प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेले समुदायबाट नियमित अनुगमन नहुँदा र मर्मत नगर्दा विद्युतीय तारबार छलेर वन्यजन्तु बस्तीमा पस्ने गरेको बताए ।
What you should know
बर्दिया — बर्दिया निकुञ्जबाट बस्तीमा पस्ने हात्ती रोक्न पक्की छेकवार लगाइएको छ । हात्तीबाट मानवीय र अन्नबालीमा हुने क्षति कम गर्न ठाकुरबाबा नगरपालिकाले पक्की छेकवार लगाएको हो । पक्की छेकवार लगाएका ठाउँमा हात्ती लगायत वन्यजन्तुबाट कुनै मानवीय र अन्नवाली क्षति नभएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकासित निकुञ्जको ३२ किलोमिटर क्षेत्र जोडिएको छ । नगरपालिकाका अधिकांश बस्तीमा वन्यजन्तुले हानि पुर्याउँदै आएका छन् । जसले मानव र वन्यजन्तु द्वन्द्व बढ्दो छ । त्यस्तो समस्या हल गर्न नगरपालिकाले १७ किलोमिटर पक्की हात्ती छेकवार निर्माण गरेको नगर प्रमुख तिलक लम्सालले बताए ।
‘यस्तो बारले हात्ती, मृग, बँदेल लगायत वन्यजन्तुबाट बस्तीमा हानि कम भएर मानव र वन्यजन्तुबीच द्वन्द्वमा कमी आउनेछ,’ उनले भने, ‘यसका साथै अन्नबालीमा पनि बढोत्तरी भएको छ ।’
छेकवार निर्माणका लागि संघीय समपुरक, पालिकाको विशेष योजना, प्रदेश सरकारको अनुदान र आन्तरिक स्रोतबाट खर्च गरिएको उनले बताए । करिब १५ किलोमिटर बबई सिँचाइ आयोजनाबाट क्यानल तयार गर्दा अहिलेसम्म १६ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।
चालु वर्षमा ४ करोड ५० हजार खर्च गरेर ३ हजार ५ सय ३९ मिटर क्षेत्रमा छेकवार निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए । ‘निर्माण सम्पन्न भएका निकुञ्ज नजिक बस्तीमा हात्तीले घर भत्काउने दरमा कमी आएको छ,’ उनले भने, ‘साथै बालीनालीमा क्षति न्यूनीकरण भइरहेको छ ।’
वन्यजन्तुको मानव बस्तीमा प्रवेश रोक्न निकुञ्ज र संरक्षणसँग सम्बन्धित संघसंस्थाले १६ वर्षदेखि विभिन्न उपाय लगाउँदै आएका छन् । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत संस्थाको सहयोगमा अहिलेसम्म पटक-पटक गरेर झण्डै ६५ किलोमिटर क्षेत्रमा विद्युतीय तार र जाली लगाइएको छ । प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेले समुदायबाट नियमित अनुगमन नहुँदा र मर्मत नगर्दा विद्युतीय तारबार छलेर वन्यजन्तु बस्तीमा पस्ने गरेको बताए । ‘हामीले जानकारी पाउनासाथ मर्मत संभार गरिरहेका छौं,’ उनले भने, ‘पछिल्लो पटक विद्युतीय तारसँगै जाली पनि लगाएका छौं ।’
तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद मानबहादुर थारुको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खैरीचन्दनपुरबाट राजापुरसम्म विद्युतीय तारबार गरिएको थियो । करिब ६० लाख रुपैयाँ खर्च गरेर बार लगाइएको थियो । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म १५ दशमलव ८ किमि मेस फेन्सिङ गरेको वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए ।
विगत केही वर्षयता चितुवाको आक्रमणका कारण मानवीय क्षति रोक्न सामुदायिक वनले मेस वायर फेन्सिङसँगै तारजाली लगाउन थालेका छन् । खाता जैविक मार्गमा मानवीय क्षति कम गर्न वनपथलगायत बस्तीमा ४ सय बत्ती जडान गरेको खाता वन समन्वय समितिले जनाएको छ । समितिका अध्यक्ष हरि गुरुङले वन्यजन्तुको निगरानीका लागि १० वटा सीसी क्यामेरा जडान गरिएको बताए ।
बर्दिया निकुञ्जले करिब १ सय २० वटा वन हात्ती रहेको अनुमान गरेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले २५ वर्षयता नेपालमा पालिएका हात्तीले हालसम्म ७ जनाको ज्यान लिएको बताए । सोही अवधिमा जंगली हात्तीको आक्रमणमा नेपालमा ३ सय ५७ जनाको मृत्यु भएको उनले जनाए ।
