पाल्पाका चुनढुंगा उद्योगमा सञ्चालन हुने टिपरले ‘ओभर लोड’ नबोक्ने

सडक मर्मतपछिको अवस्थालाई सुधार गर्न चुनढुंगा खानी सञ्चालकको प्रतिबद्धताले ओभरलोड टिपर समस्या समाधानमा सहयोग पुग्ने स्थानीयको विश्वास बढेको छ।

वैशाख ९, २०८३

माधव अर्याल

Tipper operating in Palpa's limestone industry will not carry 'overload'

पाल्पा — पाल्पाबाट चुनढुंगा ओसारपसार गर्न सञ्चालन हुने टिपरले ‘ओभर लोड’ नबोक्ने खानी सञ्चालकले प्रतिबद्धता जनाएका छन् । जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार बोलाएको बैठकबाट जिल्लामा सञ्चालित १० वटै चुनढुंगा खानीका सञ्चालकले यस्तो सहमति गरेका हुन् । 

प्रशासन कार्यालयमा राखेको बैठकमा सहभागीका अनुसार एक साताभित्र ढुवानी व्यवसायीसँग बैठक गरेर चुनढुंगा खानी सञ्चालकले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रशासन कार्यालयमा भएको बैठकबाट टिपरहरुले ओभरलोड नबोक्ने, कम्पनीबाट नै ओभरलोड राख्न नदिने सहमति गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी ऋषिराम सुवेदीले बताए । 

बैठकमा प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवर लगायत सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालय, यातायात सेवा व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, १० वटा चुनढुंगा खानी उद्योगका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले ओभरलोड ढुवानी गरेमा ट्राफिक प्रहरीबाट प्रभावकारी रुपमा अनुगमन एवं कारबाही गर्ने बैठकमा निर्णय भएको उनले बताए । खानी उद्योगहरुले सामाजिक उत्तरदायित्व सेवा तथा वातावरणीय सेवा सम्बन्धि सञ्चालन गर्नुपर्ने सम्पूर्ण क्रियाकलापहरु अनिवार्य रुपमा सञ्चालन गरी स्थानीय स्तरमा पनि विवाद हुने वातावरण सिर्जना हुन नदिने निर्णय भएको छ । 

खानी उद्योगहरुले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित वातावरण स्वच्छ राख्न गर्नुपर्ने मापदण्डहरु पूरा गरी उद्योगहरु सञ्चालन गर्नुपर्ने छ । उद्योगहरुले चुनढुङ्गा उत्खनन् वापतको राजश्व वन विकाष कोष लगायतका रकमहरु वार्षिक रुपमा ‘जुन–जुन निकायहरुमा बुझाउनु पर्ने हो’ अनिवार्य रुपमा सम्बन्धित निकायमा बुझाउने निर्णय भएको छ । राजश्च तथा वन विकास कोष बुझाउन बक्यौता नराख्ने प्रतिबद्धता पनि जनाएका छन् ।

Tipper operating in Palpa's limestone industry will not carry 'overload'

खानीमा ढुवानीको लागि प्रयोग हुने टिपरका चालकहरु ड्राइभिङ लाइसेन्स नभएकाहरुलाई टिपर चालकको रुपमा नराख्ने साथै टिपर सम्बन्धि सम्पूर्ण कागजातहरु अनिवार्य रुपमा गाडीमा नै राख्ने व्यवस्था गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । चुनढुंगा खानी सञ्चालकका प्रतिनिधिहरुको मात्र सहभागिता भएकाले एक साताको समय लिनु परेको हो । कञ्चन कोइरिज प्रालिका प्रतिनिधि गोपाल भट्टराईका अनुसार व्यवसायीसँग बसेर एक सातासम्म समय लिएको हो । 

जिल्ला ट्राफिक प्रहरी पाल्पाका प्रमुख खेम पंगेनीका अनुसार सबै चुनढुंगा खानीमा तौल पुल (धर्मकाँटा) रहेको छ । उद्योगबाट मापदण्ड अनुसार लोड गर्ने हो भने सडकमा कारबाही गर्न नपर्ने बताए । ‘खानीबाटै ओभारलोड राखिदिने समस्या देखिएको छ,’ उनले भने, ‘ढुवानी व्यवसायीको भन्दा पनि खानी सञ्चालककै मनपरी भएकाले यस्तो समस्या आएको हो ।’ ट्राफिकले कारबाही गर्ने गरेको तर अटेरी गरेर ओभरलोड बोक्ने गरेका हुन् । कतिपयलाई पटक–पटक कारबाही गर्दासमेत अटेरी गरेपछि यातयात कार्यालयमा पठाउने गरिएको उनले बताए । सडकमा गाडीको भार क्षमता हेर्ने जिम्मेवारी यातायात व्यवस्था कार्यालयको हो । 

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख टिकाराम न्यौपानेका अनुसार धर्मकाँटा नभएकाले टिपरको लोड हेर्न र अनुगमन गर्न नसकिएको बताए । अन्य कार्यभार बढी भएकाले सडकमा गाडी जाँच गर्ने समय पाउन कठिन भइरहेको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख न्यौपानेले बताए । ‘खानी स्वीकृत गर्दा नै अनिवार्य धर्मकाँटा राख्नुपर्ने भनेको छ,’ उनले भने, ‘यो समस्या समाधान गर्नुपर्ने चुनढुंगा खानी उद्योगबाटै भएको हो । त्यहीबाट समाधान गर्नुपर्छ । कि त भने दोभानमा धर्मकाँटा राख्नुपर्छ ।’

सडक डिभिजनले धर्मकाँटा तिनाउ गाउँपालिकाको दोभानमा राख्नका लागि टेण्डरसमेत आव्हान गरेको थियो । सडकसमेत चौडा गरेर कालोपत्र भइसकेको छ । तर अहिलेसम्म सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल जाने नाकाको दोभानमा धर्मकाँटा राखिएको छैन । स्रोतका अनुसार चुनढुंगा खानीका सञ्चालक, टिपर व्यवसायीले पहुँचका आधारमा धर्मकाँटा राख्न नदिएका हुन् ।

Tipper operating in Palpa's limestone industry will not carry 'overload'

‘सरकारी धर्मकाँटा राख्नेवित्तिकै कारबाहीमा पर्ने र बढी भार बोक्न पाइदैन,’ तिनाउकै एक व्यवसायीले भने, ‘त्यसैले पनि दोभानमा नराखेको हुनसक्छ ।’ अधिक भारका गाडीले सडक बिग्रने र दुर्घटना बढ्ने समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख पंगेनीले बताए । सडकमा गाडी जाँच गरेर बढी भार बोक्नेलाई जरिवाना गर्ने र बढी भएका सामान निकालिदिनुपर्ने नागरिकको माग छ । गाडीको अधिक भारका कारण सिद्धार्थ राजमार्गको बर्तुङ्देखि चिडियाखोलासम्म सडकको अवस्था बिग्रिरहेको छ । बर्तुङ्देखि होलाङ्दी हुँदै हार्थोकसम्मको सडक पनि छियाछिया भइसकेको छ । दुर्घटनाको जोखिम टिपर चल्ने सडकमा बढी छ । 

गत महिना मर्मत सकिएको सिद्धार्थ राजमार्ग साथै बर्तुङदेखि हार्थोक सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी भइसकेका छन् । सडक मर्मतका नाममा लापरबाहीपूर्ण तरिकाले काम गरेकाले टिकाउ नहुने चालक र सर्वसाधारणको आरोप छ । गत आर्थिक वर्षमा सिद्धार्थ राजमार्गको दोभान चिडियाखोलादेखि बर्तुङसम्म ३५ किमिमा मर्मतको काम भएको थियो । बर्तुङदेखि बाँसटारीसम्मको सडकमा खाल्डैखाल्डा बनेका छन् । यसवर्ष पुनः मर्मतको काम भइरहेको छ । 

कतिपय क्षेत्रमा अधिक भारका कारण कालोपत्र उप्किएको छ । अधिकाँश स्थानका नाली भत्किएको छ । एक महिनाअघि मर्मत गरेको तानसेन–गुल्मी सडकको विभिन्न स्थानमा खाल्डाखुल्डी बनिसकेको छ । सडक डिभिजन पाल्पाका प्रमुख रामपुकार जयसवालका अनुसार सबैतिर समस्या निम्तिएको छ । ‘बढी भार बोकेपछि सडकको लाइफ घटाइरहेको छ,’ उनले भने । यहाँ १० टन क्षमता भएकाले १८ टन साथै २४ टन क्षमता भएका टिपरले ३५ टनबढी बोकेर सडक छियाछिया बनाएको स्थानीयको आरोप छ । पाल्पामा १० वटा चुनढुंगा खानी उद्योग छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully