जिल्ला अस्पताल रोल्पा आउने बिरामीमध्ये सानैमा बिहे गरेर बच्चा जन्माएका र धेरैपटक गर्भपतन गराएका महिलाको संख्या बढी छ ।
What you should know
रोल्पा — रोल्पा अस्पतालमा बिरामी भएर आउने महिलाले हत्तपत्त आङ (पाठेघर) को समस्याबारे बताउन चाहँदैनन् । तर अति नै समस्या परेमा भने त्यसबारे आधाआधी महिलाले मात्रै आफ्नो समस्याबारे भन्ने गरेका छन् ।
अस्पतालका चिकित्सकहरु भन्छन्, ‘महिनावारी, आङ खस्ने समस्या र यौन समस्याबारे लजाउने कारणले महिलाहरुले सही समस्या बताउने गरेका छैनन् ।’
रोल्पा अस्पतालका चिकित्सक डा निरज घर्तीमगरले अस्पतालसम्म आइपुग्ने महिला बिरामीमध्ये थोरैले मात्रै आफ्नो खास समस्या बताउने गरेको बताए । ‘ठूलै समस्या नभएसम्म पीडा सहेरै बस्ने बानी छ । अति नै भएमा मात्रै अस्पतालसम्म आइपुग्ने अर्को समस्या छ । त्यसो गर्दा कतिपय संक्रामक रोगले झनै सताइसकेको हुन्छ,’ उनले भने । उनका अनुसार महिलामा हुने यौन रोगले भित्रभित्रै सताए पनि संक्रमणबाट जोगिने उपायहरुबारे बिरामीमा थोरै मात्र ज्ञान भएको पाइएको छ । खासगरी पाठेघरमा हुने घाउ र त्यसको उपचारका बारेमा भने निकै थोरै ज्ञान छ । सुरुमा देखिने पाठेघरको घाउको दागको उपचार नगरेमा क्यान्सर हुने प्रबल सम्भावना रहन्छ ।
पाठेघरको घाउ भइसकेका बिरामीले बेलैमा आफ्नो समस्या भन्न सके उपचार पनि चाँडै हुने डा घर्तीमगरको धारणा छ । उनी भन्छन्, ‘सानो समस्या भएमा पनि अस्पतालमा आउने अनि आफ्नो खास समस्या भन्न सकेमा उपचार सजिलो छ । विशेषज्ञको हेरचाहमा उपचार गरेमा क्यान्सर हुनबाट जोगिन सकिन्छ । यसबारे सबैमा ज्ञान हुन आवश्यक छ ।’
तर अस्पतालमा आउने बिरामीमध्ये सानैमा बिहे गरेका, सानैमा बच्चा जन्माएका र धेरै पटक गर्भपतन गराएका महिलाको संख्या नै बढी छ । २० वर्षअघि नै बिहे गरेका र बच्चा जन्माएकामा पाठेघर संक्रमणको समस्या देखिएको छ । त्यस्ता समस्या भएका महिलाहरुको प्रारम्भिक जाँच रोल्पा अस्पतालमा गर्दै आएको डा घर्तीमगरले बताए ।
पाठेघरमा क्यान्सर हुनु अघि नै जाँच गराउन सकेमा पाठेघर स्वस्थ राख्न सकिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार भीआईए परीक्षण (पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन गरिने एउटा सरल र सस्तो जाँच) बाट पाठेघरमा हुने संक्रमण रोक्न सकिन्छ । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार पाठेघरमा समस्या भएका महिलाहरुको पहिचान र उपचारमा बर्सेनि दिने गरिएको छ । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको उपचारमा सघाउने कार्यक्रम पनि जिल्लामा सञ्चालित छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी अरुण भिटु उपाध्यायले चालु आर्थिक वर्षमा पाठेघरको मुखमा क्यान्सर भएको सम्भावना भएका ३० देखि ४९ वर्षका ३ सय ६९ र ५० वर्षभन्दा माथिका १ सय १३ जना महिलामा जाँच गरिएको छ । तीमध्ये ६ जनामा संक्रमण देखिएको छ । यस्तै स्तन क्यान्सर भएको आशंकामा ४० वर्ष मुनिका ३ सय ५३, ४० देखि ७० वर्षका १ सय २२ र ७० वर्ष माथिका ६ जनामा जाँच गरिएको छ । सुत्केरी व्यथा लाग्दा समयमै उपचार नपाएर हुने समस्या (अब्सट्रेटिक फिस्टुला) का ४ सय ८० विरामीको पनि जाँच गरिएको छ । तीमध्ये ३ जनाको अप्रेसन गरिएको थियो ।
सबैभन्दा ठूलो समस्या भने पाठेघर वा आङ खस्ने समस्या देखिएको छ । आङ खस्ने समस्या भएका ५ सय ७४ महिलामा जाँच गरिएको छ भने १ सय ३ जनामा चौथो चरणसम्मको समस्या भोगिरहेको तथ्य फेला पर्यो । ती सबैमा रिङ लगाएर उपचार गरिएको सूचना अधिकारी उपाध्यायले बताए । एक जनाको अप्रेसन नै गर्नुपरेको थियो ।
निःशुल्क शिविर
गाउँमा पनि महिलाहरुमा पाठेघरसम्बन्धी समस्या देखिएपछि पश्चिमी रोल्पाको नुवागाउँस्थित स्वास्थ्य चौकीमा गत वैशाख ४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । उक्त शिविरमा १ सय ५५ महिलाको स्वास्थ्य जाँच गरिएकोमा अधिकांशमा पाठेघरको संक्रमण देखिएको पाइएको थियो ।
महिलाको समस्याबारे जानकारी पाएपछि शिविर नै आयोजना गर्नुपरेको त्रिवेणी गाउँपालिका–२ स्थित नुवागाउँ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष लोकबहादुर डाँगीले बताए । उनका अनुसार महिला स्वास्थ्य शिविरमा निःशुल्क जाँच गराएका १ सय ५५ महिलाहरु खुशी भए । उनले भने, ‘धेरै महिलाहरुले रोग लुकाइराखेको अवस्था थाहा भयो । धेरै महिलाको पाठेघर र पेट सम्बन्धी रोग पत्ता लाग्यो ।’
शिविरमा दाङ घोराहीस्थित बासुकी स्वास्थ्य क्लिनिकबाट बरिष्ठ स्त्री रोग विशेषज्ञ डा प्रवीण योगीसहितको टोली नुगागाउँमा आएको थियो । दिनभर बिरामी जाँचेका डा योगीले कम उमेरका महिलाको पाठेघरमा संक्रमण भएको पाइएको बताए । ‘सानो उमेरमा बिहे गर्ने, सानैमा बच्चा जन्माउने र यौनांगको स्वास्थ्यप्रति ध्यान नदिने कारणले महिलाको पाठेघरमा समस्या देखिएको हो । बेलैमा उपचार पाए सन्चो हुन्छ,’ डा योगीले भने ।
