रोल्पा अस्पतालका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा अस्पतालका चिकित्सकसहित २४ जना कर्मचारीले तीन महिनाको तलब पाउन नसकेको बताए ।

वैशाख १०, २०८३

काशीराम डाँगी

Rolpa Hospital employees have not received their salaries for three months.

रोल्पा — रोल्पा अस्पतालका चिकित्सक र कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । अस्पतालका अनुसार लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट रकम प्राप्त नभएकाले कर्मचारीले तबल पाउन नसकेका हुन् ।

अस्पतालका निमित्त प्रमुख डा सूर्यप्रताप रैदासले प्रदेश सरकारको मन्त्रालयबाट बजेट प्राप्त नभएकाले अस्पतालका चिकित्सकसहित २४ जना कर्मचारीले तीन महिनाको तलब पाउन नसकेको बताए । ‘प्रदेश सरकारले बजेट नपठाएकाले माघदेखि चैतसम्मको तीन महिनाको तलब पाइएको छैन । लेखा शाखामार्फत यसबारे मन्त्रालयसम्म जानकारी पठाइएको छ,’ डा रैदासले भने । 

अस्पतालमा कार्यरत स्थानीय करार कर्मचारीले भने तलब पाएका छन् । अस्पताल व्यवस्थापन समितिले स्थानीय करार कर्मचारीलाई आफ्नै आम्दानीको बजेटबाट तबल दिइसकेको छ ।

प्रदेश सरकार अन्तर्गतका चिकित्सक र कर्मचारी गरी २४ जनाले तलब नपाएका हुन् । उच्च तहको शिक्षा अध्ययनका लागि अघिल्लो साता विदा भएर गएका अस्पतालका तत्कालीन निमित्त प्रमुख डा ऋषभ गौतमले पनि तीन महिनाको तलब लिएका छैनन् । जिल्ला तहका अस्पतालको व्यवस्थापन र नियमन प्रदेश सरकारले गर्ने प्रावधान अनुसार रोल्पा अस्पतालको व्यवस्थापन समितिको नेतृत्व चयन र तलब व्यवस्थापन पनि लुम्बिनी प्रदेश सरकारले गर्दै आएको छ । 

सरकारले अर्धमासिक रुपमा तलब दिने निर्णय गरेका बेला प्रदेश सरकारबाट तीन महिनादेखिको तलब नपाउँदा समस्यामा परेको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए । उनका अनुसार लामो समयसम्म तलब नपाउँदा कर्मचारीलाई घरखर्च व्यवस्थापनमै समस्या भएको छ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully