भैरहवामा छाडा कुकुरको बन्ध्याकरण शिविर

पशुपन्छी निर्देशनालय लुम्बिनी प्रदेशका महानिर्देशक श्रवणकुमार चौधरीले छाडा कुकुरले मानिस र पशुपन्छीलाई टोकेर ठूलो हानि-नोक्सानी पुर्‍याउने गरेकाले छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण शिविर चलाइएको बताए ।

चैत्र २९, २०८२

माधव ढुंगाना

Stray dog ​​sterilization camp in Bhairahawa

What you should know

भैरहवा — रेविजको प्रकोप न्यूनीकरण र छाडा कुकुर नियन्त्रण गर्न आइतबारदेखि भैरहवामा दुई दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र रूपन्देहीको आयोजनामा शिविर सञ्चालन भएको हो । कुकुर बन्ध्याकरण गर्न केन्द्रले नेपालगन्जस्थित होराइजन भेटेरिनरीसँग सम्झौता गरेको छ । शिविरमा १ सय ३५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने जनाइएको छ । 

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र रूपन्देहीका प्रमुख डा.परवेज आलमले रेविज रोग सार्ने र छाडा कुकुरको आतंकलाई नियन्त्रण गर्न त्यस्ता कुकुरको बन्ध्याकरण गरी रेविजको भ्याक्सिन लगाउने गरिएको बताए ।

उनका अनुसार सन् २०३० सम्ममा कुकुरबाट हुने रेविज लाग्ने दरलाई शून्यमा झार्ने विश्वव्यापी अभियानलाई सफल बनाउन एकमात्र प्रभावकारी उपाय कुकुरको बन्ध्याकरण गरी रेविजको क्याक्सिन लगाउनु हो । पशु कल्याण निर्देशिका, २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ ।

पशुपन्छी निर्देशनालय लुम्बिनी प्रदेशका महानिर्देशक श्रवणकुमार चौधरीले छाडा कुकुरले मानिस र पशुपन्छीलाई टोकेर ठूलो हानि-नोक्सानी पुर्‍याउने गरेकाले छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण शिविर चलाइएको बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविज भ्याक्सिन लगाउनका लागि वार्षिक करिब ५० लाख रुपैयाँ खर्च हुने गरेको छ । गत वर्ष लुम्बिनी प्रदेशमा रेबिज संक्रमित सामुदायिक कुकुरले टोकेर ५० भन्दा धेरै गाई–भैंसी मरेका थिए ।

सार्वजनिक स्थलमा फेला पर्ने छाडा कुकुर नियन्त्रणमा लिनेदेखि बन्ध्याकरण गरेर कुकुरलाई नियन्त्रणमा लिइएकै स्थानमा लगेर छाड्नेसम्मका लागि चिकित्सकसहित करिव १५ जनाको जनशक्ति परिचालन गरिएको छ । बन्ध्याकरण गरिएको कुकुरको कानमा अलिकता चिरेर संकेत चिन्ह पनि  छोड्ने गरिएको छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully