आक्रामक शैलीमा बुटवलका फुटपाथ खाली गराइँदै

बुटवलमा उपमहानगर प्रहरी 'गुण्डागर्दी शैली'मै उत्रिएको व्यवसायीले आरोप लगाएका छन् भने उठाइएका सामानको विवरण पनि अभिलेख नगरिएको उनीहरुको दाबी छ ।

वैशाख ४, २०८३

घनश्याम गौतम

Butwal's sidewalks are being cleared in an aggressive manner

What you should know

बुटवल — बुटवल उपमहानगर प्रहरीले सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानलाई दैनिक रूपमै निरन्तरता दिएको छ । पहिलो र दोस्रो दिन आक्रामक देखिएको नगरपालिका तेस्रो दिन शुक्रबार भने नरम देखिएको छ । 

नगरपालिकाले पहिलो दिन अस्पताल लाइन, भुड्की चोक र मिलन चोक क्षेत्रमा अनुगमन गरेको थियो । त्यस क्रममा भुड्की चोकमा भुड्की व्यवसाय गरिरहेका व्यवसायीका सामान तोडफोड गर्नेदेखि घरको पेटी र छानो हटाउने काम गरेको थियो । त्यस्तै, मिलन चोक क्षेत्रमा सडकमै रिकण्डिसन पसल खोलेर मोटरसाइकल राख्नेहरुको सामान उठाएको थियो । दोस्रो दिन बिहीबार अमरपथका सिरक डसना, राममन्दिर लाइनका फेन्सी र भाँडा पसल भएका क्षेत्रमा अनुगमन गरेको थियो । 

Butwal's sidewalks are being cleared in an aggressive manner

नगर प्रहरी, नेपाल प्रहरी, नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, पूर्वाधार शाखाका कर्मचारीसहित अनुगमनमा निस्किएको नगरपालिकाको टोली र व्यवसायीबीच धक्कामुक्कीकै अवस्था भएको थियो । व्यवसायी आक्रमणमा उत्रिएको भन्दै आक्रामक बनेका नगर प्रहरीहरूले व्यवसायीका सिरक, डसना, झोला, भाँडा वर्तनसमेत उठाएका थिए । तर, तेस्रो दिन शुक्रबार नरम रूपमा प्रस्तुत भएका नगर प्रमुख खेलराज पाण्डेले आवश्यकता अनुसार आक्रामक र नरम बन्ने बताए । ‘दोस्रो दिन व्यवसायीहरू नगर प्रहरी माथि नै जाइलाग्नु भयो, त्यसैले अलि बढी आक्रामक हुनुपरेको हो,’ उनले भने, ‘हामीले कसैको अनुहार हेरेका छैनौँ, बुटवललाई सुन्दर र अनुशासित व्यवसायी बस्ने सहर बनाउने उद्देश्य मात्र हो ।’ सूचना र माइकिङसमेत गरेर जानकारी दिँदा पनि अटेरी गरेपछि आक्रामक बन्नु परेको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीका अनुसार नगरपालिकाले १५ दिनअघि सूचना प्रकाशित गरेर फुटपाथ खाली गर्न निर्देशन दिएको थियो । त्यसअघि कार्यपालिका बैठकमा छलफल र निर्णय गरिएको थियो । ‘सूचनासँगै निरन्तर माइकिङ पनि गरेर जानकारी गराइएको थियो,’ उनले भने, ‘तर, पुराना व्यवसायी र रिकण्डिसन व्यवसायीहरूले अटेरी गरेपछि डोजर र त्रेनसहित बजारमा निस्किनु परेको हो ।’ अभियान तीन महिनासम्म निरन्तर चल्ने र त्यसपछि पनि अनुगमन जारी रहने उनले बताए ।

Butwal's sidewalks are being cleared in an aggressive manner

व्यवसायीहरूले भने नगरपालिका दादागिरी र गुण्डा शैलीमा आक्रमणमा उत्रिएको बताएका छन् । नगर प्रहरीले बुटवल अमरपथको थापा किचन, गौरीशंकर भाँडा पसल, सिटी ब्याग हाउसमा धरपकड नै गरेका थिए । नगर प्रहरीले थापा किचन र गौरीशंकरबाट दर्जनभन्दा बढी पसलबाट भाँडा, सिटी ब्याग हाउसबाट झोला, सिरक डसना पसलबाट डनलप, डसना, सिरकहरू उठाएका थिए । सिटी ब्याग हाउसका विजय रायमाझीले प्रहरीले सटर भित्रैसमेत पसेर सामग्री लुटेर लगेको बताए । ‘नगरपालिकाले गुण्डागर्दी शैली अपनाएको छ,’ उनले भने, ‘मैले घरको पेटीमा राखेको सामग्री हटाउँछु भन्दाभन्दै उठाएर टिपरमा हाल्यो ।’ अब राख्दैनौँ भनेर प्रतिबद्धता जनाउँदासमेत सुनुवाइ नगरी उठाएर लगेको उनको दाबी छ । उनले आफ्नो पसलबाट दुई दर्जन बढी झोला, पसलमा घाम छेक्न बनाइएको ४० हजार पर्ने पर्दा पनि भाँचेर लगेको उनले बताए । थापा किचनका सुरज थापाले पनि घरको पेटीमै राखिएका सामग्री केही समय पनि नदिई उठाएर लगेको गुनासो गरे ।

नगरपालिकाले शुक्रबार पुनः बसपार्कदेखि राजमार्ग चौराहा र चौराहाबाट पूर्व तर्फका केही घरका सडक पेटीमा पनि अनुगमन गरेको थियो । अघिल्ला दुई दिनको तुलनामा व्यवसायीहरूले सडक पेटीबाट सामान हटाएकोले पनि आक्रामक बन्न नपरेको नगर उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उठाइएका सामानहरू अहिले गोदाममा बन्द गरेर राखिएको र अनुगमन सकिएपछि त्यसको विवरण संकलन गर्ने नगरपालिकाले जनाएको छ । कुन पसलबाट उठाइएको भन्ने विवरण नखुले पनि कति सामग्री उठ्यो र कस्तो अवस्थाको छ भन्ने खुलाएपछि त्यसको मूल्यांकन गरेर के गर्ने भन्ने निर्णय गर्न प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully