कसरी भयो नगर प्रहरी र व्यवसायीबीच धकेलाधकेल, भाइरल भइरहेको भिडियोको यथार्थ के हो ?
What you should know
बुटवल — सडकमा व्यापार गर्नेलाई हटाउने र फुटपाथ खाली गर्ने अभियान बुटवल उपमहानगरपालिकाले जारी नै राखेको छ । व्यवसायीसँगको छलफल, कार्यपालिकाको निर्णय र सार्वजनिक सूचना जारीपछि सुरु भएको अभियानमा नागरिक तहबाटै समर्थन पनि पाइरहेको छ ।
बुधबार अस्पताल लाइन र भुड्की चोकमा गरिएको फुटपाथ खाली गर्ने अभियानले राम्रै चर्चा पायो । धेरै व्यवसायी सचेत पनि बने । बिहीबार अमरपथ, बीपी चोक, राम मन्दिर लाइनमा अनुगमन गरियो । शुक्रबार बसपार्कदेखि मिलनचोक हुँदै चौराहासम्म अनुगमन भएको थियो ।
अनुगमनका क्रममा अतिक्रमित संरचना भत्काउने, सामान जफत गर्नेमा समर्थन बटुलेको उपमहानगरको बिहीवारको अनुगमनका क्रममा राम मन्दिर लाइनमा एक व्यवसायीको पसलमा भएको धक्कामुक्का र जफत गरिएका सामानको विषयमा सकारात्मक र नकारात्मक दुवै चर्चा र प्रतिक्रिया जारी छन् । दुई दिन आक्रामक बनेको नगरपालिका शुक्रबार भने सचेत बनाउने अभियानसहित प्रस्तुत भएको थियो । त्यसपछि शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारबाट उक्त अभियान पुनः सुरु हुने नगरपालिकाले जनाएको छ ।
बिहीबार हस्पिटल लाइनबाट सुरु भएको अभियान अमरपथ, बीपी चोक, राम मन्दिर लाइन हुँदै जेसिस चोकसमम पुगेको थियो । अनुगमनमा नगर उपप्रमुख सावित्रादेवी अर्यालसहित नगर प्रहरी, नेपाल प्रहरीसहितको टोली थियो । अभियान राम मन्दिर लाइनमा पुग्दा अलि अस्वाभाविक बन्यो ।
बाहिर सामान राखेका वा झुण्ड्याएका व्यवसायीलाई सचेत बनाउँदै एक/दुई सामान उठाउँदै हिंडेको नगर प्रहरीले राम मन्दिर लाइनको सीटी व्याग हाउसबाट पनि अन्य पसलमा जस्तै एक झोला निकालेर अघि बढ्दै थिए । त्यतिबेला ब्याग हाउसका संचालक विजय रायमाझीले आफ्नो पसलमा घाम छेक्न लगाइएको ‘सनसेट’ (घाम छेक्ने पर्दा) भित्र तान्दै थिए । त्यति नै बेला आफ्नो पसलबाट पनि एउटा पहेँलो कलरको झोला निकालेर अघि बढेका नगर प्रहरीलाई रायमाझीले पछाडिबाट झम्टिए । त्यसपछि नगर प्रहरी आक्रामक बन्यो । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा झण्डै आधा दर्जन नगर प्रहरी पसलभित्रै पसेर उनलाई धक्कामुक्का गरेको देखिन्छ । त्यस क्रममा उनको दायाँ हातको एक औंला फ्याक्चर भएको छ । जसमा उनले अहिले अस्थायी प्लास्टर गरेका छन् ।
उनले आफूले पछाडिबाट धक्का दिएको स्वीकार गरेका छन् । तर, त्यसपछिको घटनाको यथार्थ विवरण पनि बाहिर ल्याउनु पर्ने र आफूले न्याय पाउनुपर्ने उनको दाबी छ । ‘मेरो सटरभित्रैको झोला निकालेर हिंडेपछि मैले माग्दै पछिबाट धकेलेको हुँ,’ उनले भने, ‘तर, त्यसपछि नगर प्रहरी अरिंगालझैं मैमाथि खनिए र कुटपिट गर्दै मेरो पसलबाट दर्जनौं ब्याग र अन्य सामान निकालेर हिँडे । त्यसको छानबिन र न्यायको माग गरेको छु ।’ नगरपालिकाले सूचना जारी गर्दा सडक पेटीमा राख्ने गरिएका सामग्री हटाउन सूचना जारी गरे पनि सनसेटको विषयमा केही नबोलेकाले तत्काल नहटाइएको उनको दाबी छ । नगर प्रहरीले अन्य पसलको सनसेट नउठाएको भए पनि धक्कामुक्कापछि उनको पसलको सनसेट निकालेर लगेको छ । सामाजिक संजालमा रायमाझीलाई गाली गर्दै नगरपालिकाको पक्षमा बहस गर्नेहरू पनि उत्तिकै छन् । नगरपालिकालाई गाली गर्नेहरू पनि देखिएका छन् ।
उनले आफूले १३ वर्षदेखि व्यवसाय गरेको र त्यसबापतको वार्षिक ५ हजार व्यवसाय कर, मासिक २ सय सरसफाइ कर नियमित रूपमा नगरपालिकालाई बुझाउँदै आइरहेको बताए । तर, नगरपालिकालाई सहयोग गर्दा पनि आफूले कुटपिट सहनु परेको र त्यसमाथि सामाजिक सञ्जालमा गाली गरिएको भन्दै दुःख व्यक्त गरे ।
बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले भने व्यवसायी रायमाझी नगर प्रहरीमाथि नै अचानक आक्रमणमा उत्रिएपछि सामान्य प्रतिवाद गरेको बताए । तर, प्रहरीले सटरभित्रबाट नभई फुटपाथलाई अवरोध हुने गरी राखिएका सामान मात्र उठाएको उनको दाबी छ ।
‘हामीले कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक सूचनापछि माइकिङ पनि गरेर सबै नगरबासीलाई जानकारी दिएका थियौं, त्यसपछि पनि अटेर भएपछि केही सामान उठाएर सचेत गराएका हौं,’ उनले भने, ‘उठाएका सामानहरू सुरक्षित राखिएको र नगर प्रमुखको आदेश अनुसार सामान जफत वा फिर्ताको निर्णय हुनेछ ।’ नगर प्रहरीले कुनै पनि व्यक्ति विशेषको सामान नउठाएको र नगर कार्यपालिकाको निर्णयका आधारमा अघि बढेको उनले बताए ।
उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले नगरपालिकाले सडक सौन्दर्यकरण र व्यवस्थित बुटवल बजारका लागि फुटपाथ खाली गर्नेदेखि कुरूप बनाइएका इन्टरनेट केबल तार हटाउने अभियान सँगसँगै सुरु गरेको बताए ।
‘हामीले पहिला व्यवसायीका संघसंस्थाहरूसँगै छलफल गरेर सहमति जुटाएर नै फुटपाथ खाली गराउन सुरु गरेका हौं,’ उनले भने, ‘शनिबार बिहान इन्टरनेट व्यवसायीका प्रतिनिधिसँग छलफल भएको छ, अब कुरूप रूपमा पोलमा राखिएका इन्टरनेटका तार हटाउन पनि सुरु हुनेछ ।’ दुवै अभियान निरन्तर रूपमा अघि बढिरहने उनले बताए । आवश्यकता अनुसार बल प्रयोग पनि गर्नुपर्ने अवस्थामा नगर प्रहरी पछि नफर्किने उनले बताए ।
