आयातित केसहरूका कारण सरकारी लक्ष्य चुनौती बनेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विश्वनाथ न्यौपानेले बताए । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि हुने गरेको उनले सुनाए ।
What you should know
पाल्पा — सन् २०२४ मा पाल्पाको पूर्वखोला गाउँपालिका–३, रिङनेरहमा औलो (मलेरिया) का बिरामी फेला परेयता अहिलेसम्म स्थानीय बिरामी फेला परेका छैनन् । तर सरकारको लक्ष्यमा भने चुनौती थपिएको छ । कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको औलो पोजेटिभ आयातित नभई स्थानीयस्तरमै लामखुट्टेको टोकाइबाट भएको पुष्टि भएपछि चुनौती थपिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार सात वर्षपछि स्थानीयस्तरमा लामखुट्टेको टोकाइबाट मलेरिया पोजेटिभ देखिएको थियो ।
औलोका बिरामी विगतमा भारतलगायत तेस्रो मुलुकबाट आयातित थिए । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईका अनुसार स्थानीयस्तरमै देखिएको धेरै वर्षपछिको हो । तर यसले सरकारी लक्ष्यलाई भने चुनौती थपेको छ ।
संक्रमित किशोरलाई ज्वरो आएर स्थानीय स्वास्थ्य चौकीमा आरडीटी गर्दा मलेरिया पोजेटिभ देखिएको उनले बताए । स्वास्थ्य कार्यालय लगायत ३२०४० मा एसएमएस गरेपछि उनको पुनः जाँच गरिएको थियो । ल्याब टेक्निसियन अधिकृत भट्टराईका अनुसार माइक्रोस्कोपीबाट पुनः जाँच गर्दा पुष्टि भएपछि केस बेस सर्भिलेन्स गर्नु परेको थियो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जिल्लामा पछिल्ला दुई वर्षमा परीक्षणको दरमा वृद्धि गरिएको बताए । तर स्थानीय औलो भने भेटिएको छैन । सरकारले सन् २०२५ मा स्थानीय औलो रोगलाई शून्यमा झार्ने लक्ष्य पूरा नभएपछि सन् २०२६ सम्मको मिति सारिसकेको उनले बताए । किटद्वारा गरिने द्रूत (आरडीटी) परीक्षणमा आर्थिक वर्ष २०८०/८१ मा ४ हजार २ सय ७६ जनाको रगत परीक्षण गरिएकामा ४ जनामा सङ्क्रमण देखिएको थियो ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ मा परीक्षणको दायरा बढाएर ५ हजार १ सय ७५ पुर्याउँदा ११ जनामा औलो पुष्टि भएको उनले बताए । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म ३ हजार १ सय ८४ जनाको परीक्षण भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा दुई जनामा सङ्क्रमण फेला परेको निमित्त प्रमुख पोखरेलले बताए । विगत तीन वर्षमा फेला परेका मध्ये २० जना सङ्क्रमित आयातित बिरामी हुन् । पाल्पामा आफ्नै भूगोलभित्र लामखुट्टेले टोकेर एक व्यक्तिबाट अर्कोमा सर्ने स्थानीय औलोको दर पछिल्ला दुई वर्षयता भने शून्य रहेको छ ।
आयातित केसहरूका कारण सरकारी लक्ष्य चुनौती बनेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विश्वनाथ न्यौपानेले बताए । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि हुने गरेको उनले सुनाए । ‘हरेक वर्ष खोज पडताल, स्वास्थ्य जाँच हुने गरेको छ,’ उनले भने, ‘मलेरियाबाट पछिल्ला वर्षमा कुनै पनि बिरामीको मृत्यु भएको छैन ।’
औलो रोग एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । कामज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु र पसिना आएर ज्वरो निको हुनु यसका प्रमुख लक्षण रहेको निमित्त प्रमुख पोखरेलले बताए । समयमै उपचार नभए यसले कलेजो, फियो र मस्तिष्कमा गम्भीर असर पुर्याउने गर्छ । ज्वरो आउनासाथ रगत परीक्षण गराउनुपर्ने ल्याब टेक्निसियन भट्टराईको सुझाव छ ।
सबै सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण र औषधि निःशुल्क उपलब्ध रहेको छ । उनका अनुसार आवतजावत, बसाइँसराइ, सवारी साधनले पनि त्यस्ता रोग ल्याउने गरेका छन् । जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गरेको ल्याब टेक्निसियन अधिकृत भट्टराईले बताए । उनका अनुसार औलोबाट बच्न हात–खुट्टा छोप्ने गरी पूरा बाहुला भएको लुगा लगाएर हिँड्ने, शरीरको खुला भागमा किटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घर, गाउँ, समुदाय सफा राखी लामखुट्टे हुर्किन नदिने र घरवरिपरि पानी जम्ने खाडल पुर्ने गर्नुपर्छ ।
