अन्तर्राष्ट्रिय नियम अनुसार दुई–दुई वर्ष अन्तरालमा विमानस्थलमा पूर्ण आपतकालीन उद्धार अभ्यास गरिँदै आएको छ।
What you should know
भैरहवा — यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान पूर्ण आपतकालीन उद्धार अभ्यास गरिएको छ। अन्तर्राष्ट्रिय नियम अनुसार दुई–दुई वर्ष अन्तरालमा पूर्ण आपतकालीन उद्धार अभ्यास गरिँदै आएको छ । विमानस्थलका अनुसार गत वर्ष आंशिक आपतकालीन उद्धार अभ्यास गरिएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको खण्डमा आपकालीन उद्धार कार्य कसरी प्रभावकारी ढंगले गर्न सकिन्छ भनेर यस्तो अभ्यास गरिँदै आएको छ । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा यदाकदा दुर्घटना भइहालेमा कसरी प्रभावकारी उद्धार कार्य गर्ने भनेर यो अभ्यास गरिएको हो,’ गौतमबुद्ध विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले भने, ‘यस्ता दुर्घटनाबाट हुने जनधनको क्षति कसरी कम गर्ने भन्ने अभ्यास हो ।’ उनका अनुसार आंशिक अभ्यासमा विमान दुर्घटनामा न्यून क्षति देखाइन्छ । पूर्ण अभ्यासमा मानवीय क्षति भएको कल्पना गरेर अभ्यास गरिँदै आएको छ ।
शुक्रबार विमानस्थलको अगुवाईमा भएको अभ्यासमा जिल्लास्थित प्रशासन, सेवा, सशस्त्र र नेपाली प्रहरी, अस्पतालहरु, रेडक्रस, रक्तसंचार, एम्बुलेन्स सेवा प्रदायक, वायु सेवा कम्पनीका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत उपस्थित थिए ।
अभ्यासका क्रममा थाइल्याण्डबाट भैरहवाका लागि उडान भरेको विमान अवतरणका क्रममा गौतमबुद्ध विमानस्थलको धावनमार्गमा दुर्घटना भएर आगो लागेको नमुना प्रदर्शन गरिएको थियो । विमानमा आगलागी भएपछि त्यहाँ रहेका वारुणयन्त्रले आगो निभाएका थिए । सुरक्षाकर्मीले तत्काल उद्धार खटिएका थिए ।
एम्वुलेन्सले घाइतेलाई तत्काल अस्पताल पुर्याएका थिए । सामान्य घाइतेको विमानस्थलमै प्राथमिक उपचार गरिएको थियो । यसका लागि जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा समन्वय, उद्धार र कमाण्ड टिम बनाइएको थियो । ‘छिटो उद्धार, औषधोपचार र अवरुद्ध विमानस्थल सञ्चारकालागि आपतकालीन उद्धार अभ्यास गरिएको हो,’ निमित्त महाप्रबन्धक साहले भने, ‘उद्धार कार्यका बेला सरोकारवालाबीच सन्चारको ठूलो महत्व हुन्छ, दुर्घटना हुने वित्तिकै टावरबाट हुने खबर जति चाँडो विमानस्थल प्रशासनमा पुग्छ, त्यति छिटो समन्वयको काम हुन्छ । जति छिटो उद्धार कार्यमा खटिने निकायसम्म सूचना पुर्याउन सक्यो, त्यति क्षति कम हुन्छ ।’
छिटो उद्धारका लागि उद्धारमा खटिनलाई दक्षता आवश्यक हुन्छ । त्यहीँ दक्षता हाँसिल गर्न तालिमका रुपमा यस्तो अभ्यास गरिएको उनले बताए । अभ्यास कार्यमा विमानस्थलका कर्मचारीसँगै बुटवलस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीपति सहायक रथी विमलराज शर्मा, कालिभक्ति गणका प्रमुख सेनानी वीरेन्द्रबहादुर सिंह, प्रहरी उपरीक्षक जनक शाही, सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, गौतम बुद्ध विमानस्थलका प्रहरी उपरीक्षक पुष्पराज मल्ल लगायत सरकारी कार्यालय, अस्पताल र मेडिकल कलेजका प्रतिनिधि सहभागी थिए ।
