पत्नी पक्राउ परेपछि उनीहरूका श्रीमान् काठमाडौं हुँदै बाहिरिने क्रममा समातिएका हुन् । राहदानी नम्बर यूएस १८४८०७१ भएका २३ वर्षीय इफान अली र राहदानी नम्बर एक्यू ५९८८१०३ भएका पाकिस्तानी नागरिक ४४ वर्षीय सफिउर रहमान जहाज चढ्न लाग्दा पक्राउ परेका हुन् ।
What you should know
कपिलवस्तु — गहना चोरी र ठगी आरोपमा पक्राउ परेका दुई पाकिस्तानी महिलाका श्रीमानलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । गत चैत ३० गते सदरमुकाम तौलिहवा र चन्द्रौटा बजारमा गहना चोरी र ठगीको आरोपमा पाकिस्तानी नागरिक २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना रहमान पक्राउ परेका थिए ।
पत्नी पक्राउ परेपछि उनीहरूका श्रीमान् काठमाडौं हुँदै बाहिरिने क्रममा समातिएका हुन् । राहदानी नम्बर यूएस १८४८०७१ भएका २३ वर्षीय इफान अली र राहदानी नम्बर एक्यू ५९८८१०३ भएका पाकिस्तानी नागरिक ४४ वर्षीय सफिउर रहमान जहाज चढ्न लाग्दा पक्राउ परेका हुन् । अली कलसुमका र सफिउर सर्वनाका श्रीमान् हुन् । दुवै जना सुरक्षा जाँचपछि बोर्डिङ पास लिएर विमानतर्फ जाँदै गर्दा फक्राउ परेका थिए । दुवैले एयर अरेबियाको जहाजमार्फत नेपाल छाड्न लागेका थिए ।
दुवै जनाबाट पाकिस्तानी राहदानी बरामद भएको छ । सफिउर तेस्रो र अली पहिलो पटक नेपल आएका हुन् । पक्राउ परेका महिलासित लामो सोधपुछ गर्ने क्रममा उनीहरूले श्रीमानसँग नेपाल आएको बताएपछि प्रहरीले दुवैका श्रीमान् पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । प्रहरीले विभिन्न युनिट परिचालन गरेर शनिबार साँझ ६ बजे उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले दुवै जनालाई आइतबार राति कपिलवस्तु ल्याएर सोधपुछ गरिरहेको छ । दुवैमाथि अनुसन्धानका लागि सोमबार ८ दिनको म्याद थप गरिएको डीएसपी सिंहले बताए ।
शिवराज–५, चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा गहना खरिद गर्ने भन्दै दुवै महिला साँझ पसल पुगेका थिए । त्यहाँ गहना हेर्दै व्यवसायीलाई अलमल्याएर ३८ लालको एक जोडी सुनको झुम्का चोरेर भागेका थिए । चोरीपछि बाहिर निस्किँदा मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास गरेका थिए । गहना हराएको थाहा पाएपछि पसलधनीले तत्काल बजारमा पुगेर खोजी गर्ने क्रममा महिला फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । वडा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
त्यसै दिन तौलिहवास्थित बागेश्वरी ज्वेलर्स सुनचाँदी पसलमा महिलाले ठगी गरेर भागेका थिए । सुन साट्ने भन्दै एक तोलाभन्दा बढीका गहना मागेर साथीलाई देखाउने बहानामा भागेका थिए । महिलाले सक्कली भन्दै गहना पसलका सञ्चालकलाई एक जोडी रिङ र एक थान सिक्री दिएर गएका थिए । चन्द्रौटाको चोरीको घटना सार्वजनिक भएपछि तौलिहवाका पसलेले महिलाले दिएको सुन जाँच गर्दा गहनामा ७ प्रतिशत सक्कली सुनमात्र रहेको पत्ता लागेपछि ठगिएको भन्दै प्रहरीकहाँ उजुरी दिएका थिए । बुटवलको योगीकुटीस्थित एक सुनचाँदी पसलमा समेत उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । महिलाले गरेका अन्य चोरीका घटना पनि बिस्तारै खुल्दै आएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले बताए ।
महिलाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा मोरङमा एक तोला र दुई तोला बढी सुनका गहना चोरीको जाहेरी परेको छ । चितवनमा पनि सुन चोरीका घटनाको जाहेरी पर्न लागेको प्रहरीले जनायो । प्रहरीका अनुसार नगद देखाउँदै गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेका छन् । महिलाबाट नेपाली ८६ हजार ४० रुपैयाँ बरामद भएको छ । १० रुपैयाँ दरका ३ वटा पाकिस्तानी नोट पनि बरामद गरिएको छ । महिलामाथि चोरी र ठगी आरोपमा अनुसन्धान भइरहेको छ । उनीहरू २४ मार्चमा काठमाडौं आएका थिए । अप्रिल २२ सम्म भीसा म्याद छ ।
