गुल्मीका आधा परीक्षा केन्द्रमा बिहीबारबाटै एसईईका उत्तरपुस्तिका परीक्षण सुरु

परीक्षा सकिएको तीन दिनभित्र परीक्षण गरेर सक्न भनिएको निर्देशनअनुसार परीक्षा सकिएकै दिनबाट परीक्षण सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले बताए ।

चैत्र १९, २०८२

सन्तोष महतारा

SEE answer sheet testing begins at half the exam centers in Gulmi from Thursday

गुल्मी — जिल्लाका आधा परीक्षा केन्द्रमा बिहीबारबाट उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि गुल्मीमा रहेका २६ परीक्षा केन्द्रमध्ये आधामा उत्तरपुस्तिका परीक्षण आजबाटै सुरु भएको हो ।

परीक्षा सकिएको तीन दिनभित्र परीक्षण गरेर सक्न भनिएको निर्देशनअनुसार परीक्षा सकिएकै दिनबाट परीक्षण सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले बताए । परीक्षा सकिएकै केहीबेरमा केही विद्यालयमा परीक्षण भएकामा यो संख्या साँझसम्म आधाभन्दा बढीमा पुगेको हो । यसपटक शिक्षा निर्देशिकामार्फत परीक्षा सम्पन्न भएकै केन्द्रमा परीक्षा सकिएको विषय तीन दिनभित्र परीक्षण गर्नुपर्ने भनिएको छ । त्यहीअनुसार काम अगाडि बढेको हो । बाँकी विद्यालयमा शुक्रबार परीक्षण हुनेछ । 

गुल्मीमा १ सय ५१ विद्यालयका ४ हजार ४ सय ५२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । यसपटक २६ परीक्षा केन्द्रमार्फत परीक्षा भइरहेको छ । शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका अनुसार नियमित साधारणतर्फ ३ हजार ३ सय ४२ र  प्राविधिकतर्फ २ सय ५८ र ग्रेड वृद्धितर्फ८ सय ५१ परीक्षार्थी छन् ।अघिल्लो वर्ष साधारणतर्फ ३ हजार ५ सय २६,  प्राविधिकतर्फ २ सय ६० र ग्रेडवृद्धितर्फ १ हजार ६५ परीक्षार्थी रहेका थिए ।

२०८० को एसईईमा १ सय ३८ विद्यालयका ४ हजार ९७ जना परीक्षार्थी थिए । नियमित साधारणतर्फ ३ हजार ७ सय ७७, प्राविधिक तर्फ २ सय ५, नियमित खुलातर्फ १३ र ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा सममन्वय इकाइसँग तथ्यांक छ ।

सन्तोष

Link copied successfully