पालिकाको १६ लाख अनुदान दुरुपयोग, सुपथ मूल्य पसल बन्द

सुपथ मूल्य पसल बन्द हुँदा सरकारी अनुदान मात्रै दुरुपयोग भएको छैन, सहकारीमा बचतकर्ताको लाखौं रुपैयाँसमेत खेर गएको छ ।

वैशाख १४, २०८३

गगनशिला खड्का

Municipal grant misused, fair price shops closed

What you should know

गुल्मी — गाउँपालिकाबाट १६ लाख अनुदान लिएर धुर्कोटमा खोलिएको सुपथ मूल्य पसल बन्द भएको छ । मैत्री सहकारी संस्थाले धुर्कोट गाउँपालिकाको केन्द्र बरबोटमा खोलेको सुपथ मूल्य पसल गत असोजदेखि बन्द भएको हो । 

धुर्कोट गाउँपालिकाका जनतालाई सुपथ मूल्यमा खाद्यान्न तथा किराना सामान उपलब्ध गराउने भन्दै २०७६ सालमा पसल स्थापना गरिएको थियो । पसल स्थापनाका लागि धुर्कोट गाउँपालिकाले २०७५ सालमा १६ लाख रुपैयाँ अनुदान दिएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए । ‘पालिकाबाट १६ लाख अनुदानमा संरचना बनाइदियौं, सहकारीले जग्गा र सामान लगायतमा थप लगानी गरेर पसल खुलेको हो,’ पोखरेलले भने । 

तत्कालीन समयमा धुर्कोट गाउँपालिकाको केन्द्रमा सबै सामान उपलब्ध हुने पसल नभएको कारण देखाउँदै पालिकाले अनुदान दिएर सुपथ मूल्य पसल स्थापना गरेको थियो । तर सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध नभएपछि उपभोक्ताले सदरमुकाम तम्घासलगायत टाढाका बजारबाट सामान किन्न बाध्य भएका थिए । महँगो भएका कारण उपभोक्ता जान छाडेपछि मैत्रीमा किनेको सामान बिग्रने, कुहिने र म्याद गुज्रने हुन थाल्यो । अनुगमनका क्रममा धेरै पटक म्याद गुज्रेका सामान भेटिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ । 

‘गत वर्ष असोजमा गरिएको अनुगमनमा मात्रै १ लाख १४ हजारभन्दा बढी मूल्यका सामान नष्ट गरिएको थियो, त्यसभन्दा अघिल्लो वर्ष पनि ४५ हजारभन्दा बढी मूल्यको म्याद गुज्रेको सामान भेटिएको थियो,’ अनुगमनमा संलग्न घरेलु कार्यालयका कर्मचारी त्रिविक्रम ज्ञवालीले भने । 

पसलमा सबैजसो सामान म्याद गुज्रेको भेटिएकाले सिलबन्दी गर्ने तयारी भए पनि माथिबाट दबाब आएपछि रोकिएको अनुगमनमा संलग्न धुर्कोट गाउँपालिकाका एक कर्मचारीले बताए । ‘मैत्रीमा सबैजसो सामान म्याद गुज्रेको थियो तर केही सामान लिएर जरिवानासमेत नगरी टोली फर्कियो,’ ती कर्मचारीले भने । 

त्यतिबेला सिलबन्दी गर्न रोकिए पनि सोही अनुगमनपछि पसल बन्दजस्तै भएको धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले बताए । ‘पहिला राम्रै चलेको थियो तर पछि निजी क्षेत्रका पसलहरू खुलेपछि उनीहरूले कुनै बस्तु सस्तोमा दिन थाले, सहकारीले घाटा खाने कुरा भएन अनि प्रतिस्पर्धामा जान सकेन,’ पोखरेलले भने, ‘गत वर्ष अनुगमनका क्रममा सवा लाखजतिको सामान जफत भएपछि उनीहरूले बन्द गरे ।’ 

तर गाउँपालिका अध्यक्ष पोखरेलले भनेझैं पालिकाको अनुदानमा सुपथ मूल्य भनेर खोलिएको पसल निजीसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भयो भन्ने तर्क गलत भएको स्थानीय व्यवसायीहरू बताउँछन् । ‘हामीले व्यक्तिगत पसल चलाउनेहरूले पनि सस्तो दिने भनेर कुनै सामान आफूलाई घाटा पर्ने गरी बिक्री गर्दैनौं,’ बर्बोटकै एक व्यवसायी भन्छन्, ‘निजीसँग प्रतिस्पर्धा गर्न नसकेर  भन्नु गलत हो, बरु सरकारी अनुदान लिएको सहकारीसँग प्रतिस्पर्धा गर्न नसकेर निजी पसल बन्द हुनुपर्ने हो ।’

सुपथ मूल्य पसल बन्द हुँदा सरकारी अनुदान मात्रै दुरुपयोग भएको छैन, सहकारीमा बचतकर्ताको लाखौं रुपैयाँसमेत खेर गएको छ । पसल खोल्न १६ लाख पालिकाको अनुदानबाहेक थप ११ लाख सहकारीले लगानी गरेको सहकारी संस्थाका अध्यक्ष अर्जुन आचार्यले बताए । सो लगानी सहकारी बचतकर्ताको हो । अहिले पसल बन्द भएपछि बचतकर्ताको त्यो ११ लाख रुपैयाँ पनि दुरुपयोग जस्तै भएको छ ।  

त्यो बेला धुर्कोट गाउँपालिका केन्द्रमा पसल सञ्चालन गर्न स्थानीयलाई प्रोत्साहन गर्नुपर्ने वा प्रतिस्पर्धाबाट छानिएकालाई अनुदान दिनुपर्नेमा मैत्रीलाई सिधै दिएको पनि स्थानीयको आरोप छ । तर पालिका अध्यक्ष पोखरेल भने ठूलो लगानी गर्न सक्ने सहकारी अरु नभएकाले लगानीयोग्य पुँजी धेरै भएको मैत्रीलाई अनुदान दिइएको बताउँछन् ।   

पछि सुपथ मूल्य नराखेको, सम्झौता अनुसार सामान नराखेको, गुणस्तरहीन र कुहिएका सामान राखिएको भन्दै स्थानीय उपभोक्ताले आलोचना गरेका थिए । तर पसल व्यवस्थित गर्न निर्देशन दिनुको साटो आलोचना गर्नेहरूलाई गाउँपालिकामा लगेर धम्क्याउन थालेपछि अहिले पसल बन्द गर्नुपर्ने अवस्था आएको उनीहरूको आरोप छ ।  ‘किनेको चामलसमेत कुहिएको परेपछि आवाज उठाउँदा स्थानीय होटल तथा फलफूल व्यवसायीलाई  गाउँपालिकाबाट यो विषयमा किन बोलेको भनेर थर्काउने र धम्काउने काम भयो,’ स्थानीय व्यवसायी भन्छन्, ‘त्यो बेला हामीलाई थर्काउनुको साटो पसललाई व्यवस्थित गरेको भए अहिले सुपथ मूल्यको पसल बन्द गर्नुपर्ने अवस्था आउँदैनथ्यो होला ।’

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully