बर्दिया निकुञ्जको २० प्रतिशत भूभागमा फैलियो डढेलो

उत्तरी र पूर्वी भेगमा बढी डढेलो लागेको निकुञ्जले जनाएको छ ।

वैशाख १२, २०८३

कमल पन्थी

Fire spreads to 20 percent of Bardiya National Park

बर्दिया — दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा फैलिएको डढेलो २० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको छ । डढेलोले मध्यवर्ती क्षेत्र आसपासका क्षेत्र धुवाँले प्रभावित भएका छन् । 

डढेलोले ठाकुरबाबा, मधुवन, बारबर्दिया र बासगढी नगरपालिका क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । एक ठाउँमा डढेलो नियन्त्रण लिने प्रयास गरे पनि अर्को ठाउँमा फैलिँदै गएको छ । धुवाँका कारण आँखा पोल्ने, चिलाउने, श्वासप्रश्वास लिन समस्या भएको सामाजिक अभियन्ता नवराज ढुंगानाले बताए । 'बिहान उठ्दा आँखा पोल्ने, रातो हुने, आँखा पोलेर साना बालबालिका रुने, कराउने गरेका छन्,’ उनले भने, ‘डढेलोले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ ।'

डढेलो उत्तरको चुरे पहाडबाट सुरु भई दक्षिण क्षेत्रमा बढी फैलिएको छ । उत्तरी र पूर्वी भेगमा बढी डढेलो लागेको निकुञ्जले जनाएको छ ।

ठाकुरबाबा–१ डुम्रेनीका नैन कामीले डढेलोले स्वास्थ्यमा असर गरिरहेको बताए ।

निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले निकुञ्जको २० प्रतिशतभन्दा बढी भूभागमा डढेलो लागेको बताए । पश्चिम महेन्द्र राजमार्गलगायत ठाउँमा ठाकुरबाबा नगरपालिकाको दमकलले डढेलो नियन्त्रणमा लिने गरेको छ । विकट चुरे क्षेत्रमा यातायातको सुविधा नहुँदा डढेलो नियन्त्रणमा समस्या परेको छ । निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना, कर्मचारी, स्थानीय र ठाकुरबाबा नगरपालिकाको दमकल परिचालित भएका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully