तातो हावा चलेपछि जनजीवन प्रभावित

बिहानैदेखि घाम चर्किन थालेपछि सार्वजनिक स्थलमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्किने घटेका छन् ।

वैशाख ८, २०८३

दीपेन्द्र बडुवाल

Normal life affected by hot winds

भैरहवा — एकसाता यता रुपन्देहीलगायत मध्य तराईमा गर्मी बढिरहेको छ । गर्मी बढेसँगैं जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि घाम चर्किन थालेपछि सार्वजनिक स्थलमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्किने घटेका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार मंगलबार बिहान पौने ९ बजे भैरहवाको तापक्रम २१ दशमलव १ डिग्री रहेको थियो भने दिउँसो पौने ३ बजे तापक्रम बढेर ४२ डिग्री सेल्सियस पुगेको थियो । सोमबारबाट भैरहवा र आसपास मध्याह्नपछि तातो हावा चलिरहेको छ । जसले गर्दा कामकाजी र बटुवालाई समस्या भएको छ । 

भैरहवा बहुमुखी क्याम्पसका शिक्षक भीम भण्डारीले तातो हावा चल्दा शरीर सुक्खा हुने र प्यास लाग्ने समस्या देखिएको बताए । 'दिउँसो यात्रा गर्न सकिन्न,’ उनले भने, 'गर्मीले ज्यान आलस्य हुने, ओठ सुक्ने र निन्द्रा लाग्ने समस्या देखिएको छ ।’ 

गर्मी बढेपछि दिउँसोका लागि तय कार्यक्रममा सहभागिता जनाउन नसकेको उनले बताए । उनका अनुसार रुपन्देहीका भैरहवा, तिलोत्तमा, लुम्बिनी, रोहिणीलगायत क्षेत्रमा गर्मीले सर्वसाधरणलाई आलसतालस बनाएको छ । 

नयाँ वर्षदेखि तराईका जिल्लामा वर्षा भएको छैन । जसले गर्दा हावा तातो हुँदा यात्रामा कठिनाइ भइरहेको छ । गर्मीले जिल्लास्थित उद्योगमा कार्यरत मजदुर प्रभावित भएका छन् । रुपन्देहीका अधिकांश पालिकाले वैशाख १० गतेबाट शैक्षिक सत्र सुरु गर्दैछन् । गर्मीमा विद्यालय सञ्चालन हुने भएपछि अभिभावक चिन्तित बनेका छन् । 'बिहानै गर्मी सुरु हुन्छ,’ सिद्धार्थनगर–१२, का जयकेश हरिजनले भने, 'दिउँसो घर बाहिर निस्किएर काम गर्न धौं हुन्छ । घामले पोल्छ ।’

दीपेन्द्र

Link copied successfully