बुधबार मध्याह्नदेखि परेको झरीले दाउन्ने सडक खण्ड चिप्लो भएर राजमार्गमा सवारी साधनकाे लामो जाम भएको हो ।
What you should know
नवलपरासी — झरीले सडक चिप्लिएका कारण अवरुद्ध दाउन्ने सडक खण्डमा केहीबेर अघिबाट सवारी साधन वारपार हुन थालेका छन् । बिहान ८ बजेदेखि रोकिएका गाडी अहिले ४ बजेतिर गन्तव्यतर्फ लागेका हुन् ।
बुधबार मध्याह्नदेखि परेको झरीले दाउन्ने सडक खण्ड चिप्लो भएर राजमार्गमा सवारी साधनकाे लामो जाम भएको थियो । 'अहिले केहीबेर अघि बिहानदेखि रोकिएका गाडी वारपार गराएका छौं । केही सहज भएको छ,' दाउन्नेमा रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख कुशल बर्तौलाले भने, 'हिलाम्य राजमार्गमा ग्राभेल राखेर यातायात सहज बनाइँदै छ ।'
दुम्कीवासदेखि ४ किलोमिटर पश्चिमतर्फको पहाडमा राजमार्ग हिलाम्य भएर गाडी उकालो चढ्न नसकेर समस्या भएको हो । एक्साभेटरले धकेलेर गाडी वारपार गराउने काम भैरहेको बर्तौलाले जानकारी दिए ।
'बिहान ८ बजेतिर बर्दघाटबाट नारायणगढतर्फ आएका हौं । ७ किलोमिटर सडक काट्न ६ घण्टाभन्दा धेरै समय लाग्यो,' पोखराका अबिन बरालले भने, 'दाउन्नेको यस्तो दुर्दशा हुँदा सरकारका मन्त्री के हेरेर बसेका छन् ?'
बिहान ८ बजे दाउन्ने बजार आइपुगेका गाडी केहिबेरअघि दुम्कीबासतर्फ लागेको बरालले जानकारी दिए । गाडी कछुवा गतिमा हिँडेको छ । राजमार्ग चिप्लो हुँदा दाउन्ने सडक खण्ड फराकिलो पार्ने जिम्मेवारी लिएको चिनियाँ ठेकेदार के हेरेर बसेको छ,' उनले प्रश्न गरे, 'देशकै लाइफलाइन सडकको यो अवस्था हुँदा सरकार बेखबर झै छ ।'
पश्चिम हिँडेका ट्रक रजहरमा रोकिए
नारायणगढ कावासोती हुँदै बुटवलतर्फ हिँडेका दर्जनौं ट्रक प्रहरीले भेडाबारी र रजहरमा रोकिदिएको छ । दाउन्नेमा गाडी नफसुन भनेर त्यहाँ गाडी रोकिदिएको प्रहरीले जनाएको छ ।
मालबहाक र लामो दुरीमा चल्ने गाडीका कारण दाउन्नेमा थप जटिलता नहोस भनेर त्यहाँ राकिदिएको प्रहरीले जनाएको छ ।
बुधबार अपरान्ह ४ बजेसम्म पूर्वी नवलपरासीमा झरी परिरहेको छ ।
