अत्यधिक गर्मीले जनजीवन प्रभावित

दिउँसो सहर, बजार र ग्रामीण सडकमा मानिसको चहलपहल निकै कम देखिएको छ । अत्यधिक गर्मीले सबैभन्दा बढी ज्याला मजदुरी गर्ने प्रभावित भएका छन् ।

वैशाख १३, २०८३

कमल पन्थी

Extreme heat affects public life

बर्दिया — अत्यधिक गर्मीसँगै चलेको तातो हावाले बर्दियाको जनजिवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि तातो हावासँगै चर्को घामले अत्यावश्यक काम बाहेक बाहिर निस्कने अवस्था छैन ।

दिउँसो सहर, बजार र ग्रामीण सडकमा मानिसको चहलपहल निकै कम देखिएको छ । अथ्यधिक गर्मीले सबैभन्दा बढी ज्याला मजदुरी गर्ने प्रभावित भएका छन् । बारबर्दिया नगरपालिका–१० का मजदुर ४० वर्षीय फकिरे थारुले दैनिक ज्याला नगरे खान नपुग्ने भएकोले गर्मी बढे पनि काम गर्न बाध्यता रहेको बताए । ‘हामीलाई अत्यधिक गर्मी, जाडो भए पनि काम गर्नुपर्छ, यस पालीको गर्मी भने अचाक्ली छ ।’

जल तथा मौसम विभागका मौसमविद् हरिप्रसाद दाहालले तीन दिनसम्म गर्मी यथावत रहने बताए । उनले दिउँसोको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्रीसम्म रहने जनाए । ‘सडकमा हिँड्दा हिँड्दै कहाँ ढल्ने हो ठेगान छैन,’ ठाकुरबाबा नगरपालिका– ६९ वर्षीय किसान रामदिन थारुले बताए । ‘अत्यधिक गर्मीले सडक तातेको छ,’ उनले भने, ‘त्यसमा पनि चलेको तातो लुले रिगाटा लाग्छ । घर, जग्गा, सडक, लुगा जता छोयो उता तातो छ । पानी पनि तातो, पसिनाले एकछिन पनि छोड्दैन । कतिखेर ढाल्ने हो ।’

एक सातायता अत्यधिक गर्मी र तातो लु चलेपछि जनजिवन प्रभावित बन्दै गएको छ । चिकित्सकले सर्वसाधारणलाई आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । बर्दियामा तातो लुले मानिसहरु बिरामी पर्न थालेका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले गर्मी बढेसँगै सबै भन्दा बढी बालबालिका र बृद्धमा झाडापखाला र ज्वरोका लक्षणहरु देखिन थालेको बताए ।

‘यस्तो गर्मी र तातो लुमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्क जिल्लावासीमा आग्रह गरेका छौं,’ उनले भने, ‘प्रशस्त पानी, झोलिय पदार्थ पिउने, बाहिर निस्कन पर्‍यो भने टाउको छोप्ने जिउ छोप्ने पातलो कपडा लगाउने, छाताको प्रयोग गर्नुपर्छ । यस बाहेक मधुमेह, उच्च रक्तचाप लगायतका विरामी सकभर आवश्यक काम बाहेक बाहिर ननिस्कन चिकित्सकले आग्रह गरेका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully