विभिन्न समूहले दाङमा फरक-फरक तरिकाले आन्दोलन गरिरहेका छन् । एक समूहले घोराहीको भानु चोकमा प्लेकार्डसहित प्रदर्शन गरेको थियो भने अर्को समूहले तुलसीपुरमा कालोपट्टी बाँधेर मौन प्रदर्शन गर्यो ।
दाङ — पानीका बीच भूमिहीन, सुकुमवासी, मुक्त कमैया र अव्यवस्थित बसोबासीले सोमबार दाङका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
घोराहीमा प्रदर्शन गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर नाराबाजी गरेका थिए । ‘डोजर आतंक बन्द गर्, भूमिहीनको वैज्ञानिक व्यवस्थापन गर्’ लगायतका नारा लगाउँदै उनीहरूले बजार परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पुगेर सरकारको ध्यानाकर्षण गराएका थिए ।
विभिन्न समूहले दाङमा फरक-फरक तरिकाले आन्दोलन गरिरहेका छन् । एक समूहले घोराहीको भानु चोकमा प्लेकार्डसहित प्रदर्शन गरेको थियो । यसैगरी तुलसीपुरमा कालोपट्टी बाँधेर मौन प्रदर्शन भएको छ । सुकुमवासीबारे सरकारी निर्णयको विरोधमा प्रदर्शन भएको हो । उनीहरूले गरिवलाई विकल्पबिना बस्तीबाट हटाउन नहुने माग गरेका थिए ।
अतिक्रमित जग्गा खाली गर्न जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेपछि त्यसको विरोधमा दिनहुँजसो प्रदर्शन भैरहेको छ । वैशाख १५ मा स्थानीय तहका प्रतिनिधिहरूको सहभागितामा भएको बैठकपछि जिल्ला प्रशासन कार्यालयले अतिक्रमित जग्गा खाली गर्ने सूचना जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरूको बैठकले अतिक्रमित अवैध संरचना तत्काल हटाउने निर्णय गरेको थियो ।
