कक्षा १ मा पढ्न दैनिक चार घण्टा पैदल

पाल्पाको बहादुरपुरसहित हात्तीलुङ, गोठादी, रहवासका बालबालिका पनि दैनिक तीनदेखि चार घण्टा पैदल हिँड्न बाध्य छन् । पूर्वखोला गाउँपालिकाको जल्पा, आर्गीडाँडा, साठीकोलका बालबालिका पनि दैनिक कम्तीमा चार घण्टा हिँडेर विद्यालय पुग्छन् ।

वैशाख ७, २०८३

माधव अर्याल

Walking four hours a day to study in grade 1

What you should know

पाल्पा — यहाँको माथागढी–८, बेतिनीकी दिलमाया गाहाका ५ वर्षीय छोराले भर्खरै शिशु कक्षा उत्तीर्ण गरे । यस वर्षबाट छोरा गोविनलाई बहादुरपुरको बालविकास आधारभूत विद्यालय पठाउनुपर्छ । बालविकासमा छोरालाई भर्ना गरेपछि उनलाई अब कसरी विद्यालय पठाउने होला भन्ने चिन्ता सुरु भएको छ । 

बिहान ८ बजे विद्यालय पठाउनुपर्छ । साँझ ६ बजेपछि मात्र घर आउँछन् । ‘धन्न विद्यालयमा खाजा खुवाउने गरिएको छ,’ उनले भनिन्, ‘त्यसले दिउँसो छोरा भोकायो कि भन्ने चिन्ता हटेको छ ।’ स्थानीय कल्पना बराल मगरलाई पनि छोरी विरिसालाई विद्यालय पठाउन हतारो हुन्छ । घरबाट विद्यालय टाढा छ । पाँच वर्षकी छोरी विरिसालाई गाउँमै शिशु कक्षा पढाइन् । कक्षा १ मा भर्ना हुन आउजाउ गर्दा मात्र दैनिक चार घण्टा लाग्छ । ‘साना नानीबाबुलाई दुई घण्टाले पुग्दैन,’ उनले भनिन्, ‘ठूला भएकाहरू दगुरेर जान्छन् । तर सानालाई नछोडी लैजानुपर्ने हुन्छ ।’ उनका अनुसार कसैले छाड्यो भने रुँदै घर फर्किने गरेका छन् । 

गाहा र सारु मगरलाई मात्र होइन, बेतिनीका १४ परिवारका करिब २२ विद्यार्थीलाई अहिले एउटै चिन्ता छ । गाउँमा कक्षा ३ सम्म पढ्ने सुविधा भइदिएको भए यस्तो चिन्ता कम हुने उनले बताइन् । गाउँमा शिशु कक्षा पढाउने एउटा सामुदायिक भवन छ । जापानी समाजसेवी काजुमासा काकिमीको सहयोगमा केही रकम व्याजमा लगाएर त्यसकै आम्दानीबाट स्वयंसेविका राखेर पढाउने गरेका छन् । यसमा गाउँपालिकाको सहयोग छैन । 

स्वयंसेवक शिक्षिका भीमकुमारी सारुका अनुसार यस वर्ष दुई जना मात्र भर्ना भएका छन् । पछिल्लो समयमा आमाहरू बच्चा लिएर डेरा खोज्दै नजिकको जल्पा बजार, तानसेन बजार वा तराईतिर झर्न थालेको उनले बताइन् । ‘पहिले बालबच्चा पढाउने महत्त्व बुझेका थिएनन्,’ उनले भनिन्, ‘अहिले थोरै बच्चा पाउने तर शिक्षादीक्षा राम्रो दिनुपर्छ भन्ने चलन आएको छ । त्यसैले शिशु कक्षा पढेपछि बच्चा लिएर सहरतिर जाने गरेका छन् ।’ सक्नेले ठूला सहर र नसक्ने भए पनि नजिकै जल्पामा गएर डेरा लिएर बस्ने गरेको उनले बताइन् ।Walking four hours a day to study in grade 1

यो समस्या यहाँको एउटा गाउँमा मात्र सीमित छैन । यहाँका टोक्लोक्दी, किहुँडाँडा, चरङ्गे टोलका बालबालिकासमेत कम्तीमा तीनदेखि चार घण्टा पैदल हिँडेर पढ्न जान बाध्य छन् । माथागढी गाउँपालिका–८, बहादुरपुर बेतिनीकी सुष्मिता गाहा मगरले भनिन्, ‘कक्षा ८ सम्म बहादुरपुरमै पढेको हो । त्यसपछि अर्को पालिकामा जान हामी बाध्य छौं ।’ उनका अनुसार तल्लो बेतिनी, आर्गीडाँडा गाउँका समेत डेरा गरेर बस्नुपर्छ । बेतितिबाट मनोज सारुले पनि यस वर्ष एसईई दिएका हुन् । गाउँका दुई जना कक्षा १२ मा तिलबहादुर र चेतबहादुर सारु मगरले पढेका छन् । स्नातक पढ्ने कोही छैनन् । 

अभिभावक तुलसी गाहाका अनुसार विद्यालय टाढा भएपछि कतिपयले बाटोमै लुकेर, खेलेर घर फर्किने गर्छन् । ‘ठूला भन्दा पनि सानाको दैनिकी कष्टकर हुन्छ,’ उनले भनिन्, ‘चार वर्षको उमेरमै विद्यालय पठाउन अभिभावकलाई मन छैन तर बाध्यता हो ।’ त्यसैले कतिपयले विद्यार्थी पढाउन आमा र बच्चा डेरा लिएर बस्नुपर्ने हुन्छ ।Walking four hours a day to study in grade 1

विद्यालय टाढा भएकाले यहाँका स–साना विद्यार्थीलाई हिउँद र वर्षा दुवै याममा उत्तिकै समस्या हुने बहादुरपुरका अभिभावक टेकबहादुर सारुले बताए । विद्यालय जानेहरूको वर्षायाममा कुनै पनि कपडा नरुझेको हुँदैन । विद्यार्थीले दैनिक दुई जोर कपडा बोकेर हिँड्नु पर्ने बाध्यता जस्तै छ । अन्य समयमा पनि समयमा विद्यालय नआउने, बाटोबाटै फर्किने अर्को समस्या भएको उनले बताए । जसले गर्दा दुर्गम गाउँका विद्यार्थीमा ‘ड्रप आउट’ को समस्या छ ।

शिक्षा नियमावलीले पहाडी क्षेत्रमा विद्यालय खोल्न कम्तीमा ४० जना विद्यार्थी हुनुपर्छ भनेको छ । तर पहाडी जिल्लाका अधिकांश दुर्गमा गाउँमा २५ जनाभन्दा बढी विद्यार्थी छैनन् । अहिले संचालन भएका प्राथमिक तहमा समेत अवस्था उस्तै छ । दुर्गम गाउँबस्तीमा पूर्वप्राथमिक तहको कक्षा संचालन गर्ने हो भने सानो उमेरमै दैनिक चार घण्टा हिँड्न बाध्य नहुने माथागढी–८, बहादुरपुरको बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक जेत्तरसिंह रानाले बताए । 

माथागढी गाउँपालिका–८, बहादुरपुरका वडाध्यक्ष दिलबहादुर ढेंगाका अनुसार विगतदेखि नै पालिकामा जानकारी गराएको छु । ‘गाउँ शिक्षा समितिमा पनि यस विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘आगामी दिनमा यसबारेमा बृहत् छलफल गरेर विद्यालय टाढा भएका बस्तीका विषयमा निर्णय गरिनेछ ।’

माथागढी गाउँपालिका अध्यक्ष यम चिदीले बस्ती टाढा भएकाहरूको समस्या जतासुकै भएको तर स्रोत र साधन कम हुँदा ठोस निर्णय हुन नसकेको बताए । पाल्पाको माथागढीको बहादुरपुरबाहेक हात्तीलुङ, गोठादी, रहवासका बालबालिका पनि दैनिक तीनदेखि चार घण्टा पैदल हिँड्न बाध्य छन् । पूर्वखोला गाउँपालिकाको जल्पा, आर्गीडाँडा, साठीकोलका बालबालिका पनि दैनिक कम्तीमा चार घण्टा हिँड्न बाध्य छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully