संघले बिहीबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो ।
बुटवल —
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले बिहीबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो ।
संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रदेशमा प्रसारण कार्यालय भएका टेलिभिजनहरूको संरक्षणका लागि तत्काल कार्यक्रम कार्यान्वयन आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले दिने विज्ञापन अनुदानबापतका टेलिभिजन कार्यक्रमका लागि हालसम्म सम्झौता नभएको उल्लेख गर्दै तत्काल सम्झौता गरी प्रसारण सुनिश्चित गर्न माग गरे ।
त्यसैगरी, प्रदेश सभा तथा विभिन्न मन्त्रालयहरूले दर्ता भएका टेलिभिजनलाई बेवास्ता गर्दै आफैं कार्यक्रम सञ्चालन गरिरहेको भन्दै त्यस्ता गतिविधि रोक्न र आधिकारिक टेलिभिजनमार्फत मात्र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । संघले विगतमा लुम्बिनी प्रदेश सरकारले गठन गरेको यमबहादुर गाहा (मिलन) नेतृत्वको प्रतिवेदन कार्यान्वयन नभएकोप्रति पनि गम्भीर ध्यानाकर्षण गराउँदै सो प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले संघको ध्यानाकर्षणप्रति सरकार गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि सरकारले काम गर्ने बताए । भेटमा राष्ट्रिय टेलिभिजन प्रशारण संघका पूर्व अध्यक्ष नरेश केसी, सहसचिव नवीन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
