जलजला जिप दुर्घटनाः रुकुम पूर्वका ४ जनाको दाहसंस्कार, ६ जनाको शव आफन्तको पर्खाइमा

दुर्घटनामा २० जनाको ज्यान गएको थियो । तीमध्ये युवा बुढाथोकीका १४ आफन्त र परिवारका सदस्यको घटनास्थलमै ज्यान गएको हो । श्रीमती र छोरासँगै ६ जनाको शव बुझ्न युवाका श्रीमान‍् दीपक अमेरिकाबाट घर फर्किरहेका छन् ।

वैशाख १९, २०८३

महेश केसी

Jaljala jeep accident: 4 people from Rukum East cremated, bodies of 6 others awaiting relatives

What you should know

रुकुम पूर्व — रोल्पाको जलजला जिप दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ शव परिवारको जिम्मा लगाउन बाँकी छ । आफन्त आउने प्रतीक्षामा जिल्ला अस्पतालमा ती शव राखिएको छ । 

बिहीबार भएको दुर्घटनामा रुकुम पूर्वकी युवा बुढाथोकी र उनका १० वर्षीय छोरा दिब्यानको मृत्यु भएको हो । यससँगै युवाका अमेरिकामा रहेका जीवनसाथी र दिव्यानको बाबा भेट्ने सपना सधैंका लागि टुँगियो । दुर्घटनामा २० जनाको ज्यान गएको थियो । तीमध्ये घर र माइतीतर्फका गरी युवाका १४ आफन्त र परिवारका सदस्यको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमती र छोरासँगै ६ जनाको शव बुझ्न युवाका श्रीमान दीपक अमेरिकाबाट घर फर्किरहेका छन् । जिल्लास्थित परिवार र उनका आफन्तजन अहिले विक्षिप्त छन् । उनीहरूको पीडाको कुनै सीमा छैन । दुर्घटनामा परेर युवा र उनका छोरासँगै सासूआमा तिलकुमारी बुढाथोकी, देवर गोर्खबहादुर वीसी, कान्छीसासू ओमकुमारी बुढाथोकी, उनका छोरा सुदीप र छोरी सृजना बुढाथोकीको मृत्यु भएको हो । सृजनाको शव सल्यानस्थित आफन्तले बुझिसकेका छन् । अमेरिकाबाट आइपुगेपछि दीपकले बाँकी ६ शव बुझेर अन्त्येष्टि गर्ने परिवारले जनाएको छ । 

आफ्नी जहान, कान्छो छोरा, जेठी बुहारी र नातिसँगै कान्छी भाइबुहारी र नातिनातिना गुमाएका युवाका ससुरा नरेन्द्रबहादुर शोकमा छन् । ‘छोराले नाति र बुहारीलाई अमेरिका बोलाएको थियो,’ नरेन्द्रले भने, ‘वैशाख २० गते रुकुमकोटबाट काठमाडौं पुगेर २८ गते अमेरिका उड्ने तयारी थियो ।’ भगवानले आफूमाथि अन्याय गरेको उनले बताए । रुदाँरुँदा आँशु सकिएर उनका परेला ओभाना भइसकेका छन् । ‘पति भेट्न जाने तयारी गरेकी बुहारीको शव बुझ्न छोरा आउनुपर्ने भयो,’ उनले भने, ‘ममाथि दैव खनियो । मेरो त सबै सकियो !’ युवाका श्रीमान दीपक शुक्रबार साँझ अमेरिकाबाट नेपालतर्फको यात्रामा छन् । 

आइतबार रातीसम्म घर पुगेपछि सोमबार परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गर्ने तयारी रहेको आफन्त जीवन खड्काले जानकारी दिए । एकै परिवारका यी ६ बाहेक दुर्घटनामा परेर ज्यान गुमाएका रुकुमकोटका ३ र भूमेका एक जनाको शनिवार नै अन्त्येष्टि गरिएको छ । युवाका माइतीपट्टिका ९ जनामध्ये ७ जनाको शव दाङ र २ जनाको शव लमजुङ पुर्‍याइएको छ । घटनामा दाङमा बसोबास रहेकी युवाकी आमा द्रुपती जीसी, बाबा यमबहादुर जीसी, भाउजू तिला विष्ट जीसी र भाउजूका छोरा जेनिस र छोरी जेनिसा तथा आफन्त धनमाया विष्टका साथैं लमजुङ बिहे गरेर गएकी बहिनी एलिसा जीसी र उनका छोरा संयोग थापाको ज्यान गएको हो । 

अन्य मृतकमा जीप चालक दाङका वेदुराम विक र उनकी सासू रुकुमकोटकी मीना विक तथा रुकुमकोटकै लक्ष्मी शाह, रुक्मिना बस्नेत र भूमेका टेकप्रसाद बुढा छन् । शनिबार नै मीना, लक्ष्मी र रक्मिनाको सानीभेरी नदीमा सामूहिक र टेकप्रसादको भूमेमा दाहसंस्कार गरिएको छ । शुक्रबार परेको चण्डी पूर्णिमाका दिन जलजलामा विशेष पूजाअर्चनामा सहभागी हुन युवाको परिवार बिहीबार गाडी रिजर्व गरेर जाँदै गर्दा दुर्घटनामा परेको हो । जम्मा २१ जना सवार जिपबाट समिर कामी मात्रै छतमा बसेकाले बाँच्न सफल भएका थिए । सामान्य उपचारपछि समिर त्यसै दिन घर फर्किसकेका छन् । 

पानी परेर सडक चिप्लो भएको र भिरालो सडकमा गाडी एक्कासि ‘ब्याक’ भएपछि चिप्लिएर भिरबाट खसेको समिरले बताए । ‘एक्कासि गाडी पछाडि सर्‍यो अनि केही सोच्न नपाउँदै गाडीले सडक छोड्यो,’ उनले भने, ‘म हुत्तिएर भुइँमा बजारिएँ अनि रुख समातेर ज्यान बचाएँ ।’ आफूले हेर्दा गाडीको कुनै नामोनिसान नदेखेको उनले बताए । ‘केही सेकेन्डमै यो सब भयो,’ उनले भने, ‘त्यस बेला केही सोच्नै सकिएन ।’ 

दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले बिहीबार सचिवस्तरको निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएकामा शनिबार त्यो समय सकिएको छ । पहाडी र हिमाली भेगका स्थानीय रुटमा चल्ने सवारी साधनमा जथाभावी यात्रु तथा माल–सामान हाल्ने गर्नाले यसप्रकारका कहालीलाग्दा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । रुकुम पूर्वका नागरिक अगुवा उदय केसी प्रहरीले सवारी संचालनको अवस्थाबारे कडाइ गर्नुपर्ने बताउँछन् ।

‘बाटो–बाटोमा प्रहरी पोस्ट र ट्राफिक छन्, उनीहरूले कुनै पनि सवारी साधन प्राविधिक दृष्टिले कमजोर र ओभरलोड भएको खण्डमा संचालन गर्नै नदिनुपर्ने हो,’ उनले भने, ‘तर यस्तो बेलामा पनि चिट काटेर छोड्ने गरिएको छ । यसरी त जोखिम कम हुँदैन । किनकि, ट्राफिकको काम राजस्व संकलन भन्दा पनि सुरक्षा दिनु हो ।’ रुकुम पूर्वका प्रहरी प्रमुख खुमानन्द पाण्डेले बिहीबार रुकुमकोटबाट जलजलातर्फ रिजर्वमा गएको जिपको क्षमता १३ जनासम्मको रहेको बताउँदै त्यसैअनुसार सबै ठाउँमा इन्ट्री गरेको दाबी गरे । प्रहरीलाई नै छलेर क्षमताभन्दा धेरै मान्छे जिपमा राखेको उनको भनाइ छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully