उच्च अदालत बुटवलमा ‘भिडियो कन्फेरेन्सिङ’ बहस सुरु

मंगलबार काठमाडौंबाट कानुन व्यवसायीले भिडियो बहस गरेपछि न्यायाधीशले गरे मुद्दाको फैसला ।

वैशाख १५, २०८३

घनश्याम गौतम

'Video conferencing' debate begins at Butwal High Court

What you should know

बुटवल — उच्च अदालत तुलसीपुर बुटवल इजलासले श्रव्यदृश्यमार्फत इजलासमा बहस सुरु गरेको छ । बुटवल इजलासमा त्यस्तो अभ्यास गरिएको हो ।

उच्च अदालतको बुटवल इजलासमा मंगलबार हक कायम दुषित दोहोरो दर्तासमेतका ५ थान मुद्दामा बहस भएर आदेशसमेत भएको छ । उच्च अदालत बुटवलका मुख्य न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता तीर्थराज बस्यौला र अधिवक्ता वर्षा भट्टराईले ‘भिडियो कन्फेरेन्सिङ’मार्फत बहस गरेका थिए । उनीहरू दुवै जनाले काठमाडौं जिल्लाबाट सहभागी भएर बहस गरेको अदालत प्रशासनले जनाएको छ ।

काठमाडौंबाट बहसमा सहभागी भएकी अधिवक्ता वर्षा भट्टराईले उच्च अदालत तुलसीपुर बुटवल इजलासले ‘भिडियो कन्फेरेन्सिङ’सम्बन्धी गत चैत २५ गते नै सूचना जारी गरेर जानकारी गराएको र आफूहरूले सोमबार त्यसका लागि निवेदन दिएर मंगलबारको बहसमा काठमाडौंबाटै सहभागी भएको बताइन् ।

‘यसलाई न्याय क्षेत्रको इतिहासमा प्रविधिको फड्को नै मान्न सकिन्छ,’ उनले भनिन्, ‘बहस पैरवी मात्र नभएर बकपत्र, थुनछेक बहस लगायतमा पनि भिडियो कन्फेरिन्सिङ प्रविधि ठूलै उपलसब्ध र उपयोगी हुनेछ ।’ यसले विदेशमा भएको विपक्ष वा साक्षीका लागिसमेत उपलब्धिमूलक हुने उनले बताइन् । ‘यो निकै राम्रो सुरुवात हो,’ उनले थपिन् ।

उच्च अदालत बुटवलका सूचना अधिकारी थिरेन्द्रकुमार सुवेदीका अनुसार 'भिडियो कन्फेरेन्सिङ'बाट भएको बहस पैरवीपछि वादी नवलपरासीको भृकुटी बहुउद्देश्यीय सहकारी संस्था र प्रतिवादी प्रेमचन्द्र तेली र मन्तिरप्रसाद तेली रहेको हक कायमसम्बन्धी मुद्दामा नवलपरासी जिल्ला अदालतबाट २०८२ जेठ १२ मा भएको फैसला सदर गरेको छ । उच्च अदालतबाट पहिलो पटक श्रव्यदृश्यमार्फत बहस पैरवी गरेर मुद्दाको फैसला गरेको बताए ।

‘यसले मुद्दाको बहस पैरवीमा सेवाग्राही, मुद्दाका पक्ष, कानुन व्यवसायी लगायतका व्यक्तिलाई सहज र सुविधा भएको छ,’ उनले भने, ‘मुद्दाको नियमित सुनुवाइका लागि समेत सहयोग पुग्नेछ ।’ यसअघि यस्तो सुविधा अभावमा कानुन व्यवसायीले समय दिन नसक्दा मुद्दाका पेसी सार्नुपर्ने बाध्यता भए पनि अब त्यस्तो अवस्था न्यूनीकरण हुने उनले बताए । मुद्दाका बहस पैरवीमा ‘भिडियो कन्फेरेन्सिङ’ निरन्तर चल्ने उच्च अदालतले जनाएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully