लुम्बिनीका बिजुली बस पाेखरा, सुर्खेत, नेपालगन्ज र धनगढी विमानस्थलमा चलाउने तयारी

एक महिनाअघि पर्यटन मन्त्रालयकाे सचिव स्तरीय निर्णयबाट नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय गरिएसँगै यी बस पाेखरा, सुर्खेत,धनगढी र नेपालगन्ज पठाउन लागिएको हाे ।

चैत्र २७, २०८२

दीपेन्द्र बडुवाल

Lumbini's electric buses are preparing to operate at Pokhara, Surkhet, Nepalgunj and Dhangadhi airports.

भैरहवा — पाँच वर्षदेखि लुम्बिनीमा अलपत्र बिजुली बस यहाँबाट लगेर पाेखरा, सुर्खेत, नेपालगन्ज र धनगढी विमानस्थलमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

एक महिनाअघि पर्यटन मन्त्रालयकाे सचिव स्तरीय निर्णयबाट नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय गरिएसँगै यी बस पाेखरा, सुर्खेत,धनगढी र नेपालगन्ज पठाउन लागिएको हाे ।

गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि यी बस ल्याइएकाे थियाे । तर, सञ्चालन प्रक्रिया झण्झटिलाे भएपछि बस घामपानीमा अलपत्र थिए । एक महिनाअघि मन्त्रालयले गरेकाे निर्णय आधारमा अहिले यी बस लुम्बिनी विकास काेषले गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको छ ।

लुम्बिनीका लागि ल्याइएका बस गाैतमबुद्व विमानस्थलमा सञ्चालन नगरी जिल्ला बाहिर पठाउन लागिएको हाे। गौतमबुद्ध विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले पाँचमध्ये दुई वटा बस पाेखरा, धनगढी, नेपालगन्ज र सुर्खेत एक–एक वटा बस सञचालन गर्ने गरी निर्णय गरिएको जानकारी दिए ।

यसअघि गौतमबुद्ध विमानस्थलमा ल्याएर शटल बसका रुपमा सञचालन गर्न दिन माग गरिएको थियो । तर, माग बेवास्ता गरेर बस अन्यत्र पठाइएको हो । 'कम्तीमा दुई वटा बस  भैरहवालाई दिनुपर्छ भनेर माग गरिरहेको छाैं,' उनले भने, 'यहीँका लागि ल्याइएका बस भैरहवामा चलाउँदा उपयुुक्त हुने राय दिएका छाैं ।'

बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै ५ वर्षअघि विद्युतीय पाँचवटा बस र १४ भ्यान लुम्बिनी ल्याइएको थियो । एसियाली विकास बैंकको अनुदानमा प्राप्त ५ वटा अत्याधुनिक बस र १४ वटा भ्यान उचित कार्यविधि र मर्मतको अभावमा थन्किएका छन् । सुरुमा यी बस काठमाडौं पठाउन लागिएको थियाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि लुम्बिनी विकास काेषले दुई वटा बस दुई दिन चलाएर विमानस्थलको जिम्मा लगाइएको हो ।

१३ करोड मूल्यका यी सवारीसाधन लामो समय घाम र पानीमा थन्किँदा अधिकांशको एसी र अन्य पार्टपूर्जा बिग्रिएका छन् । कोषका अनुसार मर्मतका लागि मात्रै करिब एक करोड रुपैयाँ लाग्ने अनुमान छ । ती बसलाई अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको छ । सबै बसका एसी बिग्रिएका छन् । भ्यान आधा बिग्रिएर ग्यारेजमा थन्क्याइएको छ । आधा भ्यान विकास कोषका पदाधिकारी र कर्मचारी चढेर हिंड्छन् । जसले गर्दा दुरुपयोग भएको भन्दै आलोचना भइरहेको छ ।

दीपेन्द्र

Link copied successfully