पाल्पा पूर्वखोलाका ६० जनाको मोतियाविन्दु शल्यक्रिया 

गाउँपालिकाका ६ वटै वडामा राखेको आँखा परीक्षण शिविरबाट मोतियाविन्दु पहिचान भएका ९२ जनामध्ये ६० जनाको शल्यक्रिया गरिएको हो

चैत्र २६, २०८२

माधव अर्याल

Cataract surgery for 60 people from Palpa Purba Khola

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकाका ६० जनालाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको सहयोगमा गाउँघरमै पुगेर स्क्रिनिङ र शल्यक्रिया गरेपछि यहाँका नागरिकले पुनः दृष्टि पाएका हुन् । 

गाउँपालिकाका ६ वटै वडामा राखेको आँखा परीक्षण शिविरबाट मोतियाविन्दु पहिचान भएका ९२ जनामध्ये ६० जनाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । पूर्वखोलाको रिङ्नेरह, सिलुवा, जल्पा, देवीनगर, हेक्लाङमा गरी १ हजार १२३ नागरिकको आँखा स्क्रिनिङ गरिएको थियो । 

गाउँगाउँमा पुगेर पूर्ण अन्धोपनबाट जोगाउन शल्यक्रिया शिविर ३ नम्बर वडामा रहेको रिङनेरह स्वास्थ्य चौकीमा मिलाइएको हो । गाउँमै आँखा परीक्षण भएपछि मोतियाविन्दु भएकाहरूले निःशुल्क शल्यक्रियामार्फत पुनः दृष्टि पाएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । गाउँपालिकाले समयमै आँखा परीक्षण गराई सम्भाव्य अन्धोपन हटाउने वडातहमै अभियान सञ्चालन गर्दा धेरै फाइदा पुगेको बताएका छन् । 

Cataract surgery for 60 people from Palpa Purba Khola

शल्यक्रिया शिविरका लागि तानसेनस्थित पाल्पा लायन्स लाकौल आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो । पूर्वखोला गाउँपालिका–३, रिङ्नेरहस्थित स्वास्थ्य चौकीमा शल्यक्रिया गरिएको हो । ‘वडा वडामा पुगेर स्क्रिनिङ गर्दा पहिचान भएका सबै बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखेका हौं,’ स्वास्थ्य शाखा प्रमुख ढकालले भने, ‘कतिपयको स्वास्थ्य जटिलताका कारण सबैको शल्यक्रिया गर्न नसकिएको हो ।’ लायन्स लाकौल आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आँखाको उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराएको हो । 

दुई दिनसम्म चलेको शल्यक्रिया शिविरमा नेत्र चिकित्सक डा. बेबिका फुँयाल, बाहृय कार्यक्रम संयोजक सन्तोष दर्जी, नेत्र प्राविधिक मीनबहादुर कार्की, शल्यक्रिया सहायक सावित्री बंशी मल्ललगायतले प्राविधिक सहयोग गरेका थिए । भौगोलिक विकटताका कारण साथै पैसा अभाव भएर महँगो उपचार गर्न नसकेकाहरूलाई शिविरले फाइदा पुगेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । गाउँपालिकाले ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले  नि:शुल्क आँखा शिविर गरिएको हो । 

गाउँपालिकाको आयोजना तथा पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक समन्वयमा चैत ९ गतेदेखि १८ गतेसम्म दुई चरणमा सञ्चालित शिविरबाट सबै वडाका नागरिक प्रत्यक्ष लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।

‘पालिकाभित्रका नागरिकको आर्थिक व्ययभार कम गर्न र समयको बचत गराउन घरदैलोमै विशेषज्ञ सेवा पुर्‍याइएको हो,’ उनले भने । स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिलाई जनताले स्वास्थ्य सेवामार्फत महसुस गरेको उनले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully