लुम्बिनीमा मनाइयो सिँचाइ दिवस

जलवायु चुनौतीप्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह ।

चैत्र २५, २०८२

दुर्गालाल केसी

Irrigation Day celebrated in Lumbini

What you should know

दाङ — लुम्बिनी प्रदेशको दाङ  देउखुरीमा प्रभातफेरी तथा मूल समारोह आयोजना गरेर सिँचाइ दिवस मनाइएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताए ।

मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरू सुक्दै जानु र जमिन सुख्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको बताए । उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उनले बताए ।‘नदीहरू सुक्दै जाँदा समस्या बढ्न सक्छ । जलाशयहरू निर्माण गरेर पानीको स्रोत संरक्षण गर्न जरुरी छ,’ उनले भने, ‘हामी संवेदनशील भएनौं भने उत्पादनशील जमिन खण्डहर हुने अवस्था रहन्छ । वैकल्पिक रूपमा ड्याम र जलाशय बनाएर अघि बढ्न जरुरी छ ।’ उनले सिँचाइ सुविधा पुगेका क्षेत्रमै पनि जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार किसानलाई उत्पादनमा जोड्न प्रतिबद्ध रहेको बताए ।

प्रदेश स्थापना हुँदाको अवस्थामा १२ महिना सिँचाइ सुविधा पुगेको जमिन २० प्रतिशत मात्रै रहेको स्मरण गर्दै उनले अहिले त्यो ३५ प्रतिशत पुगेको जानकारी दिए । यस उपलब्धिबाट उत्साहित हुँदै वैज्ञानिक र दिगो ढंगले सिँचाइ विकासलाई अगाडि बढाउनुपर्ने उनले बताए ।

मुख्यमन्त्री आचार्यले जलस्रोत संरक्षणका लागि जलाशय, ड्याम निर्माण तथा चुरे क्षेत्रमा पानी संरक्षणका उपायहरू लागू गर्नुपर्ने आवश्यकता औंल्याए । भूमिगत पानीको सतह घट्दै जानु र खोलानाला सुक्दै जानुले भविष्यमा ठूलो संकट निम्त्याउन सक्ने चेतावनी उनले दिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले बाह्रै महिना सिंचित हुने क्षेत्रको विस्तारलाई बढाइरहेको बताइन् । पूर्वमुख्यमन्त्री जोखबहादुर महराले सिँचाइ क्षेत्रलाई कृषि विकासको आधारका रूपमा प्राथमिकतामा राख्नुपर्ने बताए । पूर्वसिँचाइमन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइसकेको उल्लेख गर्दै किसानको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे ।

प्रदेश योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिंचाइ पूर्वाधारको सुदृढीकरणमा जोड दिए । प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भीमलाल चौधरीले कृषि क्षेत्रको विकासका लागि सरकारले सिंचाइ क्षेत्र विस्तारका लागि ध्यान दिनुपर्ने बताए ।

मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गरे । बबई सिँचाइ आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनासँग सम्बन्धित प्रतिनिधिले आयोजनाको अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।

कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समिति, देउखुरीलाई उत्कृष्ट जल उपभोक्ता समितिका रूपमा सम्मान गरिएको छ । त्यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दियाका प्राविधिक अधिकृत हरिप्रसाद अवस्थी र गुल्मीका कार्यालय सहयोगी पोमनारायण सुवेदीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरियो ।

कार्यक्रममा विभिन्न सरोकारवाला, योजना आयोगका सदस्य, प्राविधिक तथा किसान प्रतिनिधिहरूको सहभागिता थियो । महाशाखा प्रमुख केशवराज रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्त्रालयका वरिष्ठ इञ्जिनियर चन्द्र रानाले गरेका थिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully