लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन सभ्यता र मानव विकाससँग जोडिएका स्थलहरूको प्रवर्द्धनबाटै प्रदेशले समृद्धि हासिल गर्ने धारणा व्यक्त गरेका छन् ।
What you should know
दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थललाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुरस्थित मदन बाबा भक्तिकेन्द्रमा सोमबार आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले प्राचीन सभ्यता र मानव विकाससँग जोडिएका स्थलहरूको प्रवर्द्धनबाटै प्रदेशले समृद्धि हासिल गर्ने धारणा व्यक्त गरेका हुन् ।
उनले लुम्बिनी प्रदेशलाई देवभूमि, तपोभूमि र ज्ञानको भण्डारका रूपमा चित्रण गर्दै यस क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने योजनाअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए । ‘धार्मिक पर्यटन विकासका पर्याप्त आधार छन्,’ उनले भने, ‘आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि प्राचीन सम्पदाको संरक्षण अपरिहार्य छ ।’
कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको समग्र विकासका लागि ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए । उनले सरयू नदी द्वापर युगसँग सम्बन्धित रहेको र सुकौरास्थित दंगीशरण दरबारमा छैटौं शताब्दीका प्राचीन सामग्री फेला परेको स्मरण गराउँदै यस क्षेत्रको पहिचान र विकासमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले धार्मिक पर्यटकीय स्थलहरूमा आवश्यक पूर्वाधार विकास र सुविधा विस्तारका लागि एकीकृत योजना आवश्यक रहेको बताए । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले लुम्बिनी प्रदेशको दिगो विकासका लागि धार्मिक स्थलको विकास र प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए ।
मदन बाबा भक्ति केन्द्रमा २७ फिट अग्लो शिव भगवान्को मूर्ति, महालक्ष्मी मन्दिर, वीरभद्र भगवान्को मूर्ति निर्माण, धार्मिक स्थलसम्म पुग्न सिँढी निर्माण, पुष्प वाटिका स्थापनालगायत काम गर्न आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताए ।
कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, प्रदेशसभाका पूर्वसदस्य अर्जुन श्रेष्ठ, कांग्रेसका क्षेत्रीय सभापति देवेन्द्र रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति अर्जुन केसी, तुलसीपुरका वडाध्यक्षहरू मानबहादुर रावत, मोहन पौडेललगायतले धार्मिक पर्यटन प्रवर्द्धनबारे विभिन्न सुझाव दिएका थिए ।
