प्रचलित मापदण्ड तथा निर्देशिकाअनुसार जिम्मेवारीपूर्वक सम्बन्धित निकायमा रिपोर्ट गर्ने उनीहरूको भनाइ छ ।
पाल्पा — पाल्पाका औषधि व्यवसायीले समुदायस्तरमा औषधिसम्बन्धी सर्तकता र प्रतिकूल प्रभावको आगामी रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाएका छन् ।
तानसेन नगरपालिकाको आयोजना र औषधि व्यवसायी संघ पाल्पाको सहआयोजनामा भएको 'औषधीय सतर्कता तथा औषधिको प्रतिकूल प्रभाव रिपोर्टिङ' सम्बन्धी छलफल तथा अन्तरक्रियापछि औषधी व्यवसायीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
समुदायस्तरमा पहिलो पटक औषधिको प्रतिकुल प्रभाव रिपोर्टिङ गर्ने घोषणपत्रसमेत जारी गरेको तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए ।
कार्यक्रममा पाल्पाका अस्पताल, सरकारी, निजी तथा औषधि पसलमा काम गर्ने फार्मासिस्ट, स्वास्थ्यकर्मी, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सहभागी थिए ।
जिल्लाका विभिन्न क्षेत्रबाट सहभागीले औषधिको सुरक्षित प्रयोग, प्रतिकूल प्रभावको पहिचान, व्यवस्थापन तथा औषधिको प्रतिकूल प्रभावको रिपोर्टिङ प्रणाली सम्बन्धी आवश्यक ज्ञान तथा सीप हासिल गरेको घोषणा गर्दै प्रतिबद्धता जनाएका छन् । सहभागीले औषधि प्रयोगपश्चात् देखिन सक्ने प्रतिकूल प्रभाव पहिचान, वर्गीकरण, जोखिम मूल्यांकन तथा सम्बन्धित निकायमा समयमै रिपोर्टिङ गर्ने प्रक्रियासम्बन्धी स्पष्ट बुझाइ प्राप्त गरेको प्रतिक्रिया दिएको तानसेन नगरपालिकाका जनस्वास्थ्य निरीक्षक चन्द्रतारा बस्यालले बताए ।
आफ्नो कार्यक्षेत्र, सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीभित्र देखिने औषधिको कुनै पनि प्रतिकूल प्रभावलाई प्रचलित मापदण्ड तथा निर्देशिकाअनुसार जिम्मेवारीपूर्वक सम्बन्धित निकायमा रिपोर्ट गर्ने सहभागीले बताएका छन् ।
औषधिको सुरक्षित तथा तर्कसंगत प्रयोग प्रवर्धन तथा बिरामीको सुरक्षा सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको औषधि व्यवस्था विभागमा कार्यरत अधिकृत तथा पोखरा विश्वविद्यालयका अनुसन्धानकर्ता बुद्धिबल चिदीले बताए । क्लिनिकल फार्मेसीमा स्नातकोत्तर तहमा अध्ययन गर्ने क्रममा अनुसन्धानका लागि जिल्लामा यस्तो कार्यक्रमको प्रभाव र यसलाई अघि बढाउन सकिन्छ वा सकिँदैन भन्ने नमुना अभ्यास गर्न लागेको उनको भनाइ छ ।
पोखरा विश्वविद्यालयका उपप्राध्यापक सञ्जय सुवेदीले औषधिको सुरक्षित प्रयोग तथा यसले समुदायमा कस्तो प्रभाव पारेको छ भन्ने विषय नेपालका लागि नयाँ अभ्यास भएको बताए । ‘विदेशमा यस्तो प्रक्रिया लामो समयदेखि नै चलिरहेको छ,’ उनले भने, ‘तर नेपालमा भने समुदायस्तरमा कस्तो प्रभाव परेको छ भन्ने अनुसन्धान नै हुन सकेको छैन । रिपोर्टिङ पनि गर्ने प्रचलन छैन । अब अनुसन्धान गरिसकेपछि कसरी अघि बढ्न सकिन्छ भन्ने जानकारी पाइन्छ ।’
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी नमुनाको रुपमा पाल्पामा कार्यक्रम सुरुवात गरे पनि यसलाई सबै जिल्लामा विस्तार गर्न औषधि व्यवस्था विभागबाटै पहल हुनुपर्ने बताए । नेपाल औषधि व्यवसायी संघ पाल्पाका अध्यक्ष समीरमान सिंहले जिल्लामा पहिलो पटक नयाँ खालको कार्यक्रम लागु भएकाले यसको निरन्तरताको आवश्यकता रहेको बताए ।
