बजेट अभावले लुम्बिनीका ३६८ खानेपानी योजना अलपत्र

लुम्बिनी प्रदेशका १२ जिल्लामा खानेपानीका पुराना आयोजनाका लागि १० अर्ब ९२ करोड २४ लाख आवश्यक पर्नेमा चालु आर्थिक वर्षमा शून्य बजेट हुँदा कुनै काम बढ्न सकेको छैन ।

वैशाख १०, २०८३

माधव अर्याल

368 drinking water projects in Lumbini stalled due to budget shortage

What you should know

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा २०६४/६५ मै अनिलधार लिफ्ट खानेपानी योजना सुरु भयो । झण्डै एक हजार घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो योजना १९ वर्षसम्म पूरा भएको छैन ।

योजनाको अझै २६ प्रतिशत काम बाँकी छ । भैरवस्थानका विभिन्न स्थानमा चार चरणमा काम भएको हो । उक्त योजनामा शाखा लाइन बिस्तार र सर्भिस ट्याङ्की निर्माणको काम पूरा भएको छैन । विद्युतीकरण र वितरण लाइनको काम पनि बाँकी रहेको उपभोक्ता समिति अध्यक्ष तुलबहादुर अधिकारीले बताए । 

उनका अनुसार दुई वर्षअघि विद्युत्को ट्रान्सफर्मर, पोललगायत सामान ल्याएर राखिएको छ । पानी तान्ने ट्यांकीसम्म विद्युत् लाइन विस्तार गर्न सकिएको छैन । यसबाहेक पनि काम धेरै नै भएको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार बजेट अभावकै कारण वर्षौंअघि सुरु आयोजना पूर्णतया सञ्चालनमा आउन नसकेको हो । योजना सम्पन्न गर्न १ करोड ३० लाख बजेट आवश्यक पर्छ । 

खानेपानी डिभिजन कार्यालय पाल्पाका इन्जिनियर सन्जीव अधिकारीका अनुसार अनुसार योजनालाई पूर्णता दिन चालु आर्थिक वर्षमा बजेट नै छैन । ‘बजेट थोरै आउने भएकाले पनि पछिल्ला वर्षमा योजनामा खासै प्रगति भएको छैन,’ उनले भने । चालु आर्थिक वर्षमा बजेट नहुँदा संघीय सशर्त अन्तरगतका जिल्लाका कुनै पनि योजनामा काम नभएको उनले बताए ।

योजना सम्पन्न नहुँदा स्थानीयले अहिले खडेरीमा खोला, खोल्सी धाउन परेको छ । खानेपानीको अभाव भएपछि पानी पर्याप्त पाउनसमेत समस्या हुने गरेको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान मसुरेकी गृहिणी पार्वती विकले बताइन् । 

तानसेन नगरपालिका–१३ बौघागुम्हा छेर्लुङ्स्थित बौघागुम्हा खानेपानी योजनाको काम अलपत्र जस्तै छ । उपभोक्ता समिति अध्यक्ष देवीप्रसाद भट्टराईका अनुसार आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको योजनाको ५० प्रतिशत मात्र काम भएको छ । ‘क्रमागत बजेट विनियोजन हुँदै आएको थियो,’ उनले भने, ‘अहिले चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि नभएपछि हामीलाई निरास बनाएको छ ।’ योजना सम्पन्न हुँदा छेर्लुङको ९ सय जनसंख्या लाभान्वित हुनेछ । तर अहिले ट्याङ्की, वितरण लाइनलगायतका काम बाँकी रहेका बेला बजेट नै नआएको उनले बताए । 

पाल्पामा मात्रै बजेट अभावले पूरा हुन नसकेको यस्ता २६ वटा योजना छन् ।  लुम्बिनी प्रदेशका १२ जिल्लामा खानेपानीका ३ सय ६८ आयोजना वर्षौंदेखि अलपत्र छन् । कतिपय दुई दशकअघि सुरु भएका थिए । त्यस्ता योजनाले पर्याप्त बजेट विनियोजन नहुँदा पूर्णता पाउन नसकेको हो ।

संघीय सरकारबाट २०७४ पछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएका यी आयोजना पूर्णता दिन संघ सरकारको चासो देखिएको छैन । प्रदेश सरकारकै प्राथमिकतामासमेत नपर्दा आगामी दिनमा अलपत्र बन्ने हुन् कि भन्ने चिन्ता बढेको उपभोक्ताहरुको गुनासो छ ।

पछिल्लो समय माथिल्लो भेगमा रहेका मूल सुक्दै जाँदा पहाडी भेगमासमेत खानेपानीको समस्या गम्भीर बन्दै गएको छ । अधिकांश ग्राभिटीमा संचालित आयोजनालाई अहिले लिफ्टमा बदल्नुपर्ने अवस्था आएको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका वडाध्यक्ष सोमबहादुर कार्की बताउँछन् । १५/२० वर्षअघि लागत इष्टिमेट गरेका योजनाका बनेका संरचना पनि बिग्रिन थालिसकेको उनले बताए । उनका अनुसार आयोजना सम्पन्न गर्न अघिल्लो वर्ष अर्थमन्त्री, प्रदेशका सभामुख, जिल्लाका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएको थियो । तर ध्यानाकर्षण गराएकै वर्ष एक रुपैयाँ पनि बजेट विनियोजन नभएको उनले बताए । 

लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख गुणनिधि पोखरेलका अनुसार यी सबै योजनालाई पूर्णता दिन करिब १० अर्ब ९२ करोड ४६ लाख रुपैयाँ आवश्यक पर्छ । चालु आर्थिक वर्षमा यी आयोजनाका लागि एक रुपैयाँ पनि बजेट विनियोजन भएको छैन । संघीय सशर्त अनुदानबाट आउनुपर्नेमा नआएको हो । हरेक वर्ष न्यून बजेट विनियोजन हुँदा यी योजना कहिले पूरा हुन्छन् भन्न गाह्रो हुने उनले बताए । 

२०७४ सालअघि सुरु गरेका यस्ता लुम्बिनी प्रदेश सरकार अन्तर्गत संघीय सर्शत अनुदानबाट क्रमागत रुपमा संचालन भइरहेका हुन् । यी योजनामा बजेट विनियोजन नगर्दा प्रदेशको ‘एक घर एक धारा’ अभियानसमेत अलपत्र परेको उनले बताए । 

वर्षौंदेखि थोरैथोरै बजेट विनियोजन भएर काम सक्न १०/१५ वर्ष लागेका योजनाका कतिपय सामग्रीसमेत सडकमा अलपत्र अवस्थामा छन् । लामो समयदेखि थोरै बजेट पठाउने र सम्पन्न गर्ने तयारीमा रहेका योजनासमेत चालु आर्थिक वर्षमा बजेट विनियोजन नहुँदा उपभोक्ता समितिलाई दबाब परेको छ । 

यसका लागि लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई महाशाखाका साथै प्रदेश सरकारले नै संघीय सरकारसमक्ष त्यस्ता आयोजनाका बारेमा पटकपटक बजेट विनियोजनका लागि ताकेतासमेत गरिँदै आएको छ।

महाशाखा प्रमुख पोखरेलका अनुसार पाल्पाका २६, बाँकेमा ४२, प्युठानमा २७, रुपन्देहीमा ४५, गुल्मीमा २३, अर्घाखाँचीमा २८, नवलपरासी पश्चिममा २८ वटा अपूरा आयोजना छन् । यस्तै, बर्दियामा २६, रुकुमपूर्वमा १४, रोल्पामा १६, कपिलवस्तुमा ३४, दाङमा ५९ आयोजना सम्पन्न हुन बाँकी छन् । लुम्बिनी प्रदेशमा प्रशोधित अर्थात् सुरक्षित खानेपानीको उपलब्धता ७ प्रतिशत रहेको छ भने अधारभूत खानेपानी ७४ प्रतिशतले पाएको उनले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully