‘विषालु’ पदार्थ सेवनबाट घरमूलीको मृत्युपछि परिवार संकटमा

'विषादी' सेवनबाट तीन जना घरमूलीको मृत्यु भएपछि उनीहरूका स-साना बालबालिका र परिवार गम्भीर समस्यामा परेका छन्।

चैत्र २१, २०८२

कमल पन्थी, रामप्रसाद चौहान 

Family in crisis after head of household dies from consuming 'toxic' substance

What you should know

बर्दिया — गत चैत पहिलो साता गुलरिया–११ ओरीपुरका सुरेश र बहुरन खटिक सीमावर्ती भारतीय बजार लौकाही पुगे । उनीहरुको घरबाट लौकाही बजार दुई किलोमिटर टाढा छ । लौकाहीबाट चैत ६ को साँझ फर्किएर दाजुभाई आ–आफ्नो कोठामा गएर सुते । अचानक राति सुरेशलाई गार्‍हो महशुष भयो ।

परिवारले सोधखोज गर्दा ३६ वर्षीय सुरेशले लौकाही बजारमा ‘कोरेक्स’ भनिने बस्तु सेवन गरेको सुनाएको भतिजा सनीदेवलले बताए । ‘त्यसपछि अंकलको होश फर्किएन,’ उनले भने,‘उहाँसँगै बहुरन अंकल पनि अचेत हुनुभयो ।’ दुबैको स्वास्थ्य गम्भीर भएपछि चैत ७ को बिहान ३ बजे एम्बुलेन्स बोलाएर बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याएको उनले बताए । उपचारका क्रममा बिहान ८ बजे चिकित्सकले सुरेशलाई मृत घोषणा गरेका थिए।

कोहलपुरस्थित अस्पतालमा आइसीयू बेड खाली नभएकाले त्यहाँबाट बहुरनलाई रिफर गरेर नेपालगन्जस्थित कान्ति आरोग्य अस्पताल पुर्‍याएर भर्ना गरिएको बहुरनकी श्रीमती प्रियन्साले बताइन् । ‘तीन दिनसम्म उपचार गराउदा पनि निको भएन, चैत ९ गते मृत्यु भयो,’ उनले भनिन्,‘आफन्तसँग ऋण सापटी तीन लाख जुटाएर उपचार गरे पनि बचाउन सकिनँ ।’ 

सुरेशका ८ र २ वर्षका छोरी छन् । श्रीमती बिना ९ महिनाकी गर्भवती छन् । सुत्केरी हुने बेला विपत्ती सहनु परेको बिनाले सुनाइन् । ‘स–साना दुई छोरी छन्,’ उनले भनिन्,‘म पनि यस्तो अवस्थामा छु, कसरी बच्चा हुर्काउने हो ? तनाव भइरहेको छ ।’ बहुरनका ५ वर्षीया छोरी र ढेड वर्षका छोरा छन् । उनकी श्रीमती पनि ३ महिनाकी गर्भवती हुन् । अहिले खटिक परिवार शोक–चिन्तामा छ । ‘यकिन नभएको विष सेवनबाट बहुरनको मृत्यु भएको हो,’ कान्ति आरोग्य अस्पतालकी निर्देशक डा.रोमा बोहराले भनिन्, ‘उक्त विष कस्तो प्रकारको हो भन्ने पोष्टमार्टम रिपोर्टमा खुल्छ ।’ पोस्टमार्टम रिपोर्ट आउन केही समय लाग्ने उनले बताइन् । 

गत चैत १० मा गुलरिया–१२ उचवालालपुरका साकिर खान बिस्तरामै अचेत अवस्थामा भेटिए । मुखबाट फिज निकालिरहेका उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएको श्रीमती सबनमले बताइन् । ‘बेहोस अवस्थामा नेपालगन्ज लैजान भनियो,’ उनले भनिन्,‘सरसापट गरेर पैसा जोहो गरेर नेपालगन्ज पुर्‍याउँदा कुनै उपाय लागेन । त्यही दिन साँझ उहाँको मृत्यु भयो ।’ सबनमका अनुसार उनका पति लागुऔषध सेवनकर्ता हुन् । ‘श्रीमान्ले लागुऔषध सेवन गरिरहेको केही महिनाअघि थाहा पाएकी थिएँ,’ उनले भनिन्, ‘धेरै सम्झाउँदा पनि लत छुटाउन सकिएन ।’ उनका ३ छोरी र एक छोरा छन् ।

साकिरलाई अस्पताल ल्याउँदासम्म अवस्था नाजुक भइसकेको बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले बताए । ‘उहाँको श्वास नली नचलेकाले मुखबाट सास फेराउने कोशिष गर्‍यौं,’ उनले भने,‘गम्भीर अवस्था भएकाले आइसीयूमा राख्नै पर्ने भएकाले नेपालगन्ज रिफर गरेका थियौं ।’ बिरामीको प्रारम्भिक अवस्था हेर्दा विष सेवन गरेको लक्षणसँग मिल्दोजुल्दो देखिएको उनले बताए । ‘फरेन्सिक रिपोर्ट नआएसम्म यकिन गर्न सकिँदैन,’ उनले भने, ‘फरेन्सिक रिपोर्टका लागि प्रहरीमार्फत नमूना काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । रिपोर्ट आउन दुई साता जति समय लाग्नसक्छ ।’     

मृतक तीनै जनामा मिल्दोजुल्दो लक्षण देखिएको थियो । मुखबाट फिज निकाल्ने, जिब्रो र हातका पन्जा कालो देखिएकाले विषादी युक्त बस्तु सेवन गरेको हुनसक्ने चिकित्सकको भनाई छ । एउटै लक्षण देखिएर एक साताभित्र तीन जनाको ज्यान गएपछि परिवार मात्र होइन गाउँमै सनसनी फैलिएको थियो । दैनिक ज्याला मजदुरी गरेर परिवार लालनपालन गर्दै आएका घरमूलीको मृत्यु भएपछि परिवार संकटमा परेका छन् । बालबालिकाको पालनपोषण कसरी गर्ने चिन्तामा परिवार छन् । 

सीमावर्ती भारतीय बजार बलैगाउँ र लौकाहीमा लागुऔषध खुलेआम बिक्री वितरण हुने गरेको गुलरिया–११ का नारायण खटिकले बताए । ‘यहाँका युवाहरु लागुपदार्थ सेवनको लागि सीमावर्ती भारतीय बजारमा जाने गरेका छन्,’ उनले भने,‘त्यस्ता युवाको पहिचान गरेर उनीहरुलाई रोक्न जरुरी छ ।’ जिल्लामा लागुऔषध दुर्व्यसनी र कारोबारीको संख्या बढ्दै गएको गुलरिया–११ का शौकत अलीले बताए । पछिल्लो समय यसले परिवारमा विचलन र आर्थिक संकट निम्त्याउन थालेको उनले बताए । ‘परिवारको बिचल्ली हुने अवस्था आयो,’ उनले भने, ‘ज्याला–मजदुरी गर्नेहरु नै चपेटामा परेका छन् ।’

चालु आर्थिक वर्षको चैत दोस्रो सातासम्म लागुऔषध सम्बन्धी १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी प्रमिश बिष्टले बताए । ‘जसमा १ सय ५१ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको छ,’ उनले भने,‘लागुऔषध नियन्त्रणको लागि सीमा नाकामा प्रहरीले कडाई गरिरहेको छ । शंकास्पद व्यक्तिलाई जाँच गर्ने, लागुऔषध नियन्त्रण सम्बन्धी विद्यालय र समुदायमा जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ ।’

यसअघि सीमावर्ती सीमा बलैगाउँबाट यसको सेवन र कारोबार हुँदै आएको थियो । ६ वर्षयता लौकाही बजारमा कारोबारी र सेवनकर्ता बढेका छन् । तर पछिल्ला ५ वर्षमा जिल्लामा लागुऔषध सेवनबाट मृत्यु भएका व्यक्तिको तथ्यांक प्रहरीसित छैन । ‘चैत महिनामा तीन जना युवाको मृत्यु के कारणबाट भएको हो भन्ने पोष्टमार्टम रिर्पोट नआएसम्म पुष्टि गर्न सकिँदैन,’ डीएसपी विष्टले भने, ‘रिर्पोट आउन पनि ढिलो हुन्छ ।’ 

जिल्लामा १५ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति लागुऔषध सेवनमा फसेको प्रहरीको भनाई छ । बबई बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्रप्रसाद धिताल लागुऔषध सेवन गर्नेसितको संगत, चेतनाको कमीले युवाहरु यस्तो दलदलमा फँसिरहेको बताउँछन् । आफ्ना सन्तानको हेरचाहमा अभिभावकको ध्यान नपुगेकाले पनि कुलतमा फस्ने गरेको उनले जनाए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully