‘शान्तिका लागि साइकल यात्रा’ मा करिब १०८ साइकलयात्री सहभागी हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
काठमाडौं — विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखमा काठमाडौंदेखि लुम्बिनीसम्म चारदिने साइकल यात्रा गर्ने भएको छ । ‘शान्तिका लागि साइकल यात्रा’ मा १ सय ८ साइकलयात्री सहभागी हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उनीहरूले काठमाडौंबाट लुम्बिनीसम्म यात्रा गर्नेछन्, जुन गौतमबुद्धको जन्मस्थल हो । यात्राको उद्घाटन २८ अप्रिलमा काठमाडौंमा हुनेछ भने १ मेमा बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा समापन हुनेछ ।
सहभागीहरू काठमाडौंबाट हेटौंडा, नारायणघाट, कावासोती, दाउन्ने र भैरहवा हुँदै लुम्बिनी पुग्नेछन् । आयोजकका अनुसार विश्वका विभिन्न भागमा युद्ध र द्वन्द्व जारी रहेको अवस्थामा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउन साइकल यात्रा आयोजना गरिएको हो ।
आयोजकका अनुसार १ मेमा लुम्बिनीमा हजारौं मानिस मायादेवी मन्दिर दर्शन, बोधिवृक्षमुनि ध्यान, विश्व शान्तिका लागि विशेष प्रार्थना तथा दीप प्रज्वलनमा सहभागी हुनेछन् । २ मेमा ध्यान कार्यक्रम आयोजना गरिनुका साथै श्याल्पा रिन्पोछेद्वारा लिखित पुस्तक 'द पाथ टू पर्फेक्ट फ्रिडम' को नेपाली अनुवाद सार्वजनिक गरिनेछ । श्याल्पा रिन्पोछेले संयुक्त राष्ट्र संघ, वर्ल्ड ईकोनमिक फोरम र ह्वाइट हाउसजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बुद्ध, लुम्बिनी र विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।
