टालीको साइज घटाएर उपभोक्ता ठग्दै टिपर र ट्याक्टर ।
What you should know
बुटवल — मापदण्ड विपरीत स्वरूप परिवर्तन गरेर उपभोक्ता ठग्ने गरेका टिपर र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उपभोक्ता ठगी गर्ने उद्देश्यले टालीको साइज घटाएका टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो
इलाका प्रहरी कार्यालय बुटवलले बुटवल र सैनामैनाका विभिन्न स्थानबाट १३ वटा टिपर ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । त्यस्तै स्वरूप परिवर्तन गरेका ५३ वटा मोटरसाइकल र ४ वटा अटोरिक्सा पनि नियन्त्रणमा लिएर कारबाही गर्न लागिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए ।
टिपर र ट्याक्टरले नदीजन्य सामग्री खरिद बिक्रीमा ढाला घटाएर उपभोक्तालाई न्यून परिणाममा उपलब्ध गराउने गरेको, च्यादर बाक्लो राखेको लगायतका विवरण देखिएपछि नियन्त्रणमा लिइएको उनले बताए । ‘सबै गरेर ७९ वटा सवारी साधन नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘यातायात व्यवस्था कार्यालयको मापदण्ड विपरीत स्वरूप परिवर्तन गरेका सबै सवारी साधनलाई पहिलो पटक भएकाले चेतावनी स्वरूपको कारबाही गरेर पठाउने तयारी छ ।’
दोस्रो पटक पटके देखिएमा फौजदारी अभियोगमा कारबाही हुन सक्ने उनले बताए । डीएसपी श्रीवास्तवका अनुसार प्रहरीले ग२ख ०२१६, लु२ख ३२८५, रा १ख२२२३, लुम्बिनी प्रदेश ०१–००१०३८४ नम्बरका (हाइवा) टिपर तथा लु१त ६८४२, लु४त ५८२७ र लु२त ४८३४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । पक्राउ परेकाहरूले प्रत्येक सवारी साधनमा ३० घनमिटरभन्दा बढी साइज घटाइ उपभोक्ता ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
त्यस्तै प्रहरीले स्वरूप परिवर्तन गरेका ५३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन गरेर चर्को आवाज आउने गरी मोटरसाइकल कुदाउने, होहल्ला गर्ने, ध्वनि प्रदूषणलगायतका समस्या बढेपछि प्रहरीले अभियान संचालन गरेर सवारी साधन नियन्त्रणमा लिन थालेको जनाएको छ ।
