कोहलपुरबाट राजापुरतिर बिरामी लिन जाँदै गरेको बा ०३०५ नम्बरको खाली एम्बुलेन्सले आइतबार बिहान सवा ५ बजे ठक्कर दिएको थियो ।
बर्दिया — एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–७ डिभिजन वन कार्यालय नजिक योग गर्न जान लागेका पैदलयात्रीहरुलाई कोहलपुरबाट राजापुरतिर बिरामी लिन जाँदै गरेको बा ०३०५ नम्बरको खाली एम्बुलेन्सले आइतबार बिहान सवा ५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएका गुलरिया नगरपालिका–७ बस्ने ५५ वर्षीय भुमीराज लामिछानेलाई उपचारको लागि नर्सिङ होम नेपालगन्ज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै दुर्घटनामा परी उनका ५ वर्षीय नातीको पनि मृत्यु भएको छ । उनकी श्रीमती ५० वर्षीया सीता लामिछाने र सोही ठाउँका ६५ वर्षीय सूर्य उपाध्यायको नेपालगन्जस्थित उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स चालक गेरुवा गाउँपालिका–५ का ४३ वर्षीय जगतराम थारुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।
