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको उनले बताइन् । 

उनी जस्तै स्थानीय पेमादेवी थापा पनि ‘रमिते भीर’ सम्झेर गाडीमा यात्रा गर्नै डराउँछिन् । तर, गाडी नचढी सुखै छैन । गाडी चढ्नका लागि जल्पा पुग्नै तीन घण्टा पैदल हिँड्नु पर्छ । ‘सडकमा जिप मात्र अट्छ,’ उनले भनिन्, ‘भीरतिर हेर्दा त रिंगटा लाग्छ ।’ डरलाग्दो भीरमा कतिपय छतमा बसेर यात्रा गर्छन् । 

सात वर्षअघि तानसेनस्थित मिसन अस्पतालबाट सुत्केरीलाई घर लैजाँदै गर्दा यही सडकमा भएको दुर्घटनाले सबैलाई झस्काउने गर्छ । भीरबाट जिप खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको थियो । बहादुरपुरका एक दर्जन बस्तीका बासिन्दा यही भीर भएर आउजाउ गर्छन् । ‘रमिते भीर’ डरलाग्दो रहेको बगनासकाली–७, खानीगाउँका पदम गैरेले सुनाए । भीरको बीच भागमा पुगेपछि खतरा रहेको उनले बताए । 

‘आँखा चिम्म गरेर भगवान‍्को नाम लिँदै यात्रा गर्नुपर्छ,’ उनले भने, ‘साँघुरो सडकमा नेताको आँखा नपुगेको जस्तो लाग्यो ।’ २०५५ सालबाट तानसेनदेखि आर्यभन्ज्याङ हुँदै हुमीन–जल्पा–बहादुरपुर सडक खन्न सुरु गरिएको थियो । यहाँ एक किलोमिटर सडक छ । गेग्रानसहितको सडक डरलाग्दो छ । माथागढी–८ का वडाध्यक्ष दिलबहादुर ढेंगाका अनुसार २०६४ सालमा बल्ल सडकको ट्रयाक खुलेको हो । ‘ट्रयाक खुले पनि स्तरोन्नतिमा ध्यान पुगेन,’ उनले भने, ‘प्रायः सबै राजनीतिक दलका नेता, सांसदलाई गुहारियो । तर, बजेट विनियोजन भएन ।’ २०७४ बाट वडाध्यक्ष रहेका ढेंगाले साबिक जिल्ला विकास समिति, प्रतिनिधिसभाका सांसद, राजनीतिक दलका नेताहरूलाई चहार्दा चहार्दा दिक्क लागेको बताए । Always in pain while traveling through Ramite Bhir

पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत बहादुरपुरमा फरक राजनीतिक दलमा आस्था राख्नेको बाहुल्य भएकाले पनि सांसदले बजेट विनियोजन नगरेको स्थानीयले बताए । ‘गाउँका बासिन्दा र सांसदबीच फरक पार्टी भएकाले पनि वास्ता भएन,’ एक स्थानीयले भने, ‘त्यसैले यहाँका जनता २०६४ अघिसम्म सडक पहुँचमा पुग्नै पाएनन् । छिमेकी गाउँमा विभिन्न तरिकाले बजेट विनियोजन हुन्थे । तर हाम्रो सडकलाई कहिल्यै बजेट परेन ।’ यहाँ २०७४ पछि स्थानीय तह माथागढी गाउँपालिकाले धेरैथोरै बजेट विनियोजन गर्न थालेपछि बल्ल नियमित जिप संचालन भएको हो । 

बहादुरपुर, बेतिनी, तल्लो बेतिनी, बाघमारा, ताकातुङ, आर्गीडाँडा, टोक्लोक्दी, किहुँडाँडा लगायत दर्जन बढी गाउँका बासिन्दाको व्यापार, व्यवसाय, उपचार गर्न हिँड्ने सडक यही हो । सामान्य काम पर्दासमेत यही सडक भएर यात्रा गर्नुपर्ने स्थानीय गुनबहादुर ढेंगाले बताए । ‘तर सडकको अवस्था सम्झँदा भने ज्यान नै सिरिङ्ग हुन्छ,’ उनले भने, ‘खै कोही नेताको ध्यान नपुगेर हो वा बजेट विनियोजन नगरेको हो, बुझ्न सकिएन ।’ सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भए पनि फिर्ता हुने, निर्माण व्यवसायीले काम नगर्ने अर्को समस्या छ । 

आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । तर अप्ठ्यारो भीर छाडेर अन्यत्र काम भयो । गत वर्ष स्थानीय पूर्वधार विकास आयोजना कार्यालय बुटवलबाट १ करोड बजेट विनियोजन भएको थियो । तर, एक रुपैयाँको पनि काम भएन । आयोजना कार्यालयका सूचना अधिकारी राजु थापा मगरका अनुसार ठेक्का लिएको कम्पनीले साइट हेरेर काम गरेन । दोस्रो, व्यवसायीले सम्झौता गरे पनि कामै नगरीकन बजेट फिर्ता गरायो । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको ३२ लाख बजेट छ । अहिलेसम्म काम सुरु गरेको छैन ।

‘निर्माण व्यवसायीले सजिलो क्षेत्रमा काम गर्ने तर अप्ठ्यारो देख्नेवित्तिकै नगर्ने समस्या छ,’ माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले भने, ‘अघिल्लो वर्ष धेरै प्रयास गरियो तर काम गराउन सकिएन ।’ यस क्षेत्रमा भीर र चट्टान रहेकाले व्यवसायीहरू पन्छिने काम गरिरहेको उनले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully