चिटिक्क बनाइँदै सडक खन्दा भत्किएका चौपारी

डिभिजन वन कार्यालयको सहयोगमा स्थानीयले ढाकावाङको नाच्ने चौरमा रहेको चौपारी र वरपिपललाई चिटिक्क बनाएका हुन् ।

वैशाख ५, २०८३

वीरेन्द्र केसी

The road is being repaired and the four-storey house destroyed during the excavation work.

What you should know

अर्घाखाँची — जिल्लाको ढाकावाङ नाच्ने चौरमा सडक खन्दा भत्किएको वरपिपल चौतारो स्थानीयले निर्माणपछि रंगरोगन गरेर चिटिक्क बनाएका छन् । डिभिजन वन कार्यालयको सहयोगमा स्थानीयले ढाकावाङको नाच्ने चौरमा रहेको चौपारी र वरपिपललाई चिटिक्क बनाएका हुन् ।

त्यहीँ चौतारीमा अचेल उनीहरुले गाउँका भेला, बैठक गर्न थालेका छन् । अहिले उक्त चौतारो थकान मेट्ने, बिश्राम गर्ने, फोटो–भिडियो खिच्ने थलो बनेको छ । स्थानीयले धार्मिक मान्यता अनुसार वर र पिपलको पूजा पनि गर्छन् । वरपिपलमा चराचुरुगीको आवाजले चौपारीमा बस्न रमाइलो हुने स्थानीय जितेन्द्र खत्रीले बताए ।

‘भत्किएका चौपारी गाउँले सबै मिलेर बनाउँदैछौं,’ खत्रीले भने, ‘गाउँका अन्य ठाउँमा पनि चौतारो बनाउने र वरपिपलको संरक्षण गर्दै छौं । चौपारीलाई रंगरोगन गरेर चिटिक्क बनाउने अभियान नै चलाएका छौं ।’ 

गाउँको चोक, अग्लो ठाउँमा चौतारोलाई खोजीखोजी बनाएको उनले बताए । यहाँ गाउँ पुग्ने मोटरबाटो खन्दा चौतारो मासिए, पुरिएका थिए । अहिले मासिएका चौतारा फेरि बनाइरहेको उनले बताए । 

भूमिकास्थान नगरपालिका–२ ढाकावाङका तुल्सीराम भुसालले सानो छँदा गाउँभर चौतारो देखेका थिए । गाउँलेले महिनौं लगाएर कोदालो, गैंती र बेल्चाले श्रमदानमा चौतारो बनाउँथे । त्यहाँ वरपिपलका रुख लगाइन्थ्यो । त्यहाँ पैदल यात्री बस्ने, गाउँमा कचहरी बस्ने स्थल थियो । उनकै आँखा अगाडि त्यस्ता चौतारा केही पुरिए, केही संरक्षण नभएर हराए । उनको घर अगाडिको चौतारो संरक्षण नहुँदा भत्किएको थियो । वर र पिपलका रुख मात्रै थिए । त्यही चौतारोलाई अहिले संरक्षण गर्न थालिएको छ । 

डिभिजन वन कार्यालयले चौतारो निर्माणको लागि ७० हजार रुपैयाँ सहयोग गरेको थियो । निर्माणको काम स्थानीयले मिलेर गरेका छन् । ‘चौपारीमा वरपिपलको फेदमा बसेर गाउँमा कचहरी बस्थ्यौं,’ उनले भने, ‘शितलमा बसेर गाउँका झगडा, साँधकिला मिलाउने र गाउँको विकासबारे छलफल हुन्थ्यो । पैदल यात्रु चौपारीमै बसेर थकान मार्थे ।’ डिभिजन वन कार्यालय र भू–तथा जलाधार कार्यालयको बजेट र गाउँलेले रकम संकलनसहित श्रमदानमा चौतारो निर्माणको काम भइरहेको हो । डोजर र स्काभेटरले मोटरबाटो खन्दा भएका चौपारी, वरपिपल पनि मासिएका थिए ।  

डिभिजन वन कार्यालयले गतवर्ष ढाकावाङ र अर्घामा चौपारी बनाएको थियो । यो वर्ष ३ वटा चौताराको निर्माण भइरहेको छ । गाउँबाट १८ वटा चौपारी मर्मत तथा निर्माणको लागि माग आएको वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । ‘वर र पिपलको विरुवा हुर्काउनै मुस्किल हुन्छ, लोप हुन लागेकाले संरक्षण गर्न लागेका छौं,’ खड्काले भने, ‘धार्मिक, प्राकृतिक, जैविक दृष्टिले महत्वपूर्ण भएकाले जोगाउने प्रयासमा छौं । चौपारीको इतिहास संरक्षण भइरहेको छ ।’ पुराना ठाउँ खोज्दै र केही नयाँ ठाउँमा पनि बनाउने काम भइरहेको उनले बताए । जिल्लाभर यसअघि भएका र पुरिएका चौताराको अभिलेख तयार गर्न लागिएको पनि उनले बताए । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully