संघीय सरकारले सहिदमार्गको दूरी घटाइएकोमा पनि आपत्ति जनाउँदै मुख्यमन्त्री आचार्यले काक्रीबाट मैकोटसम्मको सडकलाई सहिदमार्गमै कायम गराउन आफ्नो ठाउँबाट सकेको पहल गर्ने प्रतिबद्वता पनि जनाए ।
रूकुम पूर्व — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रूकुम पूर्व लुम्बिनी प्रदेशको गहनाको रूपमा रहेको बताएका छन् ।
शनिबार पुथाउत्तरगंगा गाउँपालिकाको पर्यटकीय गाउँ तकसेरा पुगेका आचार्यलाई गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले यो ठाउँको प्रचारप्रसार गर्न र आम्दानीसँग जोड्नुपर्ने जनाएका हुन् । साथै संघीय सरकारले सहिदमार्गको दूरी घटाइएकोमा पनि आपत्ति जनाउँदै मुख्यमन्त्री आचार्यले काक्रीबाट मैकोटसम्मको सडकलाई सहिदमार्गमै कायम गराउन आफ्नो ठाउँबाट सकेको पहल गर्ने प्रतिबद्वता पनि जनाए ।
'जिल्लाको समग्र विकासमा प्रदेश सरकार गम्भीर छ । सडक नपुगेका ठाउँमा बनाउने र पर्यटनका पूर्वाधार विकास गरेर यसलाई व्यावसायिक बनाउन हरतरहले हामी लाग्नेछौं,' उनले भने, 'तकसेराको विकास र प्रचारप्रसारका लागि पनि हामी थप काम गरेर अघि बढ्नेछौं ।'
प्रदेश राजधानी देउखुरीबाट बागलुङको बुर्तिबाङ हुँदै मध्यपहाडी लोकमार्गमार्फत यात्रा गरेका आचार्यलाई भूमे गाउँपालिका-१ लुकुममा स्वागत गरेर आज पुथाउत्तरगंगा तकसेरामा गाउँपालिकाले स्वागत गरेको हो ।
आज तकसेरामै बास बसेर भोलि जिल्ला सदरमुकाम रूकुमकोटमा निर्माण सम्पन्न भएको ५० शय्याको रूकुम पुर्व अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । यो भ्रमणमा मुख्यमन्त्री आचार्यसँगै स्वास्थ्यमन्त्री खेम सारू, रूकुम पूर्वबाट निर्वाचित प्रदेशसभा सदस्य सुरूल पुन र डिलकुमारी बुढालगायत छन् ।
