इशा र सुदीपलाई बिहीबार दिउँसो प्यूठान घरमै लगेर परिवारको जिम्मा लगाइएको बालबालिकाका काका तुकमानले बताए । उनका अनुसार इशा र सुदीपलाई हजुरबुवा र हजुरआमाको जिम्मा लगाइएको हो ।
What you should know
भैरहवा — भारतको गोरखपुर रेल्वे स्टेसनमा अलपत्र परेका दुई नेपाली बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । गोरखपुर रेल्वे स्टेसनअगाडिको एउटा चिया पसलमा विगत दुई सातादेखि आश्रित प्यूठान नगरपालिका–४ थापाडाँडाकी १३ वर्षीया इशा बोहरा र उनका भाइ ७ वर्षीय सुदीप बोहरालाई बिहीवार नेपाल ल्याइ परिवारको जिम्मा लगाइएको हो ।
गोरखपुरस्थित भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिलकुमार गुप्त, गोरखपुरस्थित बीरबहादुर सिंह स्पोट्स कलेजकी हक्की खेल प्रशिक्षक तथा भारतको हक्की खेलकी महिला राष्ट्रिय खेलाडी प्रेममाया र ती बालबालिका आश्रित रेल्वे स्टेसन अगाडि रहेको चिया पसल ‘पाण्डे टी स्टल’ की सञ्चालक कृष्णा पाण्डे उर्फ मुन्नीको सहयोगमा उनीहरूलाई आफ्नै घरमा पुनस्थापन गरिएको हो ।
प्रवासी नेपाली महिला प्रेममायाले ती बालबालिकालाई देखेपछि भारत–नेपाल मैत्री समाजका अध्यक्ष गुप्तालाई खबर गरेकी थिइन् भने ‘पाण्डे टी स्टल’ की कृष्णा पाण्डेले रेल्वे स्टेसनमा भोकै अलपत्रमा परेका बोहरा दिदीभाइलाई आफ्नो पसलमा ल्याएर संरक्षण दिंदै जोखिममा पर्नबाट जोगाएकी थिइन् ।
मैत्री समाजका अध्यक्ष गुप्ताको जानकारी र सहयोगबाट कान्तिपुर अनलाइनमा बुधबार समाचार प्रकाशन भएपछि दुई हप्ताअघिदेखि हराइरहेका दिदीभाइको खोजीमा रहेका आफन्तसमेतले जानकारी पाएका थिए ।
‘कान्तिपुर अनलाइनमा उनीहरूको तस्बिरसहितको समाचार देख्नासाथ हामी खुसी हुँदै उनीहरूलाई घर फर्काउन तत्कालै पहल थाल्यौं,’ कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर बस्ने बोहरा दिदीभाइका काका तुकमान बोहराले भने, ‘मैत्री समाजका अध्यक्ष गुप्ता, चिया पसल सञ्चालक महिला र अन्यको सहयोगबाट भतिजी र भतिज जोखिममा पर्नबाट जोगिएका रहेछन् र घर फर्काउन सफल भयौं ।’
दिदीभाइलाई लिन तुकमान एक जना छिमेकीको साथमा आफैं बुधवार दिउँसो गोरखपुर पुगेका थिए । यसअघि उनले कान्तिपुरसँग सम्पर्क गरेर सबै विवरण लिएका थिए ।
इशा र सुदीपलाई बिहीबार दिउँसो प्यूठान घरमै लगेर परिवारको जिम्मा लगाइएको उनले बताए । उनका अनुसार इशा र सुदीपका बुवाको देहान्त र आमाको अर्को विवाह भएपछि उनीहरू हजुरबुवा र हजुरआमाको आश्रयमा बस्दै आएका थिए । हजुरबुवा र हजुरआमाको मायामै रहेका दिदीभाइ घरबाट भाग्नुका पछाडि लहडले काम गरेको तुकमानले बताए । इशा स्थानीय खलंगा माविमा कक्षा ८ मा अध्ययन गर्छिन् भने सुदीप उक्त विद्यालयमा कक्षा ४ मा पढेपछि फेरि स्थानीय इभरग्रिन बोर्डिङ स्कुलमा १ कक्षामा भर्ना भएका थिए ।
कृष्णनगर नाका हुँदै गोरखपुर पुगेका इशा र सुदीप भोक र प्यासले अत्तालिएर गोरखपुरको रेल्वे स्टेसनमा अन्य यात्रुसँग खाना माग्दै गरेको अवस्थामा पानीको बोतल बेच्दै गरेका चिया पसल सञ्चालक कृष्णाको छोराले देखेपछि आमालाई भनेर चिया पसलमा ल्याएका थिए ।
उनीहरू जोखिममा पर्ने सम्भावना देखेपछि कृष्णाले नजिकको प्लुिस स्टेसनमा जानकारी दिंदै अर्को व्यवस्था नहुन्जेल आफ्नो संरक्षणमा राखेकी थिइन् । उस्तै उमेरका सुदीप र कृष्णाका छोरा साथी बनेर रेल्वे स्टेसनमा पानीको बोतल बेच्ने गरेका थिए । इशालाई कृष्णाले चिया पसलमा जस्ता पनि मान्छे आउने भन्दै २५ किमि टाढा पीपीगन्जस्थित आफन्तको घरमा लगेर सुरक्षित राखेकी थिइन् ।
उनीहरूलाई लिन नेपालबाट गएपछि उनले इशालाई पीपीगन्जबाट झिकाएकी थिइन् । इशा र सुदीप गत चैत २१ गते राती खाना खाएर घरबाट भागेका थिए ।
‘उनीहरू लुकेर भाग्दै भारत पुगेछन् । हामी यता जताततै खोज्दै थाकेका थियौं,’ तुकमानले भने, ‘यदि उनीहरू गोरखपुरको चिया पसलमा आश्रित नरहेर त्यहाँबाट अगाडि गएको भए फेला पर्ने सम्भावना अति कम थियो ।’
इशा र सुदीपका बारेमा समाचार प्रकाशन भएपछि उनीहरूको अवस्थाका बारेमा प्यूठान नगरपालिका, प्यूठान जिल्ला प्रहरी कार्यालय र प्रधानमन्त्री कार्यालयबाट समेत सोधखोज भएको थियो ।
