विशेष सूचनाका आधारमा गोदामा राखिएको ४३ लाख २१ हजार ४ सय रुपैयाँ बराबरका हुक्का र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको हो ।
भैरहवा — बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित एक गोदाममा छापा मारेर रुपन्देही प्रहरीले ठूलो परिमाणमा हुक्का (भेप) बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा गोदामा राखिएको ४३ लाख २१ हजार ४ सय रुपैयाँ बराबरका हुक्का र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको हो । प्रहरीले सोही ठाउँबाट ३५ वर्षीया पिंकु जयसवाललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका जयसवालसहित बरामद सामानबारे थप अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार बरामद सामग्रीमा १ सय ५७ थान हुक्का र त्यसमा प्रयोग हुने कोइला १ हजार ४ सय २२ र हुक्कामा प्रयोग हुने फ्लेवर ५ सय ५२ थान छ । हुक्का सेट १ सय ६० पिस, हुक्का बेस ३३ पिस, हुक्काको एअर बलर ४५, पाइप ६ सय, प्लाउट १ सय, चिलिम ७ सय र हुक्का हिटर २२ थान बरामद गरिएको डीएसपी चन्दले बताए ।
